Comments Add Comment

गाईजात्राको महिमाः स्वर्गको ढोका खुल्ने विश्वास

नेपालमा ६ सय वर्ष भयो गाईजात्राको इतिहास

Gaijatra-(7)३ भदौ, काठमाडौं । गाईजात्रा खासगरी नेवार समुदायले मनाउने पर्व हो । यो पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइन्छ ।

जनैपूणिर्माको भोलिपल्ट मनाइने गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गरिन्छ । वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा यो पर्व मनाइन्छ ।

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, मृतात्माहरूको सम्झनामा मनाइने यो पर्व मृत्यु गणना पनि हो । दिवंगत भएका परिवारबाट गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गराइने भएकाले देशभरि वर्षभरिमा कति मान्छे मरेका रहेछन् भनेर त्यसबाट थाहा हुन्छ ।

यो पर्व नेवार संस्कृतिबाट सुरू भए पनि गाईजात्राको दिनमा विभिन्न सामाजिक र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिने भएकोले नेपाली समाजमा यसको आयाम फराकिलो छ । यस क्रममा व्यङ्ग्यात्मक कार्यक्रम र प्रहसनको आयोजना गरिन्छ ।

गाईजात्राको सुरुवातबारे विभिन्न ऐतिहासिक र लोकजीवनका किंवदन्ती रहे पनि संस्कृतिविद्हरूले स्पष्ट प्रमाण जुटाएका छन् । रानी पुत्रशोकमा डुबेपछि प्रताप मल्लले गाईजात्राको प्रचलन सुरु गरेको बताइए पनि उनका पूर्वजदेखि नै यो जात्रा मनाउन थालिएको प्रमाण रहेको संस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

उनका अनुसार, पूर्वमध्यकालका राजा जयस्थिति मल्लको पालामा रचिएको गोपाल वंशावलीमा ‘सायात’ अर्थात् गाईको यात्रा गराउने भनेर उल्लेख भएको पाइन्छ । यस्तै, लिच्छविकालको अभिलेख गोयुद्धमा समेत गाईजात्राको बारे उल्लेख गरिएको छ ।

आजभन्दा ६ सय वर्षअघि मनाउन सुरु भएको गाईजात्रामा समय क्रममा विभिन्न विधि-विधान थपिएर भव्य रूपमा मनाउन थालिएको पाइन्छ । गाईजात्राको दिन स्वर्गको ढोका खुल्ने र गाईको पुच्छर समातेर वैतरणी नदी पार गरेपछि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक मान्यता रहेको पाइन्छ ।

मृत्यु भएर सद्गति नभएकाहरूको सीधै स्वर्गमा बास होस् भन्ने मूल अभिप्रायले गाईजात्रा मनाइने संस्कृतिविद्हरू बताउँछन् ।  ‘जन्म र मृत्युको बन्धनबाट मोक्ष मिलोस् र मानव मात्र नभई सारा जीवहरूको उद्धार होस् भन्ने अभिप्रायले गाईजात्रा मनाइन्छ,’ संस्कृतिविद् श्रेष्ठले बताए ।

खासगरी भाद्र शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा जनै पूणिर्माको भोलिपल्ट मुख्य रूपमा मनाइन्छ । गाईजात्राको प्रमुख आकर्षण विशेष गरी भक्तपुरमा नाचिने विशिष्ट मौलिक नाच घिन्ताङघिसी पनि हो । यो नाच जोडी-जोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । यसका साथै हनुमान नाच, बाँदर नाच, लाखेनाच, भैरवनाच, ख्या त्याख लगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिन्छ ।

ठाउँअनुसार गाईजात्रा मनाउने तरिका पनि फरक छन् । गाईजात्रा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बसोबास रहेका अन्य जिल्लामा पनि मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment