Comments Add Comment

प्रचण्डका ५ सेक्रेटः पछ्याइरहने विगत, चुनौतीपूर्ण वर्तमान

भारतको आश्रय र चीनको सुझावदेखि शेरबहादुरको ठट्टासम्म !

Prachanda_Profile

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं कम्युनिष्ट नेता पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रोपटक प्रधानमन्त्री पदमा आसीन भएका छन् । यस्तो बेला नयाँ प्रधानमन्त्रीको जीवनी या ‘प्रोफाइल’ पत्रपत्रिकामा छापिनु सामान्य परिघटना हो । प्रचण्डका गुण र दुर्गुणहरु लगभग आम नेपालीले आफैं केलाउन सक्ने स्थिति छ । यहाँचाहिँ हामीले उनका पाँचवटा ‘सेक्रेट’ पक्षलाई केलाउने सामान्य प्रयास गरेका छौंः

जतिबेला नेपालमा माओवादी ‘जनयुद्ध’को मञ्चन भइरहेको थियो, सामान्यतः त्यहीबेला प्रचण्डको नाम नेपालीहरुको दिमागमा चढ्यो । कतिपयलाई यस्तो पनि लागेको थियो कि ‘प्रचण्ड’ भ्रममात्रै हुन् र यो नामको वास्तविक पात्र चाँहि भूमिगत गिरोहका सञ्चालक ज्ञानेन्द्र शाह हुन् । भलै ०५७ सालदेखि पोष्टरमा र ०६३ साल साउनदेखि सशरीर सार्वजनिक भएपछि प्रचण्डमाथिको यो ‘भ्रम’ को पुरानो पर्दा हट्यो ।

रहस्यमय पात्रका रुपमा नेपाली राजनीतिमा उदाएका प्रचण्ड सार्वजनिक जीवनमा आएको १० वर्ष एक महिना बितेको छ । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले भूमिगत प्रचण्डलाई ०६३ साल साउनमा हेलिकोप्टर चढाएर बाबुराम भट्टराईसँगै सिक्लेसबाट काठमाडौं भित्र्याएका हुन् । त्यसयता प्रचण्डका सबै किसिमका ‘सेक्रेसी’हरु लगभग पटाक्षेप भइसकेका छन् । तर, उनी शान्ति प्रक्रियामा आएको १० वर्षको अवधिमा धेरैखाले भ्रमका पर्दाहरु च्यातिए पनि केही नयाँ रहस्यका पर्दा अझैसम्म हटेका छैनन् ।

१. पारिवारिक कथाः ढिकुरपोखरीदेखि लाजिम्पाटसम्म

पुष्पकमल दाहाल (प्रचण्ड) कास्कीको ढिकुरपोखरीमा वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका हुन् । उनका पिता मुक्तिराम दाहाल हुन् भने आमा भवानी दाहाल ।

प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरे । त्यसपछि उनले ०२७ देखि ०२९ सम्म पाटन बहुमुखी क्याम्पसमा आइएस्सी पढे । त्यसपछि ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएस्सी गरे । उनले एमपीएसम्मको अध्ययन गरेका छन् ।

प्रचण्डको शुरुको नाम छविलाल दाहाल थियो । १० कक्षामा उनले आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए । ०३८ सालदेखि ०६३ सम्म भूमिगत रहेका प्रचण्ड कल्याण, विश्वास, निर्माण र प्रचण्ड लगायतका विभिन्न नामबाट पार्टीभित्र चिनिन्थे ।

कास्कीबाट प्रचण्डको परिवार ०१९ सालमा चितवन शिवनगरमा बसाइँ सरेको हो । त्यहीँ रहँदा १५ वर्षकै उमेरमा प्रचण्डको ०२६ सालमा सीता पौडेलसँग विवाह भयो । उनीहरुबाट तीन छोरी र एक छोराको जायजन्म भएकोमा एक छोरीको गतसाल क्यान्सरबाट मृत्यु भयो ।

लाजिम्पाटमा पार्टीले उपलब्ध गराइदिएको भाडाको घरमा बस्दै आएका प्रचण्डका छोरा प्रकाश दाहाल उनका सहयोगीका रुपमा कार्यरत छन् । अर्की छोरी रेणु दाहाल पनि पार्टीमा सक्रिय छिन् ।

