Comments Add Comment

नेपाल भर्सेस नेदरल्याण्ड्सः पाँच ‘सानो प्रतिस्पर्धा’, जसले जित हार तय गर्छ

nepal-vs-neatherland-२९ मंसिर, काठमाडौं ।  विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपालले आज आम्स्टलभीनमा घरेलु टोली नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ ।

नेपाल र नेदरल्याण्डबीच अर्को दोस्रो खेल पर्सी हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने लक्ष्य राखेको नेपालका लागि दुबै खेल निकै महत्वपूर्ण छ । जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टोलीले कम्तिमा एक खेल जित्ने लक्ष्य बनाएको छ ।

यो खेलको निर्णयमा प्रभाव पार्न सक्ने दुबै टिमका पाँच खेलाडी को को हुन् त ?

१.

सोमपाल भर्सेस माइबर्ग

Sompal vs Mayburgh

यदि नेदरल्याण्ड्सले घरेलु मैदानमा नेपालबिरुद्ध जित हासिल गर्ने हो भने उसका ओपनिङ ब्याट्सम्यान स्टेफन माइबर्गको भूमिका महत्वपूर्ण हुनेछ । कम्तिमा यसअघिको इतिहासले यहि बताउँछ । नेपालबिरुद्ध उनको प्रदर्शन यसअघिका खेलहरुमा अस्वभाविक छ ।

गत बर्ष भएको चार टी-ट्वान्टीको शृङखलामा उनलाई नेपाली बलरले आउट गराउनै सकेका थिएनन् । श्रृंखलामा उनले २ खेलमात्र खेलेका थिए, जसमा पहिलोमा ६७ र तेस्रोमा ७१ रनको अविजित पारी खेलेका थिए ।

माइवर्ग सामान्यतः सुरुवाती ब्याटिङमा आउँछन् । उनले नेपालका ओपनिङ बलर सोमपाल कामीको सामना गर्नेछन् । इनिङको सुरुवातमै माइबर्गमाथि सोमपाल हावी हुन सकेभने धेरै हदसम्म नेपालले खेल आफ्नो पक्षमा पार्न सक्छ ।

२.

रिप्पोन भर्सेस भेषावकार

Rippon (the bowler) vs Sharad

बायाँहाते स्पिनर अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कम भेटिन्छन् । बायाँ हातको स्पिनर शैलीले बललाई एक अजीव कोण बनाउँछ । यस्तोमा ब्याट्सम्यानलाई निक्कै कठिन हुन्छ ।

माइकल रिप्पोन तिनै खेलाडीहरुमध्येका एक हुन् । उनी ब्याट्सम्यानलाई खुल्न नदिइ घातक बलिङद्वारा विपक्षीको इनिङ ध्वस्त पार्छन् ।

नेपालका सबैभन्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकार र रिप्पोनबीचको खेल दर्शनीय हुनेछ । शरद तेस्रो नम्बरमा ब्याटिङमा आउने सम्भावना छ । नेपाली इनिङको मध्यक्रमको जिम्मेवारी उनैको काँधमा छ । यसका लागि उनले रिप्पोनको सामना गर्नुपर्नेछ ।

३.

पारस भर्सेस मलिक

Paras vs Malik

अशान मलिक तीव्र बलिङ गर्छन् र विपक्षीलाई सहज रुपमा रन दिँदैनन् । फाष्ट पिचमा बिशेष गरी नेपालबिरुद्ध उनी प्रभावशाली बन्न सक्छन् । विश्वकप छनौटका क्रममा नेपालबिरुद्ध उनले ३ विकेट लिएका थिए । विश्व क्रिकेट लिग डिभिजन टू मा पनि २ विकेट लिएका थिए । गत बर्षको नेपालबिरुद्धको टी-ट्वान्टी सिरिजमा उनले ४ खेलमा ११ विकेट चड्काएका थिए । जसमा शरद र ज्ञानेन्द्रको पनि विकेट सामेल छ ।

नेपालका कप्तान पारस खड्का पनि तीव्र गतिबा बलरबिरुद्ध ब्याटिङ गर्न माहिर मानिन्छन् । तर, उनी रन रेट सुधार गर्न लाग्दा आउट हुने गरेका छन् । यसैका कारण यी दुईबीचको खेल रोमाञ्चक हुन सक्छ ।

४.

सागर पुन भर्सेस भान डर मार्भे

Sagar vs van der Merwe

रोल्फ भान डर मार्भे डच टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । ब्याट र बल दुवैमा उनको खुवी उत्तिकै छ । टी-ट्वान्टी श्रृंखलाको चौथो खेलमा उनले ४० रन र दुई विकेट लिएबाट यो पुष्टि हुन्छ ।

उनी एक रन लिएर स्ट्राइक रोटेट गर्न पनि प्रभावशाली मानिन्छन् ।

नेपाली अलराउण्डर सागर पुन, जो कभर र प्वाइन्टमा तैनाथ हुन्छ । उनका लागि यो उल्लेखनीय खेल हुनेछ । सागरले मार्भेलाई रोक्न सक्लान ? आज केहि घण्टापछि थाहा भैहाल्छ ।

५.

ज्ञानेन्द्र भर्सेस भान मीकर्न

Gyanendra vs van Meekern

भान मीकर्न नेपालबिरुद्ध धेरै विकेट लिने बलर होइनन् । तर, नेपालबिरुद्धको यसअघिको प्रदर्शनको समीक्षा गर्दा उनी महत्वपूर्ण समयमा विकेट लिनसक्ने बलरको रुपमा चिनिन्छन् ।

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र मीकर्नबीचको खेल केहि रोमाञ्चक बन्न सक्छ । नेपालका लागि ज्ञानेन्द्रको पारी महत्वपूर्ण हुन्छ र भान मीकर्नको आदत पनि महत्वपूर्ण समयमा विकेट लिने छ ।

यो अझै निश्चित भइसकेको छैन कि डच कप्तान पिटर बोरेन खेल्छन् या खेल्दैनन् । यदि यी अलराउण्डर खेले भने नेपालको पूरै टिम र उनकोबीचको प्रतिस्पर्धाजस्तो देखिन सक्छ ।

अनलाइनखबर अंग्रेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment