News Summary
Generated by OK AI. Editorially reviewed.- हरेक वर्ष जुन २१ मा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, तर योग केवल शारीरिक व्यायाम नभई मन शान्त पार्ने र चेतना जोड्ने विज्ञान हो।
- मानव स्वभावअनुसार आध्यात्मिक यात्राका लागि कर्म, भक्ति, ज्ञान र राज योग गरी चार प्रमुख मार्गको विकास गरिएको छ।
- योग संसारबाट भाग्ने मार्ग नभएर घर, परिवार र समाजको जिम्मेवारीका बीच आन्तरिक स्वतन्त्रता र शान्ति प्राप्त गर्ने व्यावहारिक कला हो।
हरेक वर्ष जुन २१ मा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। पार्कहरूमा मानिसहरू योगासन गर्छन्, विद्यालयहरूमा योग कार्यक्रमहरू आयोजना हुन्छन्, र सञ्चारमाध्यमहरूमा योगका फाइदाबारे चर्चा हुन्छ। तर एउटा महत्त्वपूर्ण प्रश्न भने प्रायः छुट्ने गर्छ, आखिर योग भनेको के हो?
आज धेरै मानिसहरू योगलाई केवल शारीरिक आसन वा व्यायामको रूपमा बुझ्छन्। निश्चय नै आसन योगको एउटा महत्त्वपूर्ण पक्ष हो, तर योगको वास्तविक अर्थ त्योभन्दा धेरै गहिरो छ। संस्कृत शब्द “योग” को अर्थ हो, जोडिनु वा एकत्व। योग भनेको व्यक्तिको सीमित चेतनालाई आफ्नो उच्चतर आत्मा र अन्ततः परम चेतनासँग जोड्ने प्रक्रिया हो।
महर्षि पतञ्जलिले आफ्नो प्रसिद्ध योगसूत्रको दोस्रो सूत्रमा योगलाई यसरी परिभाषित गर्नुभएको छ –
“योगश्चित्तवृत्तिनिरोधः”
अर्थात्, मनका चञ्चल तरङ्गहरूलाई शान्त गर्नु नै योग हो। हामीमध्ये धेरैको मन निरन्तर विचार, चिन्ता, इच्छा, डर, सम्झना र योजनाहरूले भरिएको हुन्छ। यी मानसिक तरङ्गहरूले गर्दा हामी बाहिरी संसारमा त व्यस्त रहन्छौँ, तर आफ्नै भित्री शान्तिबाट टाढा हुन्छौँ। पतञ्जलिका अनुसार जब यी चित्तवृत्तिहरू शान्त हुन थाल्छन्, तब मानिसले आफ्नो वास्तविक स्वरूपको अनुभव गर्न सक्छ।
स्वामी क्रियानन्दले राज योगको कला र विज्ञानमा योगलाई “चेतनाको विज्ञान”का रूपमा प्रस्तुत गर्नुभएको छ। परमहंस योगानन्दले पनि योगलाई कुनै धर्मविशेषको अभ्यास नभई मानव चेतनालाई उन्नत बनाउने सार्वभौमिक विधिका रूपमा बुझाउनुभएको छ। उहाँका अनुसार योगको उद्देश्य मानिसलाई बाह्य परिस्थितिको दासत्वबाट मुक्त गराई आफ्नै अन्तरमनमा रहेको आनन्द, शान्ति र दिव्य उपस्थितिको अनुभव गराउनु हो।
सायद यही कारणले आज योग विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ। मानिसहरू केवल शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक सन्तुलन, भावनात्मक स्थिरता र आन्तरिक शान्तिका लागि पनि योगतर्फ आकर्षित भइरहेका छन्। तनाव, चिन्ता, एक्लोपन र असन्तुष्टि बढिरहेको वर्तमान समयमा योग पहिलेभन्दा अझ सान्दर्भिक देखिन्छ।अब हामी योगका चार मार्ग बुझ्न एउटा सरल उदाहरण हेरौँ।
काठमाडौंका एक साधारण परिवारकी आमा रमिता देवी प्रत्येक बिहान ४ बजे उठेर घरका सबैका लागि खाना बनाउँछिन्। बजारमा काम गर्ने उनका श्रीमान् प्रेमबहादुर दिनभर व्यस्त रहन्छन् र राति घर फर्केपछि मन्दिरमा गएर भजन गाउँछन्। उनका छोरा राज विश्वविद्यालयमा दर्शनशास्त्र पढ्छन् र सधैँ प्रश्न गर्छन्- “जीवनको उद्देश्य के हो?” उनकी छोरी अञ्जु प्रत्येक दिन बिहान ध्यान गर्छिन्।
यी चारजना एउटै परिवारमा बस्छन्, तर उनीहरूको जीवन जिउने तरिका फरक छ। तर के तपाईंलाई थाहा छ- सनातन आध्यात्मिक परम्पराअनुसार यी चारैजना एउटै लक्ष्यतर्फ लम्किरहेका छन्? यही कुरालाई परमहंस योगानन्दले एक योगीको आत्मकथामा जीवन्त रूपमा देखाउनुभएको छ, र स्वामी क्रियानन्दले राज योगको कला र विज्ञानमा व्यवस्थित रूपमा व्याख्या गर्नुभएको छ।
आध्यात्मिक ऋषिहरूले हजारौँ वर्षअघि एउटा गहिरो सत्य बुझेका थिए, सबै मानिसको स्वभाव एउटै हुँदैन। कसैलाई सेवा गर्न मन पर्छ, कसैलाई प्रेम र भक्ति, कसैलाई सत्यको खोजी, र कसैलाई ध्यानको अभ्यास। त्यसैले उनीहरूले सबैलाई एउटै बाटोमा हिँड्न बाध्य पारेनन्। बरु मानव स्वभावअनुसार चार प्रमुख मार्गहरूको विकास गरे: कर्मयोग, भक्ति योग, ज्ञान योग र राज योग। यी चार मार्ग फरक देखिए पनि अन्ततः सबैको लक्ष्य एउटै हो, आत्म-साक्षात्कार र परम आनन्दको अनुभव।
आजको समाजमा हामीले प्रविधि, सूचना र भौतिक सुविधामा ठूलो प्रगति गरेका छौँ। तर तनाव, चिन्ता, एक्लोपन र असन्तुष्टि पनि उत्तिकै बढिरहेका छन्। यस्तो समयमा योगका यी चार मार्गहरू केवल आध्यात्मिक अभ्यास मात्र होइनन्, सन्तुलित जीवन जिउने व्यावहारिक मार्गदर्शनका रूपमा पनि हेर्न सकिन्छ।
कर्मयोग – रमिता देवीको मार्ग
रमिता देवी बिहान उठेर खाना बनाउँदा यो सोच्दिनन् “मैले यति गरेँ, अब घरले मलाई धन्यवाद दिनुपर्छ।” उनी खुसीसाथ गर्छिन्, बिना शर्त। यही कर्मयोग हो।
स्वामी क्रियानन्दले राज योगको कला र विज्ञानमा भन्नुभएको छ कि कर्मयोगको मूल तत्व यो होइन कि तपाईं के काम गर्नुहुन्छ, बरु यो हो कि तपाईं कुन चेतनाले गर्नुहुन्छ। परमहंस योगानन्दले पनि सही भावनाका साथ गरिएको काम स्वयं ध्यानको एउटा रूप बन्न सक्छ भन्ने कुरा जोड दिनुभएको थियो।
हाम्रो दैनिक जीवनमा कर्मयोगको सरल प्रयोग यस्तो हुन सक्छ: अफिसमा काम गर्दा “यो मेरो पद बचाउनका लागि” भन्नेसट्टा “यो सेवा हो” भन्ने सोच्नुस्। बाटोमा फोहोर देखेर उठाउनुस्, कसैले देखोस् वा नदेखोस्। यी साना क्षणहरूमा अहंकार घट्छ र चेतना विस्तार हुन थाल्छ।
“निःस्वार्थ सेवा अहंकारलाई कमजोर बनाउने सबैभन्दा प्रभावकारी साधन हो।” – स्वामी क्रियानन्द
कर्मयोगबारे धेरै भ्रमहरू पाइन्छन्। कतिपय मानिसहरू कर्मयोग भनेको दिनरात काम गरिरहनु, सधैँ व्यस्त रहनु वा आफूलाई थकाइमारेर सेवा गर्नु हो भन्ने ठान्छन्। तर कर्मयोगको केन्द्रबिन्दु कामको परिमाण होइन, काम गर्दा मनको अवस्था हो।
हामीले समाजमा यस्ता धेरै उदाहरणहरू देख्छौँ। मानिसहरूले मन्दिर बनाउँछन्, धर्मशाला बनाउँछन्, ठूलो दान गर्छन्, कार्यक्रमहरू आयोजना गर्छन्। यी सबै काम बाहिरबाट हेर्दा पुण्यपूर्ण देखिन्छन्। तर योगको दृष्टिले एउटा प्रश्न अझ गहिरो छ, यी सबै काम किन गरियो?
कहिलेकाहीँ मानिसले सेवा भन्दा पनि आफ्नो नाम, प्रतिष्ठा वा पहिचानका लागि काम गर्छ। एउटा धार्मिक कार्यक्रममा मानिसहरूले माइकमा ठूलो स्वरमा लाखौँ रुपैयाँ दान गर्ने घोषणा गरे, कसैले आफ्नो नाम सुनाउन, कसैले समाजमा प्रतिष्ठा बढाउन। तर अन्ततः घोषणा गरेको रकमसमेत नदिने मानिसहरू पनि थिए। प्रश्न उठ्छ, के यस्तो कर्मलाई कर्मयोग भन्न सकिन्छ?
कर्मयोग बाहिरी कर्मको विषय होइन; यो भित्री भावको विषय हो। एउटै काम दुई व्यक्तिले गर्न सक्छन्। एकजनाले अहंकारका लागि, अर्काले समर्पणका लागि। बाहिरबाट काम उस्तै देखिए पनि आध्यात्मिक दृष्टिले ती दुई फरक संसार हुन्।
आजकल भगवद्गीताको प्रसिद्ध शिक्षा “निष्काम कर्म”लाई पनि धेरैजसो मानिसहरूले सतही रूपमा बुझ्छन्। प्रायः सुनिन्छ, “काम गर, फलको आशा नगर।” तर वास्तवमै कसले फल चाहँदैन? किसानले बाली फलोस् भन्ने चाहन्छ, विद्यार्थीले परीक्षा पास होस् भन्ने चाहन्छ, चिकित्सकले बिरामी निको होस् भन्ने चाहन्छ। परिणामको अपेक्षा स्वाभाविक कुरा हो।
गीताको शिक्षा परिणामप्रति उदासीन बन्नु होइन। यसको वास्तविक अर्थ हो, परिणामले हाम्रो भित्री शान्ति नियन्त्रण नगरोस्। सफलता आए अहंकार नबढोस्, असफलता आए आत्मविश्वास नटुटोस्। कर्मयोगको प्रश्न परिणाम होइन; कर्म गर्दा हाम्रो हृदयमा कस्तो भावना छ भन्ने हो।
स्वामी क्रियानन्दले बारम्बार जोड दिनुभएको एउटा गहिरो सत्य के हो भने कर्मयोगको अन्तिम अवस्था “म काम गरिरहेको छु” भन्ने भावनाभन्दा पनि पर छ। त्यहाँ साधकले विस्तारै अनुभव गर्न थाल्छ, “दिव्य शक्ति नै यस शरीर, मन र बुद्धिमार्फत कार्य गरिरहेको छ।” त्यसबेला कर्म व्यक्तिगत महत्वाकांक्षाको अभिव्यक्ति रहँदैन; त्यो ईश्वरीय इच्छाको माध्यम बन्छ।
निष्काम कर्मको वास्तविक अर्थ कामबाट भाग्नु होइन, न त परिणामप्रति उदासीन हुनु हो। यसको अर्थ कर्मको बीचमा आन्तरिक शान्ति, समत्व र समर्पण कायम राख्नु हो। बाहिर कर्म चलिरहन्छ, तर भित्र मौनता रहन्छ। यही कर्मयोगको हृदय हो। जब यो चेतना विकसित हुन थाल्छ, तब कर्मले बन्धन सिर्जना गर्दैन; कर्म नै मुक्तिको साधन बन्न सक्छ।
सायद आधुनिक समाजको एउटा ठूलो समस्या यही हो कि हामी कामलाई केवल आम्दानी वा प्रतिष्ठाको माध्यमका रूपमा हेर्छौँ। काममा अर्थ हराउँदा थकान बढ्छ। कर्मयोगले भने कामलाई सेवामा रूपान्तरण गर्न सिकाउँछ। जब काम सेवा बन्छ, त्यही कार्य बोझ होइन, आनन्दको स्रोत बन्न थाल्छ।
भक्ति योग -प्रेमबहादुरको मार्ग
प्रेमबहादुर दिनभर बजारमा थकान भोगेर आउँछन्, तर मन्दिरमा भजन गाउन थालेपछि उनको अनुहारमा एउटा शान्ति आउँछ, जुन दिनभरको कामले दिन सकेको थिएन। यही हो भक्ति योग।
भक्ति योग प्रेम र समर्पणको मार्ग हो। यसमा बाह्य अनुष्ठानभन्दा हृदयको भावना महत्त्वपूर्ण हुन्छ। परमहंस योगानन्दले एक योगीको आत्मकथामा ईश्वरलाई पाउन सबैभन्दा प्रभावकारी साधन निष्कपट हृदयले गरिएको पुकार हो, कुनै पनि भाषामा, कुनै पनि रूपमा भन्ने सत्यलाई बारम्बार प्रकट गर्नुभएको छ।
स्वामी क्रियानन्दले आफ्ना गुरु परमहंस योगानन्दको एउटा प्रसिद्ध भनाइ बारम्बार दोहोर्याउनुहुन्थ्यो-“Chanting is half the battle.”
यसको अर्थ केवल भजन गाउनु मात्र होइन। योगानन्दका अनुसार भक्तिपूर्ण संगीत र च्यान्टिङले मानिसको ऊर्जालाई तल्ला केन्द्रहरूबाट उठाएर हृदयतर्फ लैजान्छ। हृदय खुल्न थालेपछि प्रेम, करुणा र भक्ति स्वाभाविक रूपमा जाग्न थाल्छ।
यदि संगीतले चेतनालाई हृदय केन्द्रतर्फ लैजान्छ भने ध्यानले त्यसलाई अझ माथि उठाउँदै उच्च आध्यात्मिक चेतनातर्फ लैजान्छ। संगीतले हृदय खोल्छ, ध्यानले चेतनालाई विस्तार गर्छ। त्यसैले योग परम्परामा च्यान्टिङ र ध्यानलाई प्रतिस्पर्धी होइन, एक-अर्काका पूरक मानिन्छ।
व्यावहारिक उदाहरण: बिहान उठ्दा पहिलो विचार ईश्वरप्रति कृतज्ञताको होस्। खाना खाँदा “यो तिमीले दियौ, तिमीलाई नै अर्पण” भन्ने सोच्नुस्। यसले खाना खाने सामान्य कार्यलाई पनि एउटा आध्यात्मिक अनुभवमा बदल्छ।
भक्ति योगको अर्को ठूलो भ्रम के हो भने धेरै मानिसहरूले यसलाई केवल भावनात्मक उन्माद, बाह्य धार्मिक प्रदर्शन वा घण्टौँ भजन गाउनु मात्र ठान्छन्। तर भक्ति योगको प्रश्न “हामी कसलाई प्रेम गर्छौँ?” भन्ने होइन, बरु “हामी कसरी प्रेम गर्छौँ?” भन्ने हो। जब प्रेममा स्वार्थ घट्दै जान्छ र समर्पण बढ्दै जान्छ, त्यही प्रेम भक्ति बन्छ।
यहाँ एउटा रोचक प्रश्न उठ्न सक्छ। इस्लाममा भक्तहरूले अल्लाह र पैगम्बर मुहम्मदसँग सम्बन्ध जोड्छन्। ईसाई धर्ममा येशू र बाइबलमार्फत भक्ति व्यक्त गरिन्छ। बौद्ध परम्परामा बुद्ध र त्रिपिटक प्रेरणाको स्रोत बन्छन्। तर हिन्दू परम्परामा गणेश, शिव, कृष्ण, दुर्गा, काली, राम जस्ता अनेक रूपहरू छन्। तब कसलाई रोज्ने?
यस विषयमा योग परम्पराको दृष्टिकोण अत्यन्त उदार छ। यदि कुनै भक्त गणेशप्रति आकर्षित हुन्छ भने शिव रिसाउने होइनन्। यदि कसैले दुर्गामा मातृत्वको अनुभूति गर्छ भने काली टाढा हुने होइनन्। यी सबै रूपहरू एउटै दिव्य सत्यका विभिन्न अभिव्यक्तिहरू हुन्। महत्त्वपूर्ण कुरा कुन नाम वा रूप रोजियो भन्ने होइन; महत्त्वपूर्ण कुरा त्यो सम्बन्ध कति गहिरो र निष्कपट छ भन्ने हो।
भक्तिले अन्ततः व्यक्तिलाई रूपबाट अरूपतर्फ लैजान्छ। प्रारम्भमा मनलाई कुनै प्रिय रूप, गुरु वा इष्टदेवतामा केन्द्रित गर्न सजिलो हुन्छ। तर भक्ति परिपक्व हुँदै जाँदा भक्तले त्यो दिव्य उपस्थितिलाई एउटा मन्दिर, एउटा मूर्ति वा एउटा नाममा मात्र सीमित देख्दैन। उसले त्यही प्रेम र चेतनालाई सबै ठाउँमा अनुभव गर्न थाल्छ।
सनातन आध्यात्मिक परम्परामा एउटा सुन्दर विचार पाइन्छ “साकारबाट निराकारतर्फ।” भक्ति योगको अन्तिम लक्ष्य केवल कुनै रूपको पूजा गर्नु होइन; त्यो रूपमार्फत रूपरहित, अनन्त र सर्वव्यापी दिव्य चेतनाको अनुभव गर्नु हो।
आज मानिसहरू पहिलेभन्दा धेरै जोडिएका छन्, तर भित्रभित्रै धेरै एक्लिएका पनि छन्। सामाजिक सञ्जालले सम्पर्क बढाएको छ, सम्बन्ध होइन। भक्ति योगले मानिसलाई फेरि हृदयको भाषामा फर्काउँछ, प्रेम, कृतज्ञता र समर्पणको भाषामा।
ज्ञान योग- राजको मार्ग
राज विश्वविद्यालयमा छन् र सधैँ प्रश्न गर्छन् “म को हुँ ? यो संसार के हो ? जीवनको अर्थ के हो ?” यही खोजी ज्ञान योगको सुरुवात हो।
ज्ञान योगलाई प्रायः पुस्तक पढ्ने, शास्त्रहरू कण्ठ गर्ने वा दार्शनिक बहस गर्ने मार्गका रूपमा बुझिन्छ। तर वेदान्त परम्परामा ज्ञानको अर्थ सूचना सङ्कलन गर्नु होइन; सत्यको प्रत्यक्ष अनुभूति गर्नु हो।
वेदान्तको मूल प्रश्न हो “म को हुँ?” के म यो शरीर मात्र हुँ? यदि शरीर नै म हुँ भने बाल्यकालको शरीर, युवावस्थाको शरीर र वृद्धावस्थाको शरीर किन फरक छन्? के म मन हुँ? यदि मन नै म हुँ भने हरेक दिन बदलिने विचार र भावनाहरूको बीचमा स्थिर “म” को अनुभूति किन रहन्छ?
वेदान्त भन्छ; शरीर बदलिन्छ, विचार बदलिन्छन्, भावना बदलिन्छन्, तर ती सबै परिवर्तनलाई अनुभव गर्ने चेतना भने स्थिर रहन्छ। त्यो शुद्ध चेतना नै आत्मा हो। उपनिषद्हरूको प्रसिद्ध घोषणा छ,“तत् त्वम् असि” अर्थात् “तिमी त्यही हौ।” व्यक्तिको वास्तविक स्वरूप सीमित शरीर वा व्यक्तित्व होइन; त्यो अनन्त चेतनाको अंश हो।
परमहंस योगानन्दले ज्ञान योगलाई केवल बौद्धिक अभ्यासका रूपमा हेर्नुभएन। उहाँले बारम्बार भन्नुभयो कि सत्यको अन्तिम प्रमाण अनुभव हो। हजारौँ पुस्तक पढेर पनि मानिसले आत्मालाई नचिन्न सक्छ। तर केही क्षणको गहिरो ध्यानमा उसले आफूलाई शरीर र मनभन्दा परको चेतनाका रूपमा अनुभव गर्न सक्छ।
योगानन्दले एउटा सुन्दर उदाहरण दिनुहुन्थ्यो। जब हामी चलचित्र हेर्छौँ, हाम्रो ध्यान पर्दामा दौडिरहेका दृश्यहरूमा जान्छ। हामी हाँस्छौँ, रुन्छौँ, डराउँछौँ। तर ज्ञान योगले सोध्छ, पर्दामा देखिने दृश्यभन्दा वास्तविक के हो? दृश्य कि प्रकाश? यदि प्रकाश हटाइयो भने चलचित्र समाप्त हुन्छ। त्यसैगरी संसारका सबै अनुभवहरूको पछाडि चेतना छ। चेतनालाई चिन्नु नै ज्ञान योगको लक्ष्य हो।
स्वामी क्रियानन्दले पनि ज्ञान योगको एउटा ठूलो भ्रम औँल्याउनुहुन्छ। धेरै मानिसहरू शास्त्र, दर्शन र सिद्धान्तहरूको अध्ययनमा यति व्यस्त हुन्छन् कि वास्तविक अभ्यास बिर्सन्छन्। ज्ञान योगको उद्देश्य नयाँ विचारहरू थपिरहनु होइन; भ्रमहरू हटाउँदै जानु हो। यो जानकारी थप्ने प्रक्रिया भन्दा पनि अज्ञान हटाउने प्रक्रिया हो।
आदि शंकराचार्यले भन्नुभएको थियो, “ब्रह्म सत्यं, जगन्मिथ्या, जीवो ब्रह्मैव नापरः।” यसको अर्थ संसार अस्तित्वहीन छ भन्ने होइन; यसको अर्थ यो हो कि बाहिरी संसार निरन्तर परिवर्तनशील छ, जबकि आत्मा र परम चेतना शाश्वत छन्।
आजको युगमा हामीसँग जानकारीको अभाव छैन। केही सेकेन्डमै संसारभरको ज्ञान इन्टरनेटमा उपलब्ध छ। तर ज्ञान योगले हामीलाई एउटा गम्भीर प्रश्न सोध्छ, “के हामीले आफूलाई चिनेका छौँ?”
सायद यही कारणले ज्ञान योग आज पनि सान्दर्भिक छ। यसले हामीलाई संसारबाट भाग्न होइन, संसारलाई सही दृष्टिले हेर्न सिकाउँछ। जब मानिसले आफूलाई केवल शरीर, पद, सम्पत्ति वा सामाजिक पहिचानभन्दा ठूलो केही रूपमा अनुभव गर्न थाल्छ, तब डर कम हुन्छ, आसक्ति घट्छ र जीवनप्रति दृष्टिकोण नै परिवर्तन हुन थाल्छ।
राज योग -अञ्जुको मार्ग
अञ्जु प्रत्येक बिहान १५ मिनेट आँखा बन्द गरेर बस्छिन्। सुरुमा मन यताउता भाग्थ्यो, तर महिनौँको अभ्यासपछि उनी भन्छिन्- “ध्यानपछि सारा दिन फरक लाग्छ, एउटा शान्ति हुन्छ।” यो राज योगको अनुभव हो।
राज योगलाई “राजमार्ग” भनिन्छ। महर्षि पतञ्जलिले आफ्नो योगसूत्रमा यसलाई परिभाषित गर्नुभएको छ-
“योगश्चित्तवृत्तिनिरोधः”
अर्थात्, मनका चञ्चल तरङ्गहरूलाई शान्त गर्नु नै योग हो। वास्तवमा राज योग भनेको यही सूत्रलाई जीवनमा उतार्ने वैज्ञानिक प्रक्रिया हो। स्वामी क्रियानन्दले आफ्नो राज योगको कला र विज्ञानमा पतञ्जलिका यी शिक्षाहरूलाई आधुनिक जीवनसँग जोडेर अत्यन्त सरल भाषामा प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार राज योग कुनै धर्म वा सम्प्रदायको विषय होइन; यो मानव चेतनाको विज्ञान हो।
परमहंस योगानन्दले पनि राज योगलाई ईश्वरको प्रत्यक्ष अनुभव गर्ने वैज्ञानिक विधिका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार धर्म केवल विश्वासको विषय हुन सक्दैन। यदि ईश्वर सत्य हुनुहुन्छ भने उहाँको अनुभव गर्न सकिने विधि पनि हुनुपर्छ। राज योगले त्यही विधि प्रदान गर्छ।
पतञ्जलिको अष्टाङ्ग योगका आठ चरणहरू छन्: यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। धेरै मानिसहरू योगलाई आसनमै सीमित गर्छन्, तर वास्तवमा आसन अष्टाङ्ग योगको केवल एउटा चरण मात्र हो। यसको अन्तिम लक्ष्य शरीरलाई लचिलो बनाउनु होइन; चेतनालाई उच्च बनाउनु हो।
स्वामी क्रियानन्दले एउटा महत्त्वपूर्ण कुरा औँल्याउनुहुन्छ, मानिसको सुख र दुःखको मूल कारण बाहिरी परिस्थिति होइन, चेतनाको अवस्था हो। दुई व्यक्तिहरू एउटै परिस्थितिमा हुन सक्छन्। एकजना अशान्त हुन सक्छन्, अर्का शान्त। फरक बाहिरी घटनामा होइन, उनीहरूको चेतनामा हुन्छ। राज योगको सम्पूर्ण उद्देश्य चेतनालाई रूपान्तरण गर्नु हो।
यदि कर्मयोगले हातलाई शुद्ध बनाउँछ, भक्तियोगले हृदयलाई शुद्ध बनाउँछ, र ज्ञानयोगले बुद्धिलाई स्पष्ट बनाउँछ भने राज योगले सम्पूर्ण चेतनालाई केन्द्रित र उन्नत बनाउँछ। यही कारणले यसलाई “राजमार्ग” भनिएको हो।
परमहंस योगानन्दले ध्यानलाई केवल विश्रामको साधनका रूपमा हेर्नुभएन। उहाँका अनुसार ध्यानको अन्तिम उद्देश्य तनाव घटाउनु मात्र होइन, आफ्नो वास्तविक स्वरूप आत्माको अनुभव गर्नु हो। ध्यानको गहिराइमा मानिसले आफूलाई शरीर, विचार र भावनाभन्दा परको चेतनाका रूपमा अनुभव गर्न थाल्छ।
यदि आधुनिक युगको कुनै महामारी छ भने त्यो ध्यान विचलन हो। हाम्रो मन दिनभर सूचना, सन्देश, समाचार, विज्ञापन र चिन्ताले भरिएको हुन्छ। यस्तो अवस्थामा पतञ्जलिको सन्देश झन् सान्दर्भिक सुनिन्छ। आजको मानिसलाई बाहिरी सूचनाभन्दा बढी आन्तरिक मौनताको आवश्यकता छ।
राज योग संसारबाट भाग्ने मार्ग होइन। यो संसारको बीचमा रहेर पनि आन्तरिक स्वतन्त्रता प्राप्त गर्ने कला हो। जब मन शान्त हुन्छ, तब मानिसले परिस्थितिहरूलाई अझ स्पष्ट रूपमा देख्न सक्छ। निर्णयहरू विवेकपूर्ण हुन्छन्, सम्बन्धहरू गहिरा हुन्छन्, र जीवनको अनुभव परिवर्तन हुन थाल्छ।
पतञ्जलि, परमहंस योगानन्द र स्वामी क्रियानन्दका अनुसार राज योगको अन्तिम लक्ष्य केवल शान्त मन होइन; त्यो शान्त मनमार्फत आफ्नो वास्तविक दिव्य स्वरूपको अनुभूति गर्नु हो। जब चित्तका तरङ्गहरू पूर्ण रूपमा शान्त हुन्छन्, तब आत्मा आफैँलाई प्रकट गर्छ। यही अवस्थालाई योग परम्पराले समाधि भन्छ।
चार मार्ग, एउटै यात्रा
यी चारवटा मार्गहरू एकअर्काका विरोधी होइनन्, बरु पूरक हुन्। एउटा सबल रुखजस्तै कर्मयोग जरा हो, भक्ति योग फूल हो, ज्ञान योग पात हो र राज योग ढाड हो।
परमहंस योगानन्दले सन्तुलित आध्यात्मिक जीवनको महत्त्वमा जोड दिनुभएको थियो। उहाँले स्वयं सेवा, भक्ति, ज्ञान र ध्यान, चारवटैलाई जीवनमा एकीकृत गर्नुभएको थियो।
योगको अर्को महत्त्वपूर्ण सन्देश के हो भने आध्यात्मिकता संसारबाट भाग्ने कुरा होइन। पतञ्जलि, योगानन्द र स्वामी क्रियानन्द सबैले जोड दिनुभएको छ कि साँचो आध्यात्मिक जीवन संसारको जिम्मेवारी त्यागेर होइन, जीवनको प्रत्येक क्षेत्रमा उच्च चेतनासहित सहभागी भएर जिउन सकिन्छ। योग गुफामा भाग्ने मार्ग होइन; यो घर, परिवार, कार्यालय र समाजको बीचमा रहेर पनि आन्तरिक स्वतन्त्रता प्राप्त गर्ने कला हो।
रमिता देवीको परिवारमा फर्कौँ। रमिता, प्रेमबहादुर, राज र अञ्जु सबैले आफ्नो स्वभावअनुसार फरक मार्ग रोजेका छन्। तर बिहानको खाना पकाउनुदेखि राति सुत्नुअघिसम्म, उनीहरू अनजानमै एउटै यात्रामा छन्, आफ्नो वास्तविक स्वरूपको खोजी।
तपाईंको यात्रा कहाँबाट सुरु गर्ने?
स्वामी क्रियानन्दले राज योगको कला र विज्ञानमा भन्नुभएको छ, कुनै पनि मार्गबाट सुरु गर्न सकिन्छ। मुख्य कुरा सुरु गर्नु हो। यदि तपाईं सक्रिय हुनुहुन्छ भने कर्मयोगबाट, यदि हृदयमा प्रेम छ भने भक्तिबाट, यदि प्रश्नहरू छन् भने ज्ञानबाट, र यदि शान्ति चाहनुहुन्छ भने ध्यानबाट।
आजको नेपाल र विश्व दुवै एउटा अनौठो मोडमा उभिएका छन्। हाम्रो जीवनमा सुविधा बढेको छ, तर शान्ति घटेको छ; सम्पर्क बढेको छ, तर आत्मीयता घटेको छ; जानकारी बढेको छ, तर आत्मज्ञान दुर्लभ बन्दै गएको छ।
सायद यही कारणले अन्तर्राष्ट्रिय योग दिवस केवल एउटा वार्षिक उत्सव होइन। यो हामीलाई बाहिरको उपलब्धिभन्दा भित्रको विकास पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सम्झाउने अवसर हो।
कर्मले सेवा सिकाउँछ, भक्तिले प्रेम सिकाउँछ, ज्ञानले विवेक सिकाउँछ, र राज योगले आत्म-अनुभूति सिकाउँछ। मार्ग फरक हुन सक्छन्, तर अन्ततः सबैले हामीलाई एउटै सत्यतर्फ डोर्याउँछन् ।
हामीले खोजिरहेको आनन्द बाहिर होइन, आफ्नै अन्तरमनमा छ।
(लेखक लामो समयदेखि क्रियायोग साधक तथा आईआईटी दिल्लीमा इन्जिनियरिङ अनुसन्धानरत विद्यार्थी हुन्।)
प्रतिक्रिया 4