९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई द्वापर युगको अभिमन्युसँग तुलना गरेका छन् । महाभारतमा कलिलो अभिमन्युलाई सुरवीरहरुले घेरामा पारेर चक्रव्यूहमा फर्साएको बताउँदै प्रधानमन्त्री ओलीले भने- ‘तर, यो द्वापर युग होइन, र अहिलेको अभिमन्यु त्यति कलिलो छैन ।’
०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई बजेटसम्म पनि प्रस्तुत गर्न नदिने राजनीतिक चक्रब्युह बनेको सम्झँदै प्रधानमन्त्री ओलीले अहिले आफूलाई त्यसैगरी एक्लो बनाउन खोजिएको गुनासो गरे ।
अविश्वासको प्रस्तावबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिखित मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले संसदीय व्यवस्थालाई अस्वीकार गर्नेहरु पनि यो प्रक्रियामा सहभागी भएको र संविधानलाई समर्थन नगर्नेहरु पनि यो प्रक्रियामा आएको भन्दै उनीहरुलाई धन्यवाद दिए ।
उनले भने- ‘भिन्न प्रयोजनका लागि भए पनि संविधानको सर्वस्वीकार्यता पुष्टि गरिदिएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आफ्नो लागि स्वाभाविक भएको बताउँदै व्यवस्थापिका संसदमा भने- ‘यो अविश्वाससको प्रस्ताव मेरा लागि सामान्य हो । तर, उद्देश्यका हिसाबले यो कति सामान्य हो, दुनियाँलाई थाहा छ । एउटा भनाइ छ, कपडा काट्नुअघि धेरैचोटि नाप्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले संविधान नबेकोमा खुशी हुनेहरु र धमिलो पानीमा माछा मार्न खोज्नेहरु सल्बलाइरहेको बताए ।
हेर्नुस् प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन
प्रतिक्रिया 4