१० साउन, सप्तरी । अबिरल वर्षासँगै आएको बाढीमा डुबेर सप्तरीमा एक युवक वेपत्ता भएका छन् । एकजनालाई उद्धार गरिएको छ ।
वेपत्ता हुनेमा मोरङको जतुवा बस्ने २३ वर्षीय सुदीपकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दानबहादुर कार्कीले बताए ।
स्थानीय नदीमा डुबेर वेपत्ता भएका उनी हनुमाननगरस्थित फोरवार्ड नामक संस्थामा काम गर्दै आएका थिए । को.बर्साइन गाविस ४ स्थित स्थानीय खोलामा आएको बाढीमा डुबेर उनी वेपत्ता भएका हुन् । उनको खोजी भइरहेको र फेला पर्न नसकेको डिएसपी कार्कीले जानकारी दिए ।
यस्तै खाँडो खोला तर्ने क्रममा डुबेका सप्तरीको तेरहौता गाविसका एक युवकलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।
तेरहौता गाविस ३ बस्ने १८ वर्षीय घुरन सदा बसबिट्टीबाट घरतर्फ जाने क्रममा खाँडो खोला तर्न लाग्दा डुबेका थिए । उनलाई खोलाले बगाएको थियो ।
खोलाले बगाएपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया 4