Comments Add Comment

श्रीमती आरजुलाई परराष्ट्रमन्त्री बनाउन देउवाको लबिङ

प्रचण्डको रोजाइमा शेखर

Sher-Bahadur-Deuba-and-his-wife-Arju-Rana,-Photo-Manoj-Kumar
शेरबहादुर देउवा र आरजु राणा । तस्वीर: मनोज कुमार

२६ साउन, काठमाडौं । शेखर कोइरालालाई दिएको बचन तोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाउन पहल गरेका छन् । तर, सरकारको नेतृत्वकर्ता दल माओवादी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अझै मानेका छैनन् ।

सत्तारुढ दुई घटकबीच परराष्ट्र मन्त्रालय कांग्रेसले लिने लगभग सहमति भएको छ । सुरुमा माओवादीले सुरेन्द्र (राम) कार्कीलाई पराराष्ट्र मन्त्री बनाउन चाहेको थियो । तर, कांग्रेसले आफ्नो दाबी छाडेन ।

त्यसबेला मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा आए उनलाई दिने बहस पनि दुई दलमा भएको थियो ।

तर, परराष्ट्र कांग्रेसले लिने सहमति भएपछि प्रधानमन्त्री प्रचण्डको सपथ लगत्तै भएको मन्त्रिपरिषद् विस्तारमा शेखर परराष्ट्रमन्त्री बन्ने अनुमान थियो ।

माओवादीले पनि कार्की नभए शेखरलाई भने परराष्ट्र मन्त्रालय छाडन सकिने बताएको थियो । तर, अन्तिम समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको नाम पठाएनन् ।

Dr-Shekhar-koirala-1
शेखर कोइराला

अहिले भने कांग्रेस सभापति देउवा आफ्नै पत्नी आरजुलाई परराष्ट्र मन्त्री बनाउन पहल थालेका छन् । ‘देउवाले पत्नी आरजूलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहनुभएको छ, तर, हामीले मानेका छैनौं,’ प्रधानमन्त्री निकट उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

माओवादीले भने परराष्ट्र आफूले नपाए शेखरलाई मात्र स्वीकार गर्न सक्ने संकेत गरेको छ । प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कांग्रेसबाटै बनाउने भए हाम्रो रोजाइमा शेखर कोइराला छन्, शान्ति प्रक्रियामा भूमिका खेलेको, मधेसलाई समेत बुझेको र छिमेकीहरुसँग सम्वन्ध सुधार्न शेखरसँग काम गर्न प्रधानमन्त्रीलाई सजिलो हुन्छ ।’

देउवाले भने यो सुझाव मानेका छैनन् । देउवा समूहमा शेखरलाई मन्त्री बनाउन नहुने ठूलो दबाव छ । धेरैले आरजुको नामको विरोध गर्न सकेका छैनन् । तर, उनी नभए प्रकाशशरण महतलाई अघि सार्नु पर्ने तर्क देउवा समूहमा छ ।

विगतमा गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउँदा देउवा पक्षका नेताहरुले परिवारवाद लादेको आरोप लगाएका थिए । अहिले देउवाले यही परिवारवादको पदचाप पछ्याएको आरोप कांग्रेसभित्रै लाग्न थालिसकेको छ ।

तर, अब परराष्ट्रमन्त्री डा. आरजु बन्छिन् कि डा. शेखर ? यो चाहिँ साउनभित्रै खुलासा भइसक्ने छ । किनभने साउनभित्रै मन्त्रालयलाई पूर्णता दिइसक्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment