विश्वको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्ने विश्वप्रसिद्ध म्यागजिन ‘फरेन अफेयर्स’का अनुसार सन् २००० देखि हाल सम्ममा २७ वटा देशमा प्रजातन्त्र फेल भइसकेको छ । त्यसको सबैभन्दा पछिल्लो उदाहरण टर्की हो ।
एकातिर प्रजातन्त्र फेल भइराख्दा हाम्रो मुलुकमा लोकतन्त्र उत्कर्षमा छ । लोकतन्त्रकै नाममा प्रत्येक आधा वर्षमा अविश्वासको मत अनि सरकार परिवर्तनको चपेटामा पर्ने नेपाल सायद लोकतन्त्र चपाएर निलेको तर पचाउन नसकेको अवस्थामा छ ।
संविधानको घोषणा र त्यसपश्चात सत्तामा आएका केपी ओली र उनको सरकारले मधेस आन्दोलन र छिमेकबाट बहिष्कार, सँगै ब्यहोर्नुपर्यो । नाकाबन्दीमा सायद उनले ठोस कदम चाल्न सकेनन् तर, नेपाली भित्र मर्दै गएको राष्ट्रियतालाई प्रोत्साहित गरे ।
ग्याँस, पेट्रोल अनि डिजेलको सट्टामा दुःखले तर सानका साथ बाँच्न सिकाए । अन्ततः भारतले लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै खोलियो । यस बीचका घटनाक्रमले नेपालीको मनमा ओलीले गफाडी तर राष्ट्रवादीको छवि बनाए ।
तर, दक्षिणी छिमेकीले नरुचाएका प्रधानमन्त्री ओली उसको आँखाको तारो पनि बन्न पुगे । र, अघिल्लो दिनसम्म काँधमा काँध मिलाएर हिँडिरहेको मित्रले थोरै व्यक्तिगत स्वार्थमा लुप्त भएर राष्ट्रिय स्वार्थ बिर्सिँदै ओली सरकारमाथि अविश्वासको प्रस्ताव राखेरै छाडे ।
अझ हास्यास्पद कुरा चाहिँ आफू सरकारमा भएकै स्थितिमा आएको सरकारको बजेटमाथिको बहससम्म संसदमा चल्न नदिने र मान्य नहुने कुराले कतै व्यक्ति बिशेषहरुको सञ्चालन बाहिरबाट त भएको छैन भन्नेमा ध्यान केन्द्रित गर्दछ ।
यस कदम मार्फत प्रचण्डले आफूसँगै आफ्ना समकक्षीको राजनैतिक इतिहास धरापमा राखेका छन् र माओवादी केन्द्रलाई नेकपा माले पथतर्फ अग्रसर गराएका छन् । धेरै विज्ञहरुले यसको पछाडि शान्ति तथा सत्य निरुपण आयोगको कार्यसुस्तता बताएका छन् ।
राष्ट्रियताको खानपिन गर्ने बानी परेका नेपालीलाई प्रचण्डका हरेक कदम अब उपरान्त दक्षिणी स्वार्थ लाग्नेछन् । ओली बाहिरिँदै गर्दाको दक्षिणी उल्लास र प्रचण्डको व्यवहार प्रश्नसहित उभिनेछन नेपाली मानसपटलमा ।
नेपाली मामलामा बाहिरी स्वार्थ
अन्तराष्ट्रिय भु-राजनीतिको चरम चपेटामा परेको नेपालले आफ्नो भौगौलिकताको स्थितिलाई फाइदामा परिवर्तन गर्नसक्ने राजनेता आजसम्म पनि पाउन सकेन ।
नेपालका नेता कि दक्षिणपन्थी कि उत्तरपन्थी कि त पश्चिमपन्थी मात्रै हुने गरेको पाइयो तर एकै समयमा दक्षिण, उत्तर र पश्चिमलाई सन्तुलन गर्ने र फाइदा उठाउने नेपालपन्थी हुनसक्ने कोहि भएनन् ।
चीनको विश्वशक्तिको रेस अनि उदाउँदो आर्थिक शक्ति बन्दै गरेको भारतलाई नेपाल आफ्नो ‘स्पेर अफ इन्फ्लुयन्स’मा पार्नको लागि कुटनैतिक र अन्तरदेशीय सम्बन्धको मर्यादा नै विर्सने गरेको कैयन उदाहरण छन् ।
तर आफ्नो आन्तरिक मामलामा अरुको हस्तक्षपको जिम्बेवारी हामी आँफैले लिनसक्नु पर्छ । भारतलाई नेपाल आफ्नै दाइजो हो भन्ने ‘इन्फेरिटी’ आनि चीनलाई भारतलाई ‘टोन्ट’ गर्ने माध्यम नेपालनै हो भन्ने मान्यता साथै पश्चिमाहरुको भारत र चीन दुबैलाई सन्तुलन गर्ने उर्वर भूमि लाग्नु नेपाल विकाश नहुनुको प्रमुख कारण हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा अक्सर प्रयोग हुने रियालिस्ट थ्योरीका अनुसार आफ्नो देशको राष्ट्रिय स्वार्थपूर्तिका लागि एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र जुनै हदसम्म पनि जान सक्नुपर्दछ । यसैलाई ध्यानमा राख्दै भारत दिनप्रति दिन रियालिस्ट हुदै गइरहेको छ ।
एउटा भारतीय रिसर्च एजेन्सीका अनुसार आफ्नो राष्ट्रिय नीति तथा कार्यक्रम कार्यान्वयनमा असहजता पैदा गरेको भन्दै मोदि सरकारले करिब ४२०० एनजिओ तथा आइएनजिओ बन्द गरिसकेको छ । साथै हालै भएको कश्मीर आन्दोलनमा सरिक भारत गणराज्यकै (आफ्नै नागरिक) युवालाई आँखै आँखामा क्रुरतापर्वक गोली हान्नु पनि देशको स्वार्थपूर्तिको चरम नकारात्मक नमूना हो ।
अनि आफूलाई डेमोक्रेसीको पिता भन्न रुचाउने अमेरिकाले आफ्नो नागरिकको फोन, ईमेल, व्यक्तिगत जीवनमा सर्भिलेन्स गरी ‘एक्स्ट्रिम हृयुमन राईट्स भ्वाइलेसन’ गरिरहेको छ । अनि हामी यिनै चरमपन्थी रियालिस्टले बाँच भनेर सिकाएको डेमोक्रेसीको प्रयोग गरिरहेका छौँ त्यो पनि आफ्नो देशको स्वार्थ भुलेर ।
कुनै पनि देश वा समाजको विकासका चरणहरु हुने गर्दछन् । जस अनुसार देश वा समाज विकास हुन प्रथमतः आर्थिक बिकास हुनुपर्दछ । त्यसपश्चात राजनैतिक, प्राविधिक, समाजिक हुँदै अन्ततः मानव विकास हुनुपर्दछ तर नेपालको हकमा सबैचरण नाघेर मानव विकास पहिले भएको देखिन्छ । आर्थिक, सामाजिक, प्रविधिक, राजनैतिक विकास बिना नै नेपालमा ल्याएर प्रयोग गरिएको युरोपियन मोडलको डेमोक्रेसीले अरु केहि नभई नेपालको संक्रमणकाल लम्ब्याउने काम मात्रै गरेेको छ । न नेपाल अघि बढिरहेको छ, न त पछि हटिरहेको ।
यस्तै अन्योल र उच्च विरोधाभासका बीचमा प्रचण्डले यदी आफ्नो सकिएको चरित्र फिर्ता लिन चाहान्छन् भने उनले जतिसक्दो छिटो निर्वाचन गराएर नेपाललाई स्थायी सरकार स्थापनामा सहायोग गर्नुपर्दछ जसले नेपालको हितको निर्णय गरोस र केबल देशीय स्वार्थलाई मध्यनजर गरोस नत्र ओलीले राष्ट्रियताको टोनिक खुवाएर राखेको जनताले प्रचण्डको हरेक कदमलाई प्रश्न र अविश्वासले मूल्याङ्कन गर्नेछन् ।
(लेखकले अन्तर्राष्ट्रिय सम्बन्धमा वार्सा युनिभर्सिटीबाट स्नानतकोत्तर गरेका छन्)