मोटोपन घटाउने ओजेम्पिक र जेपबाउन्ड जस्ता औषधिहरूले हालैका वर्षहरूमा उपचार पद्धतिमा ठुलो परिवर्तन ल्याएका छन्। तर, अमेरिकन ग्यास्ट्रोएन्टेरोलोजिकल एसोसिएसनका विज्ञहरूका अनुसार यी औषधिहरू मोटोपन व्यवस्थापनको पूर्ण समाधान भने होइनन्।
वैज्ञानिक जर्नल ‘ग्यास्ट्रोएन्टेरोलोजी’ मा प्रकाशित नयाँ प्रतिवेदन अनुसार मोटोपनको उपचारलाई अझ प्रभावकारी बनाउन अब औषधि, प्रविधि र शल्यक्रियालाई एकसाथ मिलाएर लैजानुपर्ने आवश्यकता देखिएको छ।
पछिल्लो समय सेमाग्लुटाइड र टिरजेपाटाइड समूहका ‘जीएलपी-१’ औषधिहरूको लोकप्रियता विश्वभर तीव्र रूपमा बढेको छ। तर, विशेषज्ञहरूले मोटोपनलाई केवल एउटा समस्याका रूपमा मात्र नहेरी यसलाई शरीरका धेरै प्रणालीहरूलाई असर गर्ने एउटा दीर्घकालीन रोग (क्रोनिक डीजीज ) का रूपमा बुझ्नुपर्ने बताएका छन्।
यसअघि मोटोपन मापन गर्न ‘बीएमआई’ (बडी मास इन्डेक्स) लाई मात्र आधार मानिने गरिएकामा अब व्यक्तिको समग्र स्वास्थ्य जोखिमलाई हेरेर उपचार गर्नुपर्ने अवधारणा अघि सारिएको छ।
नयाँ अध्ययनले मोटोपन नियन्त्रणका लागि औषधि मात्रै खाइरहनुको सट्टा ‘एन्डोस्कोपिक स्लिभ ग्यास्ट्रोप्लास्टी’ जस्ता आधुनिक प्रविधि र अझ बढी वजन भएकाहरूका लागि ‘बेरियाट्रिक सर्जरी’ लाई परिपूरक माध्यमका रूपमा प्रयोग गर्दा लामो समयसम्म राम्रो नतिजा आउने देखाएको छ।
यसका साथै चिकित्सा विज्ञानमा भइरहेको ‘प्रिसिजन मेडिसिन’ र आनुवंशिकीको विकासले कुन बिरामीका लागि कुन उपचार बढी सुरक्षित र प्रभावकारी हुन्छ भन्ने कुरा पहिले नै पत्ता लगाउन मद्दत गर्नेछ।
विज्ञहरूका अनुसार जीएलपी-१ औषधिहरूसँगै एन्डोस्कोपिक वा बेरियाट्रिक प्रक्रियाहरूलाई सँगसँगै लैजाँदा एक्लाएक्लै उपचार गर्दाभन्दा निकै गुणा बढी र दिगो रूपमा तौल घटाउन सकिन्छ।
मोटोपनका कारण कलेजो खराब हुने, अमिलो पानी आउने र पित्तथैलीको समस्या जस्ता स्वास्थ्य जटिलताहरू निम्तिने भएकाले यसको सही व्यवस्थापनमा ग्यास्ट्रोएन्टेरोलोजिस्ट र हेपाटोलोजी विशेषज्ञहरूको भूमिका अझ महत्त्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया 4