प्रचण्डले केही समय शिक्षकको भूमिका पनि निभाए । ०२९ सालमा उनले शिवनगरमा शिक्षकको भूमिका निभाएका थिए । ०३३ देखि ०३५ सम्म उनले नवलपरासीको डण्डा मावि र गोरखा आरुघाटको भीमोदय माविमा पढाए । ०३२ सालमा युएसएडमा जागिर खाए । एकताका उनले शाही सेनामा जागिर खाने सोचेका थिए, तर त्यता लाग्न सकेनन् ।

२. राजनीतिक यात्राः जंगलदेखि सिंहदरबारसम्म

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको समूहबाट ०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेर प्रचण्डको राजनीतिक यात्रा प्रारम्भ भएको हो । उनले ०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । ०३४ सालमा उनी निर्मल लामा र मोहनविक्रम सिंहहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन समूह) मा प्रवेश गरे ।

शुरुमा शिक्षण पेशासँग राजनीतिमा हात हालेका प्रचण्ड ०३५ सालमा पूर्णकालीन कार्यकर्ता (होलटाइमर) बने । त्यसपछि ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य हुँदै ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव र त्यसपछि ०४० सालमा युवकको केन्द्रीय अध्यक्ष बने ।

Prachand-horse-Riding

पार्टीगत राजनीतिमा प्रचण्ड ०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्यमा निर्वाचित भए । ०४६ सालमा पोलिटब्यूरो सदस्य बने । र, मोहन वैद्यलाई सेक्टरकाण्ड लागेसँगै कार्यवाहक महामन्त्री बनेका उनी ०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्रीमा निर्वाचित भए । ०५१ सालमा एकताकेन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो । ०५२ सालदेखि माओवादी पार्टीले प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गर्‍यो । ०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री प्रचण्ड पार्टीको अध्यक्ष बने । अहिलेसम्म उनी अध्यक्ष नै छन् ।

प्रचण्ड ०५८ सालमा जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर बने । यसक्रममा उनी केही वर्ष भारतमा आश्रय लिएर बसे । ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका उनी ०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनी ०६९ मा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट फेरि पार्टीको अध्यक्षमा निर्वाचित भए ।

पहिलो र संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित भएका प्रचण्ड दोस्रो संविधानसभामा सिरहा ५ बाट निर्वाचित भए भने काठमाडौ १० बाट पराजीत बने ।

प्रचण्ड विगतमा नियमित लेखहरु लेख्ने गर्थे । उनका रचनाहरु संकलन गरेर किताब पनि निस्किएका छन् । नेपाली क्रान्तिका समस्याहरु भाग १ देखि भाग ३ सम्म प्रकाशित छन् भने प्रचण्डका छानिएका रचना भाग १ र २ प्रकाशित छन् ।

३. प्रचण्डको सबल पक्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को व्यक्तित्व, वाकपटुता एवं परिस्थितिअनुसार लचक हुन सक्ने क्षमता उनका सकारात्मक पक्षहरु हुन् । उनी जड छैनन् । तुरुन्तै नयाँ निर्णय गर्ने र जोखिम मोल्ने क्षमता उनीसँग छ । उनी विपक्षीप्रति दीर्घकालीन ‘इगो’ राख्दैनन् र जोसुकैसँग पनि मिलेर अघि बढ्न सहज छन् । कमजोरी र गल्तीलाई सहजै आत्मसाथ गर्छन् ।

जनयुद्धमा जाने घोषणा गर्दा होस् वा सशस्त्र विद्रोहलाई शान्ति सम्झौतामा टुङ्याउने विषयमा नै किन नहोस्, प्रचण्डले जोखिमपूर्ण निर्णय गरेकै हुन् । भनिन्छ, राजनेता हुनका लागि भिजन र ह्याउ दुबै चाहिन्छ । प्रचण्डमा ह्याउ छ ।

प्रचण्डको अर्को सकारात्मक पक्ष भनेको उनको ‘हाइट’ हो । शान्ति सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्नेमध्ये एक जीवित नेता हुनुको नाताले उनले आफूलाई गिरिजाकै स्तरमा राखेर हेर्ने गरेका छन् । साथै भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले पनि प्रचण्डलाई नेपालका एक प्रखर नेताका रुपमा मान्यता दिने गरेको सौभाग्य छ उनीसँग ।

विद्रोहबाट पार्टी हाँकेर आएको अनुभवका कारण प्रचण्डमा पार्टी सञ्चालन गर्ने कूटिलता पनि देखिन्छ । भलै यतिबेला उनको पार्टी खिइएर सानो भएको अवस्था छ । तर, उनी महत्वाकांक्षी नेता हुन् । प्रचण्डको महत्वाकांक्षा, उनले हासिल गरेको उचाइ, जोखिमपूर्ण निर्णय गर्ने क्षमता र विद्रोहको पृष्ठभूमिलाई एकीकृत अभ्यासमा ढाल्न सके भने प्रचण्ड एकजना सम्भावना बोकेका नेता हुन् ।

४. प्रचण्डको ‘लिमिटेसन’

प्रचण्डका सबल पक्षहरु भन्दा उनका कमजोर पक्ष बढी देखिन थालेको छ पछिल्लो समयमा । जस्तो कि उनमा देखिने परिवर्तनशील व्यवहारलाई अस्थिर चिन्तनका रुपमा धेरैले लिने गरेका छन् ।

हुन त प्रचण्डले निश्चित अडान राखिराखेको भए शायद यतिबेला उनी जनयुद्धमा मारिइसकेका हुने थिए वा पेरुका गोञ्जालोजस्तै जेलमा हुने थिए । या त जंगलमै रहेर भारतीय नक्सलाइटहरुले जसरी गुरिल्ला युद्ध गरिरहेका हुने थिए । तर, प्रचण्डले त्यसो गरेनन् ।

शान्ति प्रक्रियामा आउनु प्रचण्डको सकारात्मक कदम भइकन पनि उनले यति धेरै उतार-चढाव र आवेगपूर्ण कामहरु गरे कि यसबाट उनको वैचारिक अडानमाथि नै प्रश्न उठ्ने गरेको छ । संविधान बनाउँदा प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपमा सम्झौता गर्नु, आदिवासी, जनजाति र मधेसीका मुद्दाहरुमा अडान राख्न नसक्नु र खासगरी संसदीय संघर्षमा आफूलाई अब्बल प्रमाणित गर्न नसक्नु प्रचण्डका कमजोरी हुन् ।

उनी पार्टीमा खुल्लापन भन्दा पनि अन्तरविरोधमा खेल्ने नीति लिन्छन् । मुलुकको राजनीतिमा पनि उनको तरिका यही नै रहने गरेको थियो विगतमा । तर, कतिपय समयमा उनी स्टेटम्यानसीप पनि देखाउन खोज्छन् । झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउने बेलामा प्रचण्डले राष्ट्रवादी अडान लिएका थिए । अहिले ओलीलाई हटाउँदा उनीमाथि भारतपरस्त नेताको आरोप लागेको छ । प्रचण्डको परिवर्तित कार्यनीतिको प्रतिक्रियास्वरुप यस्ता कुराहरु आउने गरेका हुन् ।

प्रचण्डले पार्टी सञ्चालनमा पनि जननीति अख्तियार गर्न सकेका छैनन् । उनी निश्चित कार्यकर्ता र विश्वासपात्र (एसम्यान)हरुबाट घेरिएर बस्छन् । र, उनीहरुकै कारण प्रचण्ड साँघुरिँदै गएका छन् । मोहन वैद्य र बाबुराम भट्टराईले छाडेर हिँडिसकेपछि प्रचण्डसँग भरपर्दो सहयोगी नेताको टीम छैन ।

