Comments Add Comment

नेताजति कुर्सीको खेलमा, जनताचाँहि बाढी र भेलमा !

चीनमा बाढीपीडितले जुलुस लगाए, नेपाली चूपचाप सहँदैछन्

Flood

१० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका संसदमा कलात्मक भाषण गर्दै सरकारका कामको फेहरिस्थ प्रस्तुत गरिरहँदा उता प्रधानमन्त्रीकै गृहजिल्ला झापामा चाँहि बाढीपीडित झापालीहरुमा रुवावासी चलिरहेको थियो ।

निश्चय नै बाढी पहिरो केपी ओलीले ल्याएका होइनन्, यो प्राकृतिक प्रकोप हो । तर, झापा, मोरङ, सप्तरीलगायतका जिल्लाहरुमा दसौं हजार जनता विस्थापित हुँदा त्यहाँका जनप्रतिनिधिहरु मैदानमा गएनन्, उनीहरु राजधानीमा सत्ताको जोडघटाउमा अल्मलिए, अल्मलिइरहेका छन् ।

यसलाई एउटा दुर्भाग्यपूर्ण संयोग नै मान्नुपर्छ, चीनको हेबेई प्रान्तको सिङटाई शहरका बाढी पीडितहरुले कम्युनिष्ट पार्टीको सरकारविरुद्ध जुलुस निकालेका छन् । चिनियाँ जनताको आक्रोशपछि सिङटाइ नगरका मेयर दोङ सियाउले बाढी आउँदा बेलैमा सचेतता अपनाउन नसक्नु गल्ती भएको भन्दै जनतासँग सार्वजनिक माफी मागेका छन् ।

Jhapa-Flood-1

धन्य हुन् तराई मधेसका सहनशील नेपालीहरु, जसले रातभरि रुखमा रात बिताउनुपरे पनि सरकारविरुद्ध कुनै आक्रोश पोखेका छैनन् । उनीहरुले चीनमाजस्तो कुनै जुलुस निकालेका छैनन् । शहरका मानिसहरु सामाजिक सञ्जालमा ‘आइ एम विथ केपी ओली’ भनिरहेका छन् ।

गाउँघरका बाढी पीडितहरु चाँहि ‘आइ एम विथ रिभर’ भन्नुपर्ने स्थितिमा छन् । सिंहदरबारलाई आफ्ना जनतामाथि आइपरेको विपत्तिप्रति खासै संवेदना देखिएको छैन ।

Jhapa Duban (4)

संसदमा हुने भनिएको विश्वास/अविश्वासको खेल सकिइसकेको छ । अब नेताज्यू र जनप्रतिनिधहरुले एकचोटि बाढीपीडित जनताको वस्तीतिर पनि नजर लगाउने हो कि कि ?

सप्तरीमा चार हजार घर डुबे, गोबरगाढा गाउँ सम्पर्कविहीन

कोशी नदीमा आएको उच्च बहावका कारण नदीको चीवमा टापुजस्तो अवस्थामा रहेको गोबरगाढा सिंगै गाउँ सम्पर्कविहीन बनेको छ । त्यहाँ उद्धारकर्मीहरु जान आउन सकेका छैनन् र कसैसँग मोबाइल सम्पर्क पनि हुन सकेको छैन ।

सप्तरीका सकरापूरा, बिसहरिया, लौनिया, सम्पुरा मल्हानिया र लोखरम लगायतका गाविसमा रहेका सैयौं घरहरु डुबानमा परेका छन् ।

प्रधानमन्त्रीको गृहजिल्लामा ६४५ घरपरिवार विस्थापित

झापाबाट गौरब पोखरेलद्वारा प्रेसित समाचारअनुसार विगत केही दिनयता जारी भारी वषर्ाका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । आइतबार एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार गोलधाप-९ मा खेतमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६४ वर्षका कालीबहादुर लिम्बू छन् । खेतमा पानी जमेर बनेको भौडीमा डुबेर उनको मृत्यु भएको जिप्रका झापाका प्रहरी प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले बताए ।

Jhapa-Flood

बाढीका कारण सयौं घरहरु डुबानमा परेका छन् । स्थानीय प्रशासनका अनुसार बाढीका कारण झापामा ६४५ घरपरिवार विस्थापित भएका छन् र जिल्लामा विस्थापित नागरिकको संख्या करिब ५ हजार पुगेको छ ।

झापामा बाढीका कारण विस्थापित हुनेको सङ्ख्या बढेको बढ्यै छ । आइतबारसम्म ५ सय ४९ घर परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको छ ।

यसअघि शनिबार साँझसम्मको रेकर्ड अनुसार जिल्लामा बाढीका कारण विस्थापित हुनेहरुको सङ्ख्या ९६ मात्रै थियो । योसँगै अब जिल्लामा विस्थापित हुनेहरुको सङ्ख्या ६४५ पुगेको छ ।

गौरादह-५ मा पर्ने देउरिया खोला तर्ने क्रममा टेकेन्द्रबहादुर खड्का (३६) वेपत्ता भएका छन् । उनलाई खोलाले बगाएर लगेको स्थानीयको अनुमान छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

Jhapa Duban (1)

उता, झापाको दक्षिणी गाविस कुमारखोद-४ मा पनि एक युवती वेपत्ता भएकी छिन् । स्थानीय १९ वर्षीया डि मर्डी वेपत्ता भएकी हुन् । विहान १० बजे दाउरा खोज्न जाने क्रममा खोलाले बगाएर उनी वेपत्ता भएकी थिइन् ।

आइतबार साँझ अनलाइनखबरलाई जिल्ला रेडक्रस सोसाइटी झापाले दिएको जानकारी अनुसार माहाभारा-४ को बालुवाडीमा रहेका २२ घरमा पानी पसेको थियो । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, चकचकी-८ स्थित खाडी वस्तीमा घाग्रा खोलाको पानी पस्दा २५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई रेडक्रसले नजिककैको चिया बगानमा सारेको छ ।

त्यस्तै, चकचकी-१ र ७ मा १५ घर डुबानमा परेका छन् । त्यहाँका विस्थापित परिवारलाई छिमेकीको घरमा राखिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उता, जिल्लाको दक्षिणी गाविस कुमरखोद- ४ को मिलन वस्तीमा कन्काई नदीको पानी पस्दा ४२ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई अहिले निर्माणाधीन एसटी जेभियर्स विद्यालयमा सारिएको रेडक्रसले जनाएको छ । शसस्त्र प्रहरीको सहयोगमा उनीहरुलाई ड्राइफुड वितरण गरिएको छ ।

त्यस्तै, कुमारखोद-१ मा एउटा घर डुबानमा परेको छ । पूर्ण रुपमा विस्थापित बनेको त्यस परिवारलाई त्यहीँको भन्सार कार्यालयमा राखिएको छ । त्यस्तै कन्काई-७ मा घाग्रा खोलाको पानी पस्दा एक घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने र दुई घरमा आंशिक रुपमा क्षति पुगेको छ । त्यहाँका विस्थापित परिवारलाई छिमेकीकोमा राखिएको छ । त्यस्तै कन्काई-५ मा रहेका ३ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने ५ वटा घरमा आंशिक क्षति पुगेको छ ।

Jhapa-Flood

घेरावारी-५ को पिण्डलवारीमा १३ घर डुबानमा परेका छन् भने घेराबारी-३ र ६ मा ३६ घर डुबानमा परेका छन् । पिण्डलवारीका विस्थापित परिवारलाई भागडुब्बास्थित अमृत निमाविमा राखिएको छ । अन्य विस्थापितहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् ।

जलथल-१, सुकुम्वासी टोलमा देउनियाँ खोलाको पानी पस्दा १७ घरपरिवार विस्थापित भएका छन् । विस्थापित केही परिवारजन अहिले आफन्तसँग छन् भने केही परिवार पुरानो चिया फ्याक्ट्रीमा बसिरहेको रेडक्रसले जनाएको छ ।

उता, घेरावारी-३ को भेलामुनी र खयरवारीमा १६ घर डुवानमा परेका छन् । उनीहरु पनि अहिले छिमेकीको घरमा बसिरहेका छन् । घेरावारीकै वडा नम्बर ६ मा रहेको पाण्डेगाउँमा २० घर डुबानमा परेका छन् ।

राजगढ-५ मा रहेको सुकुम्वासी वस्तीमा ५० र राजगढ-४ मा रहेको खाडीवस्तीमा ३ घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । अहिले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । त्यसै भद्रपुर नगरपालिका-१ को भैंसावारीमा १०५ घर डुवानमा परेका छ ।

Jhapa Duban (2)

गरामनी-३ भएर बग्ने देउनियाँ खोलामा पानीको बहाव बढ्दा त्यहाँका थुप्रै घरहरु डुबानमा परेका छन् । त्यहाँको सुकुम्बासी टोल पूरै डुवानमा परेको छ । डुबानमा परेका घरहरु नदीको किनारमा छन् । त्यहाँ करिब १ दर्जन घरहरु जलमग्न भएका छन् । घर वरिपरि चारैतिर पानी पसेर भङ्गालोको बीचमा परेका स्थानीय समर बहादुर परियारलाई नेपाल प्रहरीले उद्दार गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नदीनालाको भङ्गालो पस्न सक्ने सम्भावित क्षेत्रमा राहात र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना टोली परिचालन गरिएको जानकारी दिए । बाढीका कारण विस्थापित बनेका परिवारलाई नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले सुरक्षित स्थानमा सारिरहेको छ ।

केही दिनयता परेको अविरल वर्षाका कारण नदी आसपासमा लगाइएको धानवालीमा क्षति पुगेको छ । तोपगाछी-८ भएर बग्ने कमल खोलामा पानीको बहाव बढेर कृषकहरुको खेती कटान गरिरहेको छ ।

Jhapa Duban (5)

यस क्षेत्रका दर्जन बढी कृषकहरुको खेती बगरमा परिणत भएको छ । स्थानीय कृषक मीनप्रसाद न्यौपानले जनाए अनुसार त्यहाँ कृषकहरुले गत वर्ष लगाएको बाँधसमेत भत्किएको छ ।

‘बाढी कतिबेला गाउँ, खेतमा पस्ने हो भन्ने डरले हामी जाग्राम बसिरहेका छौं’, अर्का कृषक छविलाल पोखरेलले भने ।

सुनसरीमा करिब सय घर डुबे

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार अहिले विहान ६ बजेको समयमा सप्तकोशी नदीमा २ लाख २२ हजार ९ सय ५ क्यूसेक प्रतिसेकेण्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाई गोठ डुवानमा परेका छन् । सुनसरीको अमडुवा-५ का बिजय गुरुङको गोठमा बाँधेको २ गोरु र १ गाईको डुवेर मृत्यु भएको छ ।

बाढीका कारण सुनसरीको अमडुवा-७ मा २२ घर डुबेका छन् । त्यस्तै वडा नं ५ मा २७ घर र वडा नं ४ मा १४ घर डुवानमा परेका छन् । स्थानीय धमुना खोलामा आएको बाढीका कारण वस्ती डुवानमा परेको हो । यसैगरी सुनसरीको टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला-४ मा ३४ घर र ५ मा २२ घर डुवानमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार पश्चिमकुशाहा-९ मा पानीको निकाश नहुँदा ९ घर जलमग्न बनेका छन् । त्यस्तै बुढी खोलामा आएको बाढीले अमाहीबेलाहा-८ का ८ घर डुवानमा परेका छन् ।

घर गोठ डुवानमा परेपछि मानिसहरु अग्लो स्थानतिर सरेका छन् । चौपायाहरुलाई खुला छाडिएको छ । घर डुवानमा परेपछि अधिकांश पीडितहरुको खाद्यान्न र लत्ताकपडा समेत भिजेकाले समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment