Comments Add Comment

त्रिभुवन विमानस्थलमा हप्ताको २५५ अन्तर्राष्ट्रिय उडान

NAC Airbus 320
१३ साउन, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको औषत २५५ अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । यो विमानस्थलमा अहिले २६ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

सन् २०१३ मा २८ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान भरेका थिए । सन् २०१५ मा आइपुग्दा दुईवटा विमान कम्पनी घटेका छन् । सन् २०१६ मा स्वदेशी लगानीको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।

सन् २०१५ मा हवाइमार्गबाट आवातजावत गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या ३२  लाख १७ हजार १६२  रहेको छ । हवाइ सेवाहरूको मौसमी घटबढ, तिनीहरूको सेवाको नियमितता, तिनीहरूले सञ्चालन गर्ने जहाजहरूको प्रकार र स्तर आदिले हवाइयात्रुको संख्यामा घटबढ हुने गर्छ ।

सन् १९६३ देखि नेपालले विश्वका ३८ देशहरूसँग द्विपक्षीय हवाइ सेवा सम्झौता (बासा) गरेको छ  । यी सम्झौता अनुसार नेपालमा आउने र जाने गरी ८० लाख  सिटहरू उपलब्ध छन् । तर, सन् २०१५ मा ४०  प्रतिशतमात्र सिटहरू उपयोगमा आएका थिए ।

उपयोग हुन बाँकी सिटहरू द्विपक्षीय हवाइ सेवा सम्झौता भएपनि नेपालमा सिधा उडान नभएकाले हो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई सिटहरुको उपयोग बढ्ने अपेक्षा गरिएको छ । अहिले त्रिभुवन विमानस्थल साँघुरो भएको हुँदा प्रयाप्त उडान हुन सकिरहेको छैन् ।

अध्यागमन विभागका अनुसार हवाइमार्ग भएर नेपाल आउने भारतीयहरूका कारण बढी हवाई यात्रुहरू देखिएका हुन् । सन् २०१० मा नेपाल र भारतका बीचमा पछिल्लो हवाइ सेवा सम्झौता (आशा) भएको छ । यो सम्झौताले नेपाल र भारत दुवै देशका हवाइ सेवा सञ्चालकहरूलाई नेपालको काठमाडौंदेखि भारतका २८ वटा सहरहरूमा यात्रु तथा सामान ओसारपसार गर्न बाटो खुलेको छ ।

यसबाट प्रतिहप्ता ६ हजारदेखि ३० हजार सिटसम्म यात्रु तथा असीमित कार्गो हवाइमार्गबाट ल्याउन–लैजान सहज भएको छ । नेपाल र भारतबीच भएको (आशा) सम्झौताका कारण नेपालका पोखरा, भैरहवा, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीजस्ता क्षेत्रीय विमानस्थलहरूबाट पनि भारतका वाराणसी, पटना, गया तथा लखनउजस्ता सहरसम्म उडान गर्न सकिन्छ ।

नेपाल आउने पर्यटकको अर्को ठूलो हिस्सा चिनियाँहरू हुन् । सन् २०१५ मा नेपाल भ्रमणमा आएका कूल पर्यटकहरूमध्ये १२ प्रतिशत चिनियाँहरू थिए । सन् २००३ मा नेपाल र चीनबीच भएको हवाइ सेवा सम्झौताले नेपालको काठमाडांै र चीनका विभिन्न सातवटा सहरहरूमा प्रतिहप्ता १० हजार सिट क्षमताका साथ उडान गर्न मिल्ने भएको छ ।

पर्यटकहरूको चाप उच्च हुने समयमा यी सिटहरू चीनका तर्फबाट पूर्ण उपयोग भएका छन् भने नेपालका तर्फबाट भने यो सुविधा उपयोग गर्न अझै बाँकी छ । हवाई सेवा सम्झौताअनुसार चिनियाँ विमान कम्पनीलाई नेपालको त्रिभुवन विमानस्थलमा हप्ताको १४ उडान भर्न अनुमति दिइएको छ ।

हाल यो सुविधा चीनका तीनवटा वायुसेवाहरूले उपयोग गरिरहेका छन् । सन् २०१३ को पहिलो ६ महिनामा यात्रुहरूको चाप ३५ प्रतिशतले बढेर चिनियाँ पक्षबाट बढी उडान अनुमतिका लागि जोड दिएकाले नेपाल सरकारले साताको १२ उडान थप्नका लागि अस्थायी अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment