Comments Add Comment

कार्यदलमा सहमति जुटेन, सीमांकन हेरफेर गर्ने सम्झौता गर्नु पर्ने मधेसी मोर्चाको माग

Congress,-mao-and-Morcha

१८ साउन, काठमाडौं । संघीयताबारे कांग्रेस, माओवादी र मधेसी मोर्चाको कार्यदलमा सहमति जुट्न सकेन । अब यसबारे शीर्ष तहमै सहमति खोज्ने सहमति भएको छ ।

सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले मधेसी मोर्चाको पनि समर्थन खोजेको छ । तर, उसले आफ्ना माग पुरा गर्ने लिखित सहमति हुनु पर्ने शर्त राखेपछि सहमति खोज्न तीन दलबाट तीन तीन जना रहेको कार्यदल गठन भएको थियो ।

सोमबार राति अबेरसम्म कार्यदलको बैठक बसेपनि सहमति जुट्न नसकेको एक सदस्यले बताएका छन् । मधेसी मोर्चाका अधिकांश मागमा कांग्रेस र माओवादी सहमत देखिएका छन् । आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषण, घाइतेको उपचार खर्च, पीडित परिवारलाई क्षतिपूर्ति लगायतमा कार्यदलमा सहमति जुटेको छ ।

तर, राजनीतिक मुद्धामा सहमति हुन बाँकी छ । मधेसी मोर्चाका तर्फबाट कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठका अनुसार अब शीर्ष तहमा नै सहमति खोजिनेछ । यसका लागि अहिले ९ बजे तीन पक्षका शीर्ष नेताहरुका बैठक बोलाइएको छ ।

स्रोतका अनुसार मधेसी मोर्चाले पहिचानका आधारमा संघीयता हुने भनेर सम्झौता गर्नु पर्ने माग गरेको छ । छलफलका क्रममा विगतमा भएको २२ र ८ बुँदे तथा अन्तरिम संविधानको धारा १३८ अनुसार प्रदेशहरुको सीमा र संख्या हेरफेर हुने उल्लेख गर्ने विकल्प पनि मधेसी मोर्चाको तर्फबाट पेश भएको थियो ।

तर, कांग्रेस र माओवादी सहमत भएको छैन । अब यसबारे शीर्ष स्तरमै सहमति खोजिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment