Comments Add Comment

गाडी बिग्रिएपछि पेट्रोल पम्पमा शील

कपिलदेव खनाल

Bhairabi-Petrolpump-Seal

३ साउन, बिदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बट्टार बजारमा रहेको भैरबी आयल स्टोर्स प्रालि बन्द गराएको छ । उक्त पेट्रोल पम्पमा तेल हालेको गाडीको इन्जिन बिग्रिएपछि अनुसन्धानका लागि पेट्रोलपम्पमा शीलबन्दी गरिएको हो ।

अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्न लागि समेत स्थानीय प्रशासनले पम्पलाई निर्देशन दिएको छ । उक्त पम्पले आइतबार साँझ बिक्री गरेको पेट्रोलमा मिसावट पाइएपछि स्थानीय प्रशासन र प्रहरीले गएराती साढे आठ बजे पम्प सिल गरेको हो ।

तीन वटा कारमा आइतबार साँझ साढे पाँच बजे बट्टारको सोही पम्पबाट पेट्रोल भरिएका थिए । पेट्रोल हालेको केहि समयमै कार नचलेपछि कार धनीहरुले धकेलेर मोटर ग्यारेजसम्म पुर्‍याएका थिए । इन्धनमा मिसावट भएकाले कारको इन्जिन नै सिज भएको भन्दै स्थानीय सञ्चार माध्यमहरुबाट समाचार प्रसारण गरेका थिए । त्यसपछि उपभोक्ताहरुले राति नै अनुगमन गरी छानविन गर्न र दोषी पाइए कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी गरेका थिए ।

लिखित उजुरीको आधारमा गएराति आठ बजे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी उपरिक्षक देबबहादुर बोहोरा लगायतका सरकारी अधिकारीहरु पेट्रोल पम्पमा पुगेका थिए । सवारी साधनमा पेट्रोल भरेलगत्तै बिगि्रएको सवारी साधनका धनीहरु पुजन श्रेष्ठ र रामचन्द्र डोटेलको लिखित उजुरी पछि छानविनका लागि भैरबी आयल स्टोरलाई प्रहरीले सिल गरेको छ ।

साथै परिक्षणका लागि नमूना पेट्रोल संकलन गरेर राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत खगेन्द्र घिमिरेले भने, ‘संकलित नमूना काठमाडौं पठाउँछौं । त्यसको रिपोर्ट आएपछि के गर्ने भनेर निर्णय गर्छौं ।’

संकलित पेट्रोलको नमूना परिक्षणका लागि सोमबार काठमाडौं पठाइएको छ । संकलन गरिएको नमूना पेट्रोलमा पनि मिसावट भएको देखिएको छ । पानीसहित पेट्रोल पातलो र केही ठोस बस्तुजस्तो संकलित नमूनामा देखिन्छ ।

भैरबी आयल स्टोर्सका सञ्चालक जनक अधिकारीले भने गलत नियतले केहि मिसावट नगरेको बताए । पेट्रोल स्टोर भएको भण्डारमै पानी पसेको हुनसक्ने उनले अनुमान गरे ।

‘केही दिन अघि पेट्रोल भण्डार गरिएको स्थानको कम्पाउण्ड भासिएको थियो । जमिन भासिएको कारण पानी पसेको हुनसक्छ । अनुसन्धान पूरा भएपछि मात्रै पम्प सञ्चालनका लागि तयार छु,’ उनले भने ।

पेट्रोलमा पानी मिसिएको थाहा पाउने वित्तिकै आफैले पम्प बन्द गरेको दावी सञ्चालक अधिकारीको छ ।

पेट्रोल बिक्री गर्नका लागि रोक लगाइएको उक्त पम्पले डिजेल भने बिक्री गर्ने जानकारी प्राप्त भएको छ । पेट्रोल र डिजेलको भण्डारण गर्ने स्थान अलग-अलग रहेकाले डिजेलमा कुनै मिसावट नभएको पम्प सञ्चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment