Comments Add Comment

‘योग गरौं तर डाक्टरको औषधि नफ्याकौं’

योगगुरु वाग्ले भन्छन्ः युट्यूब हेरेको भरमा योग अभ्यास नगर्नु

हाडीगाउँका योगगुरु सुरेन्द्रप्रसाद वाग्ले उमेरले ६८ वर्षका भए । तर उनको जोश-जाँगर तथा शरीरिक स्फूर्ति भर्खरको ठिटोको जस्तो छ ।
हरेक दिन बिहान-बेलुकी काठमाडौका विभिन्न ठाउँमा गई नेपाली तथा विदेशीलाई योग सिकाउनु उनको नियमित कर्म हो । उनी ८४ प्रकारका योगासनमध्ये ७६ वटा आसनमा पारंगत छन् ।

त्यसो त ४० वर्षको उमेरसम्म वाग्लेलाई योगाबारे केही थाहा पत्तो थिएन । एक दिन मनिङ्ग वाक जाने क्रममा साईबाबा केन्द्रले निःशुल्क योग सिकाउन लागेको खबर उनले सुने । त्यसपछि कौतुहलतावस श्रीमतीसहित एक महिनाको तालिम लिन पुगे । तालिमले उनको कौतुहलता मात्र शान्त भएन, शरीरमा फरकपना महसुस हुन थाल्यो ।

त्यसपछि नियमित तीन महिनासम्म योगा गर्दा पहिले २२ वटा रोटी खाने उनी १० वटा रोटीमा झरे । तर, उनको न त तौल घट्यो, न स्टामिनामा नै कुनै कमी आयो । सुरुमा त उनी आफैं अचम्ममा परे । तर, योगाबारे क्रमशः बुझ्दै जाँदा उनले खाना कम गर्दैमा तौल घट्ने हैन रहेछ भन्ने थाहा पाए । अनि योगामा अझै गहिरिन थाले ।

त्यही क्रममा वाग्लेले काठमाडौस्थित आरोग्य केन्द्रबाट योगामा दुई वर्षको डिप्लोमा गरे । नवजीवन योगा समुहबाट तीन महिनाको शिक्षक ट्रेनिङ्ग पनि लिए । त्यसपछि सुरु गरे योग सिकाउन । वाग्लेले योगा सिकाउन थालेको २८ वर्ष भैसक्यो । यस दौरान कतिलाई योगा सिकाए भन्ने उनैलाई थाहा छैन ।

वाग्ले हाल प्रिनेटल योगा (गर्भावस्थामा गरिने), पावर योगा, हट योगा लगायतका विभिन्न वर्गका योगा सिकाउँछन् । योगशिक्षाबारे आफ्नो अनुभव उनले अनलाइनखबरलाई यसरी सुनाए:

हिमालय पर्वतबाटै सुरु भएको योगाभ्यासलाई पछिल्लो समय पाश्चात्य संस्कृतिले बुझेर अनुशरण गर्‍यो । तर नेपालमा यही कुरा बुझाउन धेरै समय लाग्यो ।

शुरु-शुरुमा म घर-घरमा गएर मानिसहरुलाई योगाको विषयमा ज्ञान दिने प्रयास गथेर्ँ । तर, धेरैले चासो नै नदिएको देख्दा विरक्त बन्थेँ । केही वर्ष अगाडि भारतीय बाबा रामदेवले नेपालमा योगशिक्षा दिन आएपछि नेपालीहरु यसतर्फ आकषिर्त हुन थाले ।

रामदेवको योगा अभियानपश्चात्त टोल टोलमा योगशिक्षा सुरु भएको छ । यसमा केही कमि-कमजोरी त पक्कै छन् । एक हप्ता, पन्ध्र दिन वा एक महिना शिक्षक प्रशिक्षण लिएको भरमा अरु मानिसलाई योग सिकाउन सम्भव हुँदैन । यति तालिम पर्याप्त पनि छैन । फेरि सबै उमेर समुहका मानिसलाई एउटै प्रकारको योगा सम्भव पनि हुदैन । त्यसको लागि सिकाउनेले बुझेर मात्र योगा सिकाउनु पर्छ ।

योगबारेका भ्रम र यथार्थ

धेरैजसो मानिस योगा सिक्न थालेको २/४ दिनमै आफ्नो सबै रोग निको होस् भन्ने चाहन्छन् । जुन असम्भव छ । योगा गर्दैमा डायविटिज, उच्च रक्तचाप, मधुमेह लगायतका रोग तुरुन्तै निको हुन्छ भन्नु गलत हो । योगले रोगलाई बढ्न नदिएर नियन्त्रणमा राख्ने काम मात्र गर्छ । कसै-कसैलाई विस्तारै निको पनि हुन्छ । तर त्यो रोगको प्रकृतिमा भर पर्छ ।

कति मानिस योगा गरेपछि तुरुन्तै आफुले चाहेजति तौल घट्छ भन्ने सोच्छन् । तर योगाले तौल घटाउने हैन, त्यसलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

यदि तपाई कम तौलको हुनुहुन्छ भने तपाईको उमेर र उचाइको आधारमा योगले तपाईको तौललाई बढाएर सन्तुलनमा राख्छ । त्यसैगरी बढी तौलको हुनुहुन्छ भने त्यसलाई कम गरी त्यसलाई सन्तुलित बनाउँछ । त्यसैले खाना कम खाएर तौल घटाउनु भन्दा योगा गर्नु उचित हुन्छ । खाना कम गर्दा त्यसले शरीरमा नकारात्मक असर पार्न सक्छ ।

योगाले मानिसको सोच्ने शक्तिको पनि विकास गर्छ । यसले स्टामिना तथा पाचन प्रकृयालाई असर गर्दैन ।

जथाभावी गरे स्वास्थ्यमा उल्टो असर

yoga

योग गर्ने भन्दैमा जे पायो त्यही तरीका अपनाउनुहुँदैन । त्यसले स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । योगका विभिन्न नियम हुन्छन् । विभिन्न आसन हुन्छन् । हरेक आसन निश्चित उमेरका मानिसले मात्र गर्नु उपयुक्त हुन्छ ।

विदेशमा एउटा योग कक्षामा १५ जना भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । त्यसमा पनि प्रत्येकलाई बेग्लाबेग्लै ध्यान दिनु पर्छ । तर नेपालमा यसबारे कुनै नियम छैन । एउटा कक्षामा सयौ मानिस राख्ने चलन छ । सबैलाई एउटै प्रकारको योगा सिकाउने चलन छ । त्यसले तपाईर्को शरीरमा असर गर्न सक्छ । जस्तो, दमको रोगीले योगा गर्नै हुदैन । त्यस्तै उच्च रक्तचाप तथा मुटुका विरामीलाई कपालभाती गर्न बर्जित छ ।

गर्भवती महिलाले उफ्रिएर, शरीर मर्काएर योग गर्नु हुँदैन । उनीहरुले जुन पायो त्यही योगा गर्दा गर्भ खेर जानेसम्मको खतरा रहन्छ ।

औषधि खान छाड्नुहुन्न

कतिपय मानिस योग गरेको ३/४ दिनमै रोग निको भएन भन्दै आउँछन् । यतिसम्मकी व्लड प्रेसर भएको मानिस पनि मकहाँ आएर योग गरेको ४/५ दिन भैसक्यो, अझै घटेन भन्छन् ।

अझ कति जना त अब के औषधी के खाने भनेर पनि सोध्छन् । म योगद्धारा प्राकृतिक उपचार गर्ने मान्छे हुँ । डाक्टर होइन । म आफै पनि मधुमेहको विरामी छु । हरेक दिन योग गरे पनि औषधी खान भने छुटाउँदिन ।

मैले यसो भन्दा योग गर्ने मान्छेले पनि किन औषधी खाने भन्ने प्रश्न उब्जिन सक्छ । त्यसो त मधुमेह भएको थाहा पाएपछि मैले सुरुमा डाक्टरसित बहस नगरेको पनि हैन ।

अझ त्यसबेला त डाक्टरले मलाई यो रोग नै हैन पनि भन्नु भएको थियो । त्यसपछि मैले यो रोगै हैन भने औषधी किन खाने त भनेर धेरैपटक प्रश्न पनि गरेँ । यसबारे हाम्रो विवादै पर्‍यो । दुई घण्टाको चर्काचर्कीपश्चात अन्ततः डाक्टरले मलाई सम्झाउनु भयो ।

मधुमेह शरीरमा ग्लुकोजको तलमाथिले लाग्ने रोग हो र यस रोग लागेका व्यक्तिले क्रमिक रुपमा औषधिको सेवन नगरे आँखा, किड्नी, मुटु तथा दिमागमा असर पुर्‍याउँछ भनेर डाक्टरले भन्नुभयो । जसले गर्दा मैले औषधिको नियमित सेवन गर्न थाले । म योगा गर्नेलाई औषधि छोड्ने सल्लाह कहिल्यै पनि दिन्नँ ।

म देश-विदेश घुमिरहन्छु । सबै ठाउँमा घरमा जस्तो खाना हुँदैन । यसबीचमा मलाई कथंकदाचित केही भइहाले कसले जिम्मा लिने ? त्यो हुन नदिन पनि यो औषधी लिने गर्छु र योग गरे पनि औषधी नछोड्न सल्लाह दिन्छु ।

नर्भिक अस्पतालका एक जना डाक्टरका परिवारले मसित झण्डै पाँच वर्ष योगा सिक्नु भयो । उहाँ एलोप्याथीको डाक्टर, म प्राकृतिक उपचारको । हामीबीच विभिन्न रोगबारे छलफल पनि भइरहन्थ्यो । उहाँले योगकै आधारमा विरामीलाई औषधीको मात्रा घटाउने-बढाउने गरेको पनि बताउनुहुन्थ्यो ।

टीभी हेरेको भरमा योगा गर्नुहुन्न

रोग अनेक उपचार एक भनेजस्तै योगले सबै रोगमा काम गर्छ । पहिले पहिलेका ऋषि मुुनीहरुले योगमार्फत नै रोग निको पार्थे । त्यसैले पनि योगा हाम्रो शरीरका लागि फाइदाजनक छ । तर, योगा गर्नुपूर्व आफ्नो शरीरको बारेमा जान्न पनि आवश्यक छ ।

आफ्नो शरीरमा के समस्या छ र कस्तो योग ठीक हुन्छ भनेर जानेपछि मात्र योग गर्नुपर्छ । त्यसैगरी योग सुरु गर्नुपूर्व आफ्ना गुरुलाई आफ्नो समस्याबारे जानकारी गराउनुपर्छ । नत्र यसले शरीरमा नकारात्मक असर निम्त्याउन सक्छ ।

त्यसैगरी टीभीमा अथवा युट्युबमा हेरेको भरमा योगा गर्नु पनि शरीरको हानी हानीकारक हुन सक्छ । प्रायः टीभी-युट्यूवमा देखाउने योगमा त्यसबारे विस्तृत जानकारी दिइएको हुदैन । तपाईंको शरीरका लागि त्यो कति लाभदायी छ भन्ने थाहा हुँदैन । बिना जानकारी मनलागी तरिकाले योग गर्दा त्यसबाट उचित नतिजा प्राप्त नहुने मात्र होइन, शरीरलाई हानी गर्न पनि सक्छ ।

योगाले शरीरलाई मनसित जोड्छ

योगा शरीरलाई मनसित जोड्ने बलियो माध्यम हो । यो एक प्रकारको प्राकृतिक उपचार पद्दति हो । त्यसैले शरीरलाई कसरी हिफाजत गर्ने भनेर नै योग अभ्यास सुुरु भएको हुनुपर्छ ।

यस्ता योग पहिले पहिले ऋषिमुनिले गर्ने गर्थे । जुन पछिल्ला समय लोप भएको थियो । यो विभिन्न नामबाट चिनिए पनि पतञ्जली ऋषिको योगमा आधारित छ ।

यसमा सामान्यतया आठ आशन हुन्छन् । ती आशन भनेका याम, नियम, आशान, प्राणायाम, त्याग, धारणा, ध्यान, समाधि हुन् । याम र नियम भनेको सामाजिक अनुशासनसित सम्बन्धित हुन्छ । त्यसैगरी अन्य शरीरका विभिन्न अंगलाई नियन्त्रित गर्ने काम गर्छ । यसले धैर्यधारणा गर्न, मनमा एकाग्रता कायम गरी विभिन्न समस्याबाट मुक्ति दिलाउने काम गर्छ ।

ध्यान दिनुपर्ने तीन कुरा

योगका लागि विश्वास, र्धैर्य र अभ्यास गरी तीन कुरा आवश्यक पर्छ । योगालाई लामो समय निरन्तरता दिन सकेमात्र यसलेे स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । त्यसैले मैले योगा सिकाउने बेलामा पनि सँधै भन्ने गर्छु कि यसलाई निरन्तरता दिने हो भने मात्र सिकाउँछु ।

आजसम्म जतिलाई योग सिकाएँ, त्यसले उनीहरुको जीवनमा केही न केही परिवर्तन अवश्य ल्याएको छ । मैले यस्ता व्यक्तिलाई पनि योग सिकाएँ जसमा सकारात्मक सोच भन्ने नै थिएन । तर अहिले उनीहरु यति सबै कुरा सकारात्मक सोच्न थालेका छन् । त्यो देख्दा निकै खुशी लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment