८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पूर्वसभामुख सुवास नेम्वाङमाथि व्यवस्थापिका संसदलाई धम्क्याएको आरोप लगाएका छन् ।
सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि भइरहेको छलफलमा भाग लिँदै माओवादी नेता कार्कीले पूर्वसभामुख नेम्वाङको चर्को ओलाचना गरे । शुक्रबारको बैठकमा नेम्वाङले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै बोलेका थिए ।
भूकम्प पनि ओलीले रोकेको हो ?
नाकाबन्दी केपी ओली सरकारले हटाएको भन्दै एमाले नेताहरुको तर्कको उनले खण्डन गरे । ‘जुन योग्यता पुर्याएर, बुद्धि पुर्याएर भूकम्प रोक्यो, त्यही बुद्धिले नाकाबन्दी पनि खोल्यो’ माओवादी नेता कार्कीले भने, ‘बारम्बार सुन्छौं, भूकम्प आयो त एक समय आयो । अहिले आएको छैन नि । भूकम्प पनि एमालेले रोकेको हो ?’
उनले अघि भने, नाकाबन्दी कहाँ कसरी रोक्नु भो ? कसरी खुल्यो ? भन्नुस् त । ग्यास र तेल लिन जानुस् त, घरका गृहिणीहरुलाई नाकाबन्दी खुलेको अनुभूति हुन्छ ?’
संसदलाई धम्क्याएको आरोप
शान्त, सुशील र कानुनको ज्ञाता भनेर चिनिने सभामुख नेम्वाङले अचम्मको तर्क गरेको उनले बताए । ‘उहाँ मलाई केही थाहा छैन । मत जान्दिनँ भन्नुहुन्छ र एकछिनपछि संसदलाई तर्साउनुहुन्छ’ कार्कीले भने, ‘हामीले भनेको बाटोमा गएन भने परिणाम खतरनाक हुन्छ’ संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई प्रश्न गर्दै उनले भने, ‘यसरी सार्वभौम संसदलाई तर्साउने अधिकार तपाईलाई कसले दियो ?’
पटक-पटक सेतो कुर्सी भरियो भनियो ।हामी मधेसका मान्छेको वर्णलाई इंगित गरिरहेका छैनौं ? किन जिस्क्याइन्छ ?
अहिले नेपालसँग संसद भन्दा बलियो र प्रजातान्त्रिक संस्था कुनै नभएको बताउँदै कार्कीले अघि भने, यसले सबै कुर्सी फेरिदिन सक्छ, संसदले एउटा निर्णय गर्यो भने तर्साउने ?’
नयाँ सरकार बन्ने कुरालाई एमाले सांसदहरुले अझै हाइपोथेटिकल मानेको भन्दै कार्कीले भने, ‘संसदभन्दा माथि कोही छ ? देखाउनुस् । राजतन्त्रलाई हामीले विदा गरिसक्यौं ।’
माओवादी नेता कार्कीले ‘प्रचण्ड आफैं सरकार सञ्चालन सम्वन्धी संयन्त्रको प्रमुख हुनुहुन्थ्यो, के गर्नु भो त ?’ भन्ने नेम्वाङको प्रश्नको पनि जवाफ दिए । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सबै डिक्टेट गर्ने भएकाले राम्रा-नराम्रा कामको दायित्व प्रधानमन्त्रीले नै लिनुपर्ने कार्कीले बताए ।
हिजो गान्धीले पनि अनसन गर्नुपरेको र जयप्रकाश नारायणले आन्दोलन गर्नु परेको प्रसंग सुनाउँदै माओवादी नेता कार्कीले भने, ‘प्रचण्डको संवैधानिक हैसियत कति हुन्छ ?’
नेपाललाई चीन र भारतको पुल बनाउने कुरा भएको तर, ओली सरकारले पुलको एकतिरको पिल्लर भत्काएको कार्कीको आरोप छ । उनले भने, हामी एकातिर पुल बनाउने कुरा गछौं । अर्कोतिर पुलको एकापट्टीको पिल्लर भत्कायौं भनेर गर्व गछौं । एकापट्टी मात्र भएको पुल हुन्छ ? संसारमा यस्तो बनेको छ ?’
सेता कुर्सी भनेर के भन्न खोजेको ?
माओवादी नेता कार्कीर्ले सभामुख नेम्वाङ र एमाले नेताहरुले बारम्बार सेता कुर्सी भरिएको भनेकोमा गम्भीर आरोप लगाए । संसदका कुर्सी भरिएको छ भन्दा पनि हुन्छ भन्दै उनले अघि भने, ‘हामी मधेसका मान्छेको वर्णलाई इंगित गरिरहेका छैनौं ? किन जिस्क्याइन्छ ?’
मधेसको आन्दोलनमा बेथिति बढ्दै गएपछि पहाडेसँगै मधेसी भागेको भन्दै उनले अघि भने, ‘उनीहरुले भक्तपुरमा आएर घरेडी किने, कोटेश्वरमा डेरा लिए । उनीहरु दरभंगा किन गएनन् ? जबकि भक्तपुरमा चारआना जग्गा किन्न सक्ने पैसाले दरभंगामा घर किन्न सकिन्छ । आज पनि के मधेसीले मधेसमै जन्मिएका कारण आफूलाई राष्ट्रवादी प्रमाणित गर्न अतिरिक्त केही गर्नुपर्छ ?’
प्रतिक्रिया 4