Comments Add Comment

महावीरको अभियानलाई इनोभेटिभ युथ मुभमेन्टको आर्थिक सहयोग

केपी ओलीले आफ्नो मागलाई गम्भीरतापूर्वक लिएको पुनको भनाइ

mahabir pun२८ साउन, काठमाणडौ । सामाजिक अभियन्ता महावीर पुनद्वारा घोषणा गरिएको राष्ट्रिय आविस्कार केन्द्र निर्माण अभियानमा सहयोग गर्न गठित इनोभेटिभ युथ मुभमेन्टद्वारा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अन्तरक्रिया सम्पन्न भएको छ । सो कार्यक्रममा युवाहरुले अभियन्ता पुनलाई सहयोग रकमसमेत हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै अभियन्ता पुनले आविष्कार केन्द्रको निर्माण राष्ट्रिय विकासका लागि कोशेढुङ्गा सावित हुने बताए । विगतमा राज्यसँग आविष्कार केन्द्र निमार्णका लागि पटक-पटक अनुरोध गरिएता पनि कुनै सुनुवाइ नभएकाले आफु जनताका वीच आएको बताए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मागलाई गम्भीरतापूर्वक लिएर आवश्यक रकम विनियोजनको लागि पहलकदमी लिएको भएता पनि सरकारी जटिल संरचनाका कारण कार्यान्वयन हुन नसकेकाले आफु निराश भएको र अव आइन्दा राज्यसँग हात नफैलाउने पुनले बताए । बरु जनताको ढोका ढकढकाउने निश्कर्षका साथ जनतावीच आएको पुनले कार्यक्रममा बताए ।

अभियन्ता महावीर उपस्थितिमा विहीबार सम्पन्न कार्यक्रममा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन डा. चिरिक सोभा चित्राकार, पोखरा विश्वविद्यालय विज्ञान संकायका डीन इन्जिनियर बुद्धिराज जोशी, वरिष्ठ भौतिकशास्त्री प्रा.डा. उदयराज खनाल, वैज्ञानिक प्रा.डा. मदनराज खनाल, प्रा.डा. मेघराज पोखरेल, प्रा.डा. केदार रिजाल, प्रा.डा. टंकनाथ धमला र प्रा.डा. रजनी मल्ल लगायत विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रममा इनोभेटिभ युथ मुभमेन्टका संयोजनकर्ता तथा राष्ट्रिय युवा परिषदका सदस्य खिम पन्थीले राजनीतिक नेतृत्वले विज्ञान तथा प्रविधिलाई बुझ्न नसक्नु नै विज्ञान क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण रहेको बताए । अबको युग सम्वृद्धिको भएकाले  विज्ञान तथा प्रविधिको विकासविना आर्थिक उन्नति असंभव प्रायः हुने भएकाले राज्यको प्राथमिकताको क्षेत्र विज्ञान तथा प्रविधिको विकास हुनुपर्नेमा पन्थीले जोड दिए ।

कार्यक्रममा विद्यार्थी तथा प्रध्यापकबाट संकलित रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै अभियन्ता तथा युवा वैज्ञानिक रामचन्द्र कँडेलले यो अभियानलाई देशव्यापीरुपमा सञ्चालन गर्ने र आविष्कार केन्द्रको निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यले इनोभेटिभ युथ मुभमेन्ट गठन गरिएको बताए ।

कार्यक्रमको सञ्चालन युगल पौडेलले गरेका थिए । संकलित रकमको हस्तान्तरण अभियन्ता तथा विद्यार्थी नेता प्रदीप थपलियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment