Comments Add Comment

हिमालयन बैंकले यो वर्ष ९५ प्रतिशतसम्म बोनस दिने सम्भावना

३ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको हिमालयन बैंकले चालू आर्थिक वर्षमा लगानीकर्तालाई कति लाभांस देला ? लगानीकर्ताका लागि अहिले मुख्य चासोको विषय हो यो ।

himalayan-bank_11111111111बैंकले प्रकाशित गरेको वित्तीय विवरण र चालू आर्थिक वर्षभित्रै चुक्ता पुँजी बढाउनुपर्ने बाध्यात्मक व्यवस्थालाई नजरअन्दाज गरी विश्लेषण गर्दा बैंकले सेयरधनीलाई अधिकतम ९५ प्रतिशतसम्म बोनस सेयर दिनसक्ने संभावना देखिन्छ ।

किनभने हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । तर, बैंकलाई यसै आर्थिक वर्षभित्र अर्थात् ०७४ असार मसान्तसम्ममा बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने दबाब छ ।

तर, यो शर्तमा मात्रै बैंकले लगानीकर्तालाई ९५ प्रतिशत बोनस सेयर दिने छ कि, बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन मर्जर वा एक्वायरमा जाने छैन ।

बैंकले ९५ प्रतिशत बोनस सेयर दिनु भनेको १०० कित्ता सेयर हुनेले बोनसबापत ९५ कित्ता सेयर प्राप्त गर्नु हो । अहिले बैंकको एक कित्ता सेयरको मुल्य १५ सय ७० रुपैयाँ छ । बैंकले ९५ कित्ता सेयर दियो भने अहिले १०० कित्ता हुने सेयरधनीले आजको मुल्यमा बैंकबाट १ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बोनस पाउने छन् ।

तर, बैंक सञ्चालक समिति र व्यवस्थापन एउटा पनि संस्थालाई मर्ज वा एक्वायर नगरी अघि बढ्ने मनस्थितिमा नभएको बताउँछन् । मर्जर वा एक्वायरमा जानै नसक्ने अवस्था आयो भने मात्रै बैंकले बोनस सेयरमार्फत चुक्ता पुँजी बढाउने हो ।

अब प्रश्न उठ्छ, चुक्ता पुँजी बढाउनका लागि बैंक मर्जर वा एक्वायरमा गयो भने चाहीँ लगानीकर्ताले कति बोनस सेयर पाउलान् त ? यस्तो अवस्थामा पनि यो बैंकका सेयरधनीले कम्तीमा ३० देखि बढीमा ५०/६० प्रतिशतसम्म बोनस सेयर पाउने देखिन्छ ।

बैंकले गत वर्ष कमाएको नाफाबाट २० प्रतिशत रकम सञ्चित कोषमा लगेर पनि ३४ प्रतिशतसम्म बोनस सेयर दिनसक्ने हैसियत राख्छ । तर, ३४ प्रतिशतमात्रै बोनस सेयर दिँदा बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ मात्रै पुग्छ ।

त्यसैगले ५० प्रतिशतसम्म बोनस सेयर दियो भने चुक्ता पुँजी ६ अर्ब ७५ करोड र ६० प्रतिशत बोनस दियो भने ७ अर्ब १९ करोड रुपैयाँ पुग्छ । यस अर्थमा बैंकले ५० प्रतिशत बोनस दिएर १ अर्ब २५ करोड वा ६० प्रतिशत बोनस दिएर ८ अर्ब पुर्‍याउन बाँकी रहेको ८१ करोड रुपैयाँ मर्जर वा एक्वायरबाट जुटाउने संभावना बढी देखिन्छ ।

यसलाई आधार मानेर विशलेषण गर्दा बैंकले रिजर्भरमा रहेको पौने २ अर्ब रुपैयाँसम्म बोनस सेयरमार्फत चुक्ता पुँजी बढाउनका लागि उपयोग गर्ने देखिन्छ । हाल बैंकको रिजर्भमा ४ अर्ब ५५ करोड ५० लाख रुपैयाँ छ । रिजर्भमा भएको रकमलाई बोनस सेयर जारी गरी चुक्ता पुँजीमा स्थानान्तरण गर्न मिल्छ ।

गत आर्थिक वर्षको मौदि्रक नीतिमा नियामक राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्म्ले बढाउनुपर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकको यो व्यवस्थाकै कारण चुक्ता पुँजी बढाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो हैसियतले भ्याएसम्म बोनस सेयर वितरण गर्नेछन् । बोनस सेयरकै आशामा गत वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाहरुको सेयर मूल्य आकाशिएको छ ।

तर, बैंक तथा वित्तीय संस्थाले यो वर्ष लाभांसको घोषणा गरिसकेपछि भने सेयरमुल्य विगतमा जस्तो नबढ्न सक्ने संभावना निकै बलियो छ । किनभने ८ अर्ब चुक्ता पुँजी पुर्‍याइसकेपछि पुँजी अनुसारको नाफा गर्न कठिन हुने र २ अर्ब रुपैयाँ नै नाफा कमाए पनि २० प्रतिशतभन्दा बढी लाभांस दिन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment