१४ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने धेरै नेपाली कामदारहरु गन्तव्य मुलुकमा गएर समस्या भोग्नु वा अलपत्र पर्नु सामान्य जस्तै भइसकेको छ । पछिल्लो समयमा विदेशमा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।
म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासन भन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।
विदेश गएर अलपत्र परेपछि धेरैलाई छैन, कहाँ गएर सम्पर्क गर्ने ? परिवारलाई भन्दा घरपरिवारमा तनाव उत्पन्न हुने डरले युवाहरु एक्लै समस्या समाधानका लागि प्रयास गर्ने तर सफल नहुने गरेका उदाहरण प्रशस्तै छन् । यसरी विदेशमा दुःख पाउँदा नेपाल वा विदशेमै पनि कोसँग सहयोग माग्न सकिन्छ भन्नेमा अधिकांश कामदारहरु बेखबर छन् ।
दूतावास र श्रम सहचारी
यस्तो अवस्था आफ्ना सहकर्मी र आफन्तको सहयोगमा सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण हुन्छ । यसका लागि कामदारले आफू गएको देशको दूतावास र त्यहाँका अधिकारीको सम्पर्क नम्बर साथमा राख्नु आवश्यक हुन्छ । विदेश जानुअघि नै यसका लाग तयारी गरेमा कसैले पनि धेरै दुख भोग्नुपर्दैन ।
सरकारले विभिन्न देशमा आफ्ना कूटनीतिक नियोगहरुलाई आफ्ना नागरिकको हितका लागि काम गर्न जिम्मेवारी दिएको छ । श्रम गन्तव्य मुलुकमा नेपाली कामदार अलपत्र पर्ने घट्ना बढ्दै गएपछि धेरै कामदार भएको देशमा सरकारले श्रम सहचारीसमेत नियुक्त गरेको छ । केही नियोगहरुमा अलपत्र महिला कामदारलाई राख्न ‘सेफ हाउस’ को पनि स्थापना गरिएको छ । विदेशमा कुनै पनिखालका समस्या आइपरे सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा खबर गर्न श्रम तथा रोजगार मन्त्रालयले कामदारलाई आग्रह गरेको छ ।
‘वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्नका लागि श्रम सहचरीको व्यवस्था गरेका छौं’ मन्त्रालयका सहायक प्रवक्ता शिवराम सेढाँईले अनलाइनखबरसँग भने, ‘अलपत्र कामदारको उद्धारका लागि उनीहरुले पहल गर्छन्, त्यसैले उनीहरुलाई सम्पर्क गर्दा कामदारलाई घर फिर्तीका लागि सहज हुनेछ ।’
रोजागारदाता कम्पनीले सम्झौता पत्रमा उल्लेख भएअनुसारको पारिश्रमिक नदिएर या कुनै पनि किसिमको यताना दिएमा त्यसको जानकारी पनि नेपाली दूतावासलाई दिन सकिन्छ ।
सरकारले कामदारका यस्ता समस्याहरु समाधान गर्न उनीहरुलाई जिम्मा दिएको छ । दूतावास र श्रम सहचारीहरुले सम्बन्धित मुलुकका आधिकारिक निकाय र रोजगारदातासँग पत्राचार र वार्ता गरेर यस्ता समस्या समाधान गर्न सक्छन् । यस्तै घर फर्किनुपर्ने अवस्था भएर त्यसका लागि दूूतावासले आवश्यक सहयोग र पहल गर्ने रोजगार मन्त्रालयले जनाएको छ ।
प्रहरीको हटलाइन
त्यस्तै नेपाल प्रहरीले पनि विदशेमा अलपत्र कामदारको गुनासो सुन्न १७१७ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
प्रहरीको हटलाइनमा मलेसिया र खाडीबाट मात्र नभएर युरोपियन मुलुकबाट पनि नेपाली युवाले उद्धार माग्दै फोन गरेका छन् । रसिया, पोर्चुगल, साइप्रस लगायतका देशमा पुगेका धेरै युवाले प्रहरीसँग उद्धारका लागि आग्रह गर्छन् ।
आकर्षक कमाइ र स्थायी बसोबासको प्रलोभनमा पारेर युरोप पुर्याइएका युवाहरु अहिले उद्धारको प्रतिक्षामा छन् । सम्झौताअनुसार काम र तलब नपाएका कारण पनि उनीहरु उद्धार चाहिरहेका छन् ।
नेपालीहरु धेरै जाने ओमान, कतार, कुवेत, साउदी, दुबई, मलेसिया लगायतबाट उद्धार माग्नेहरुको संख्या ठूलो छ । प्रहरीको यो हटलाइन सेवा २४ सै घन्टा खुला राख्ने गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिँदैछ
रेपिड रेसपोन्स टीम
यसैगरी सरकारले विदेशमा अलपत्र कामदारको उद्धारका लागि छुट्टै सुनवाइ संयन्त्र पनि स्थापना गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो ।
टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धार लाग्न जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको टीमले विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि तुरुन्त पहल गर्नेछ ।
मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिँदैछ ।
टिमलाई विदेशमा अलपत्र महिला कामदारको गुनासो सुन्ने र महिला विदेश जानुअघि नै कम्पनीको वातावरण कस्तो छ भनेर बुझ्ने मुख्य जिम्मेवारी दिइएको छ ।
यो टिममा विदाको दिन बाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् । यस्तै यसको इमेल ठेगाना rrt@gmail.com मा पनि पीडितले सूचना गर्न सक्छन् ।
                    

                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4