संसदीय राजनीतिमा बादल क्षमताहीन प्रमाणित भइसकेका छन् । नारायणकाजीलाई प्रचण्डले भित्रीरुपमा विश्वास गर्दैनन् । देव गुरुङ, मणि थापा, जयपुरी घर्ती र मात्रिका यादवहरुले प्रचण्डलाई अहिले सल्लाह त दिन्छन्, तर यो सल्लाह अहिलेको संसदीय राजनीतिमा ‘डेट एक्स्पायर’ भइसकेको छ, जसले प्रचण्डको सेवा गर्न सक्दैन, फसाउनमा सहयोग गर्छ । छोटकरीमा भन्दा प्रचण्डको सचिवालय वा मुख्य टीम अशक्त छ । यो नै प्रचण्डको कमजोरीको मुख्य स्रोत हो ।

प्रचण्डमाथि पारदर्शिताको पनि प्रश्न उठ्ने गरेको छ । अमरेशकुमार सिंहदेखि अजय सुमार्गी हुँदै ल्हारक्याल लामासम्मको उनको उठबसलाई लिएर धेरै कुराहरु सुनिन्छन् । ल्हारक्यालले सभासदको टिकट पाउन अपार्टमेन्ट र गाडी दिएकोसम्मका चर्चाहरु राजनीतिको बजारमा व्याप्त छन् । यस्तो कुरा प्रचण्डको सचिवालयबाट न खण्डन हुन्छ, न खण्डन गरेर नै कसैले पत्याउने स्थिति छ ।

लगभग विजयकुमार गच्छदार, दीपक बाहोराकै जस्तो आर्थिक प्रश्नहरु प्रचण्डमाथि उठ्ने गरेका छन्, जुन प्रचण्डलाई कमजोर पार्ने एउटा गतिलो पक्ष बनेको छ ।

संसदीय विकृत राजनीतिको विरोध गर्दै विद्रोहबाट आएको माओवादीले सादगीपूर्ण एवं जनताप्रति उत्तरदायी खालको व्यवहार देखाउनुपर्ने हो । तर, प्रचण्ड पनि विजय गच्छदारको जस्तै विकृत एवं भ्रष्ट राजनीतिको पक्षपोषण गर्छन् भन्ने ‘पब्लिक पर्सेप्सन’ बनेको छ, जुन प्रचण्डको राजनीतिक ‘बिजनेस’मा सबैभन्दा ठूलो ‘घाटा’ हो ।

राजनीतिक हिसाबले भन्दाखेरि प्रचण्ड राजनीतिलाई जनताको शक्तिमा आधारित खेलभन्दा पनि ‘सम्भावनाहरुको खेल’ मान्छन् । प्रचण्डले बुझ्न नसकेको कुरो नै यही हो कि जनताबाटै कटिसकेपछि राजनीतिमा कुनै सम्भावनाहरु बाँकी रहँदैनन् । त्यसैले सम्भावनाहरुभन्दा पनि राजनीति भनेको जनताको समर्थन र विश्वासको खेल हो । र, जनताको विश्वास जित्नका लागि राजनेतामा ‘धनबल’ हैन, ‘नैतिक बल’ चाहिन्छ ।

दलगत सन्तुलनको जोड घटाउका आधारमा विश्लेषण गर्दा ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डका सामुन्नेमा नेकपा एमालेजस्तो बलियो प्रतिपक्ष छ । प्रचण्डका साथमा चाँहि कांग्रेस र मधेसवादीजस्ता अलोकप्रिय एवं सत्ताका भोका दलहरु र तिनका अलोकप्रिय नेताहरु छन् । साना कम्युनिष्टदेखि बाबुराम र विप्लवसम्म प्रचण्डको विपक्षमा खडा छन् । शहरको मध्यम वर्ग, मिडिया र ‘राष्ट्रवादी’ जनमत प्रचण्डमाथि शंकालु दृष्टिले हेरिरहेको छ । मधेसी र आदिवासी जनजातिहरुले पनि प्रचण्डलाई शंकालु नजरले नै हेरेका छन् । अन्तरराष्ट्रिय समुदायले प्रचण्डलाई शंकाको सुविधा दिइरहेको अवस्था छ । यो परिस्थितिमा प्रचण्डले आफ्ना कमजोरीहरु सुधारेनन् भने उनी असफल नेतामा रुपान्तरित हुने खतरा देखिन्छ ।

५. पछ्याइरहने विगत, चुनौतीपूर्ण आगत

प्रचण्डका सामुन्नेमा विगत, आगत र भविश्यको धुमिल चित्र देख्न सकिन्छ । उनी विगतबाट मुक्त छैनन्, जसलाई विगतको १० वर्षे जनयुद्धले जीवनभरि पछ्याइरहनेछ ।

जनयुद्धकालका हजारौं सहीद, घाइते, बेपत्ता परिवार एवं पूर्वलडाकूहरुका कारण प्रचण्डलाई विगतले सहजै बिर्सन दिँदैन । शेरबहादुर देउवा र केपी ओलीकोभन्दा प्रचण्डको विगत बढ्ता उल्झनपूर्ण एवं अनुबन्धपूर्ण छ ।

आगतको कुरा गर्दा प्रचण्ड असाध्यै चुनौती नै चुनौतीको भुङ्रोमाथि नाचिरहेको अवस्थामा छन् । वर्तमानमा गरिने सानोभन्दा सानो गलत निर्णयले उनको राजनीतिक भविश्य नै धरापमा पारिदिन सक्छ ।

एकातिर आगामी चुनावमा पार्टीको भोट झनै खस्कने डर छ भने अर्कोतिर संविधान कार्यान्वयन र शान्ति प्रक्रिया नै धरापमा पर्न सक्ने डर पनि छ । एमाले र कांग्रेसजस्ता ठूला शक्तिहरुसँग माओवादीले प्रतिस्पर्धा गर्नुपर्नेछ । जनजाति मधेसी, थारु लगायतका आफैंले उठाएका मुद्दाहरुको किनारा पनि आफैंले लगाउनुपर्ने स्थिति छ । आफ्नो पार्टी कमजोर मात्रै छैन, साथ दिनेहरुको पनि संकट छ । यो अवस्थामा प्रचण्डका लागि वर्तमान भोगाइ विगतको लखेटाइभन्दा जब्बर एवं चुनौतिपूर्ण देखिन्छ । र, उनको दलको राजनीतिक भविश्य पनि यही विगत र आगतको टकरावबाट उत्पन्न लाभाभित्र रुमलिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डका पाँच ‘सेक्रेट’हरु मूलतः यिनै हुन् ।

अन्त्यमा, तीन रोचक प्रशंग-

१.पछिल्लो समय शेरबहादुर देउवा र प्रचण्डको दोस्ती जमेको छ । केपी ओली नेतृत्वको सरकार ढाल्नुपूर्व उनीहरुवीच बाक्लै उठबस भयो । यसैक्रममा देउवाले एकजना माओवादीसँग प्रचण्डबारे जिज्ञासा राख्दै खुसुक्क सोधे- ह न प्रचण्डले कान सुन्दैनन् कि क्या हो ?

किन ? देउवाको संशयमिश्रित जवाफ थियो, मैले बोल्दा प्रचण्ड सधैं कानको छेउमा हात लगेर मतिर टाउको झुकाउँदै ‘के भन्नुभएको ?’ भनेर सोध्छन् त…!

प्रचण्डले कान नसुनेर होइन, देउवाको बोली नबुझेर यसो गरेको देउवाले ढीलोमात्रै थाहा पाएका छन् । तर, देउवाको नजरमा पनि प्रचण्ड एक सक्षम र ‘करिस्म्याटिक’ नेता हुन्, जसले उनलाई लोभ्याउन थालेको छ ।

देउवा-प्रचण्ड गठबन्धनका सूत्राधारहरुका अनुसार प्रचण्डबारे देउवाको टिप्पणी छः कस्तो मज्जाले मिलाएर बोल्छन् है प्रचण्ड ! मैले जति मिलाएर काम गर्ने ढंग नभए पनि उनलाई बोल्नचाँहि राम्रोसित आउँछ ! के गर्नु, आफूलाई त्यसरी बोल्न आउँदैन !’

२. आफ्नो पहिलो कार्यकालमा प्रचण्डले बादल समूहको बहकाऊमा लागेर रुक्माङगद कटवाल प्रकरण गराए । त्यसलगत्तै प्रधानमन्त्रीबाट राजीनामा दिएका उनले सरकारबाट हटेपछि चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई भेट्ने महत्वाकांक्षी योजना बनाए । प्रचण्ड हंगकंग गए । त्यसपछि बेइजिङ पुगे । अन्ततः उनले मोहन वैद्य र कृष्णबहादुर महरालाई समेत लिएर बेइजिङमा तत्कालीन चिनियाँ राष्ट्रपतिलाई भेटेरै छाडे ।

Prachand-Meets-Hu-Xintaoसो भेटमा प्रचण्डले नेकपा एमाले र विशेष गरी माधव नेपाल भारतको कठपुतली भएको बताएका थिए । भारतले नेपालमाथि हस्तक्षेप गरिरहेको र नेपालका सबै पार्टीहरु भारतको दलाल भएको भन्दै प्रचण्डले देश बचाइदिन चीनसित आग्रह गरेका थिए । आफूहरु चीनसँग मिलेर काम गर्न इच्छुक रहेको प्रचण्डले बचनबद्धता पनि प्रकट गरेका थिए बेइजिङसित ।

नेपालमा एउटा दलविरुद्ध अर्को दललाई प्रयोग गरेर अन्तरविरोधमा खेल्न माहिर प्रचण्डको महत्वाकांक्षी योजना थियो- नेपालका अन्य दललाई ‘भारतीय दलाल’ करार गरेर चीन र भारतसँग खेल्ने । तर, उनलाई हु जिन्ताओले बेइजिङबाट चिसोपानी खन्याइदिएर फिर्ता पठाए ।

त्यसबेला चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई आफ्नो देशका पार्टीहरुको विरोधमा कुरा लिएर नहिँड्न सुझाव दिएका थिए । चीनका लागि नेपालका सबै दलहरु समान भएको भन्दै हुले भारतसँग जोरी खोज्नुको साटो चीन, भारत र नेपालले आपसमा मिलेर अघि बढ्नुपर्छ भन्दै दक्षिण एशियाले अब एक्काइशौं शताब्दीको विश्वको नेतृत्व गर्नुपर्ने सुझाएर प्रचण्डलाई फिर्ता पठाए । प्रचण्डले काठमाडौं विमानस्थलमा ओर्लनासाथ भनेका थिए कि अब एशियाले विश्वको नेतृत्व गर्नुपर्छ । चीन र भारतलाई मिलाउने काम अब नेपालले गर्नुपर्छ ।

तर, चीनबाट फर्केको केही दिनमै प्रचण्डले हु जिन्ताओको सुझाव बिर्सिए । र, नयाँ बानेश्वरबाट भाषण गर्दै दिल्लीसँग सोझै वार्ता गर्ने कुरो गरे । यसबाट उनीसँग चीन पनि रिसायो र भारत पनि । खुशी तिनीहरु मात्रै भए, जो आफ्नै माओवादी पार्टीभित्र देब्रे कुनामा बसेका थिए । र, जसले दोस्रो संविधानसभामा प्रचण्डलाई तेस्रो दलमा खुम्च्याए ।

३- डा. तुलसी गरी नेपालका पुराना एवं बिरलाकोटीका राजनीतिज्ञ हुन् । मूलप्रवाहको राजनीतिसँग फरक मत राखेका कारण छायाँमा पर्दै आएका डा. गिरीले नेपालमा खासै आशलाग्दा नेताहरु देखेका छैनन् । उनको विचारमा प्रचण्ड सम्भावना बोकेका नेता हुन् । तर, प्रचण्डसँग भर गर्नै नसकिने केही बैगुन छन् ।

डा. गिरी कुनै पत्रिकालाई अन्तरवार्ता दिँदैनन् र मिडियामा औपचारिक रुपमा बोल्नसमेत चाहँदैनन् । तर, भेट गर्नेहरुले डा. गिरीको यस्तो धारणा सुनाउने गरेका छन्ः प्रचण्ड नेपालका समकालीन नेतामध्ये निकै अब्बल छन्, उनको संघर्षशील पृष्ठभूमि पनि छ । तर, उनको सबैभन्दा ठूलो कमजोरी भनेकै अडान नहुनु हो । उनी बिहान एउटा कुरा गर्छन्, बेलुका अर्कै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment