News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ बुढ्यौलीका लागि योग भन्ने नाराका साथ मनाइँदैछ ।
- विश्व योग अर्थतन्त्रको आकार सन् २०२६ सम्म करिब १३८.६६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
‘हामी बूढो भएर योग गर्न छोड्ने होइनौँ, बरु योग गर्न छोडेका कारण हामी छिटो बूढो बन्दै गइरहेका छौँ । जीवनको उत्तरार्धलाई पराधीनता होइन, परिपक्वता र स्वतन्त्रताको उत्सव बनाउने एक मात्र विज्ञान योग हो ।’
हरेक वर्ष जुन २१ मा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। सन् २०१४ मा संयुक्त राष्ट्रसंघद्वारा १७५ राष्ट्रहरूको अभूतपूर्व समर्थनसहित पारित प्रस्तावबाट सुरु भएको यो दिवस आज विश्वव्यापी उत्सव् को रूपमा विकसित भएको छ । यो दिन हिमालयको उच्च भूभागदेखि विश्वका विभिन्न शहरहरूमा सामूहिक योग अभ्यास गरिन्छ । यो केवल उत्सव मात्र नभई व्यस्त र तनावपूर्ण आधुनिक जीवनमा सचेत स्वास्थ्य अभ्यासलाई समेट्ने वार्षिक स्मरण पनि हो ।
सन् २०२६ मा यसको १२औँ संस्करण ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने अत्यन्त सान्दर्भिक र आवश्यक विषयवस्तुसहित मनाइँदैछ । विश्वभर मानिसहरूको औसत आयु बढ्दै जाँदा समाजले अभूतपूर्व जनसांख्यिकीय परिवर्तनको सामना गरिरहेको छ । यस वर्षको विषयवस्तुले योगलाई केवल युवाहरूका लागि फिटनेस अभ्यासको रूपमा नभई, दीर्घकालसम्म शारीरिक स्वतन्त्रता, मानसिक स्पष्टता तथा आध्यात्मिक स्फूर्ति कायम राख्ने समग्र जीवनशैलीको रूपमा प्रस्तुत गर्दछ ।
योगको वास्तविक शक्ति बुझ्न हामीले यसलाई केवल आधुनिक फिटनेस अभ्यासको रूपमा हेर्नु हुँदैन । ‘योग’ शब्द संस्कृतको ‘युज्’ धातुबाट बनेको हो, जसको अर्थ ‘जोड्नु’ वा ‘एकीकरण गर्नु’ हो । यसले व्यक्तिगत चेतना र सार्वभौमिक चेतनाबीचको एकतालाई जनाउँछ।
महर्षि पतञ्जलिले आफ्नो योगसूत्र मा योगलाई यसरी परिभाषित गरेका छन् : ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात्, चित्तका वृत्तिहरूको निरोध नै योग हो।
योग अष्टाङ्ग मार्गमा आधारित छ, जहाँ आसन र प्राणायाम शरीरलाई स्थिर बनाउने प्रारम्भिक साधन हुन् । अन्ततः ध्यान र समाधिमार्फत आत्मसाक्षात्कार वा मोक्षको प्राप्त गर्ने लक्ष्य राखिन्छ ।
योग अर्थतन्त्रको तीव्र विस्तार
योग आध्यात्मिक अभ्यासबाट विश्वव्यापी वेलनेस उद्योगको मुख्य आधारमा रूपान्तरित भएको छ । सन् २०२६ सम्म विश्व योग अर्थतन्त्रको मूल्य करिब १३८.६६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । वार्षिक ९.९ प्रतिशतको वृद्धिदरका साथ यो बजार सन् २०३३ सम्म २६९.१ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ । अनलाइन योग सेवाहरू मात्र वार्षिक १० प्रतिशतको दरले विस्तार भइरहेका छन्।
योग अर्थतन्त्र अब स्थानीय स्टुडियो सदस्यतामा सीमित छैन। यसको विस्तार निम्न क्षेत्रमा भएको छः
–योग सामग्री (म्याट, विशेष पोशाक आदि)
–डिजिटल योग प्लेटफर्म
–कर्पोरेट वेलनेस कार्यक्रम
–आध्यात्मिक पर्यटन तथा योग रिट्रिट
नेपालमा योगको बदलिँदो स्वरूप
पहिले नेपालमा योगलाई मुख्यतः साधु, सन्यासी वा वृद्धवृद्धाहरूको अभ्यासको रूपमा हेरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन आएको छ । शहरी तनाव, कर्पोरेट जीवनशैली र कोभिडपछि बढेको स्वास्थ्य चेतनाका कारण नेपालका युवायुवती तथा शहरी पेशाकर्मीहरू योगतर्फ आकर्षित भएका छन् ।
काठमाडौं, पोखरा र ललितपुरका योग केन्द्रहरू अहिले स्वास्थ्य, सामाजिक भेटघाट र आत्मविकासका केन्द्रका रूपमा विकसित भएका छन् । नेपाल सरकारले पनि योग तथा वैकल्पिक स्वास्थ्य अभ्यासलाई विद्यालय पाठ्यक्रममा समावेश गरेर प्राचीन ज्ञान र आधुनिक शिक्षाबीच पुल निर्माण गर्ने प्रयास गरेको छ ।
स्वास्थ्य क्षेत्रमा योगको योगदान
योगले उपचारभन्दा रोकथाममा आधारित स्वास्थ्य प्रणाली निर्माण गर्न सहयोग पुर्याउन सक्छ ।
नियमित योगले के-के गर्छ ?
–रक्तचाप नियन्त्रण गर्छ
–मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ
–श्वासप्रश्वास क्षमता बढाउँछ
–औषधिमाथिको निर्भरता कम गर्न मद्दत गर्छ
नसर्ने रोगहरू र मानसिक स्वास्थ्यको विश्वव्यापी अवस्था
आधुनिक जीवनशैलीले दीर्घकालीन रोगहरूको मौन महामारी निम्त्याएको छ। यस्ता समस्याको समाधानका लागि योग एक कम लागत र वैज्ञानिक रूपमा प्रमाणित उपायका रूपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब १ अर्ब मानिस कुनै न कुनै मानसिक समस्यासँग संघर्ष गरिरहेका छन् ।
दीर्घकालीन तनावले शरीरमा कार्टिसोलको मात्रा बढाउँछ र ‘फाइट–अर–फ्लाइट’ प्रतिक्रिया सक्रिय बनाउँछ । नसर्ने रोगहरू जस्तैः मुटुरोग, मधुमेह, क्यान्सर, थाइराइड, दीर्घ श्वासप्रश्वास रोग विश्वव्यापी मृत्युका प्रमुख कारण बनेका छन् । नसर्ने रोगका कारण वार्षिक करिब ४ करोड बढी मानिसको मृत्यु हुन्छ । यो विश्वमा हुने कुल मृत्युको लगभग ७४ प्रतिशत हो ।
नेपालमा ६६ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । शहरी क्षेत्रमा मधुमेहको व्यापकता १४.२ प्रतिशत पुगेको छ ।
नसर्ने रोग र मानसिक स्वास्थ्यमा योगको प्रभाव
योगले र सचेत श्वासप्रश्वासले भेगस नर्भलाई सक्रिय गरी शरीरलाई शान्त अवस्थामा ल्याउँछ।
–तनाव कम गर्छ
–चिन्ता घटाउँछ
–वृद्धावस्थाको लक्षण कम गर्छ
–निद्राको गुणस्तर सुधार गर्छ
स्वस्थ बुढ्यौलीको वैज्ञानिक आधार
आधुनिक चिकित्साशास्त्रले मानिसलाई लामो समयसम्म बाँच्न मद्दत गरेको छ, तर त्यसका अतिरिक्त वर्षहरू स्वस्थ र सक्रिय रूपमा बिताउने ग्यारेन्टी भने दिएको छैन । ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने अवधारणाले यही अन्तरलाई सम्बोधन गर्दछ । यसको लक्ष्य जीवनका वर्षहरू मात्र थप्नु नभई ती वर्षहरूलाई स्वस्थ, सक्रिय र गुणस्तरीय बनाउनु हो।
बुढ्यौलीका प्रमुख चुनौतीहरू
१.मांसपेशी क्षय : उमेर बढ्दै जाँदा शरीरका मांसपेशीहरू कमजोर हुन थाल्छन् । यसले सन्तुलन गुम्ने, हिँडडुलमा कठिनाइ हुने तथा लड्ने जोखिम बढाउँछ।
२.मस्तिष्कीय क्षय : बुढ्यौलीसँगै स्मरणशक्ति कमजोर हुने, निर्णय क्षमता घट्ने तथा डिमेन्सिया जस्ता समस्याहरू बढ्न सक्छन् ।
३.कोशिकीय बुढ्यौली : दीर्घकालीन तनाव, सूजन तथा अक्सिडेटिभ क्षतिले कोशिकाहरू छिटो बूढो बनाउँछ।
योगको भूमिका
नियमित आसन ध्यान, प्राणायाम तथा माइन्डफुलनेस अभ्यासले निम्न लाभ मिल्छ
-मांसपेशी बलियो बनाउँछ
-सन्तुलन सुधार गर्छ
-जोर्नीहरू लचिलो राख्छ
-हड्डीको घनत्व कायम राख्न मद्दत गर्छ
-स्मरणशक्ति सुधार गर्छ
-मानसिक एकाग्रता बढाउँछ
-भावनात्मक नियन्त्रण सुदृढ बनाउँछ
-मस्तिष्कको कार्यक्षमता जोगाउन मद्दत गर्छ
-कोर्टिसोल (तनाव हर्मोन) घटाउँछ
-अक्सिडेटिभ तनाव कम गर्छ
-सुजन नियन्त्रण गर्छ
-जैविक बुढ्यौलीको गति सुस्त बनाउन मद्दत गर्छ
-शरीरको स्थिरता बढाउँछ
-स्वतन्त्र रूपमा हिँडडुल गर्न मद्दत गर्छ
रूपान्तरणको सर्वोत्तम साधन
योग केवल शरीर तन्काउने अभ्यास वा बहु–अर्ब डलरको उद्योग मात्र होइन । यसको मूलमा आत्म–अनुशासन, आत्म–चेतना र आत्म–रूपान्तरणको गहिरो प्रणाली रहेको छ । मानसिक थकान, तनाव र जीवनशैलीजन्य रोगहरूले भरिएको आजको युगमा योगले शारीरिक, मानसिक र भावनात्मक सन्तुलनको सहज मार्ग प्रदान गर्दछ ।
यदि हामी योगलाई वर्षमा एक दिन मनाइने कार्यक्रमको रूपमा नभई दैनिक जीवनशैलीको रूपमा अपनाउँछौं भने व्यक्ति, समाज र राष्ट्र सबैले स्वस्थ, सचेत र समृद्ध भविष्य निर्माण गर्न सक्छन् ।
आज योग अभ्यास सुरु गर्नु भनेको केवल वर्तमान मानसिक शान्तिमा लगानी गर्नु होइन, भविष्यको स्वतन्त्रता, सक्रियता र जीवनशक्तिलाई सुरक्षित गर्नु पनि हो । योगले हाम्रो बुढ्यौलीलाई निर्भरता होइन, बरू ज्ञान, गतिशीलता, आत्मविश्वास र जीवन्तताले भरिएको सुनौलो यात्रामा रूपान्तरण गर्न सक्छ ।
प्रतिक्रिया 4