Comments Add Comment

गाउँमा ‘पशु डाक्टर’ बन्नुहोस्, स्वरोजगार हुनुहोस् !

यसरी सिर्जना गर्न सकिन्छ रोजगारीको अवसर

Animal-Doctor
५ साउन, काठमाडौं । गाउँहरुमा अझै पनि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरु भेटिन्छन् । गाउँ-टोलमा साना भेटेरिनरी फर्मा चलाउनेदेखि पशुमा देखिने स्वास्थ्य समस्यको उपचारमा उनीहरुको सक्रियता देखिन्छ । तर, अझै थुप्रै त्यस्ता गाउँ छन्, जहाँ पशुपंक्षीमा देखिएका स्वास्थ्य समस्या र रोगहरु निदानका लागि ‘ईश्वरको भर’ पर्नुपर्ने अवस्था छ ।
 
व्यवसायिक सीप तथा तालिम विकास परिषद् (सीटीइभीटी)का सूचना महाशाखाका अधिकृत संग्राम गौतम भन्छन्-‘कृषि तथा पशुपालनमा आश्रति गाउँघरका युवाहरुले पशु स्वास्थ्य सेवाबारे तालिम लिए रोजगारीको बाटो पनि खुल्छ । गाउँघरमा पनि पशुपालक कृषकहरुलाई सहज हुन्छ ।’
 
ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका रुपमा काम गर्नेहरु स्वरोजगार हुन्छन् । व्यवसायिक पशुपालनको क्रम बढ्दै गर्दा पशु स्वास्थ्य उपचारको तालिम लिएकाहरुलाई जीवन निर्वाहका लागि आयआर्जन गर्न विदेश नै जानुपर्दैन । व्यवसायिक पशुपालन हुने क्षेत्रमा स्वास्थ्य कार्यकर्ताका रुपमा काम गरे आम्दानी पनि राम्रो हुन्छ ।
 
आफैं पशुपालनमा संलग्न हुनेहरुले पहिलो यो तालिम लिए व्यवसायमा ठूलो हैरानी ब्यहोर्नुपर्दैन । अहिले पशुपालन सुरु गर्नुअघि यो तालिम लिनेहरु बढेका छन् ।
 
यसले पशुपंक्षीमा देखिने स्वास्थ्य समस्याबारे आधारभूत ज्ञान दिने भएकाले रोगकै कारण व्यवसायमा पर्ने जोखिम घटाउन यो आवश्यक पनि भएको अधिकृत गौतम बताउँछन् ।
 
को हो पशु स्वास्थ्य कार्यकर्ता ?
 
ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिएपछि पशुपंक्षीमा लाग्ने रोग र त्यसको उपचारबारे आधारभूत ज्ञान प्राप्त हुन्छ । यो तालिमपछि गाउँ घरमा गएर साना भेट फर्मामार्फत पशु स्वास्थ्य सेवा दिन सकिन्छ ।
 
पशुपालन प्रविधिसँग परिचित हुन यो तालिम अवश्यक छ । पशुपालनमा प्रयोग हुने औजार/उपकरण प्रयोग गर्न पनि तालिममा सिकाइन्छ । यस्तो तालिममा यस्तै औजार उपकरणहरु निसंक्रमण गर्न, नमूना संकलन/परीक्षण गर्न, पशुलाई काबुमा ल्याउन, स्वस्थ्य/अस्वस्थ्य पशु छुट्याउन, सामान्य रोगहरु पहिचान गर्न र पशुको उपचार गर्न सिकाइन्छ ।
 
यस्तै पशुलाई खोप दिन, औषधि खुवाउन, सामान्य चिरफार गर्न, प्राथमिक उपचार गर्न पनि तालिम लिएका पशु स्वास्थ्य कार्यकर्ताले जान्दछन् ।
 
गोठ/खोरको व्यवस्थापन गर्न, पशुको बन्ध्याकरण गर्न, नश्ल सुधार गर्न, गर्भिणी तथा नवजात पशु स्याहार गर्न पनि यो तालिममा सिकाइन्छ । पशु आहाराको व्यवस्थापकीय कार्य गर्न, उद्यमशीलता विकास गर्न र र अन्यसंग संचार गर्न पनि तालिमकै क्रममा सिकाइन्छ ।
 
यस्ता कामका लागि गाउँ घरमा दक्ष प्राविधिकहरु छैनन् । त्यसैले यिनै सेवा दिएर त्यसबापत निश्चित शुल्क उठाएर पशु स्वास्थ्य कार्यकर्ताले राम्रो कमाइ गर्न सक्छन् ।
पछिल्लो समयमा स्नातक पढेका युवाहरु पनि यही तालिम लिएर गाउँ फर्किएको र स्वरोजगार बनेको उदाहरण प्रशस्तै रहेको सीटीइभीटीले जनाएको छ ।
तालिम कसलाई ?
यो तालिमको अवधि ३९० घण्टा अर्थात तीन महिनाको हुन्छ । सीटीईभीटीले यसैअनुरुप कोर्सको डिजाइन गरेको छ । कम्तिमा कक्षा ८ उत्तीर्ण भएकाहरुले यो तालिममा सहभागिता जनाउन सक्छन् । यस्तो व्यवसाय र पेशामा अभिरुचि राख्नेहरुका लागि यो विशेष नै हुन्छ ।
 
एउटा कक्षामा २० जनासम्म राखेर तालिम दिइन्छ । नेपाली वा अंग्रेजी दुबै भाषामा तालिम सिक्न पाइन्छ । तालिम अवधिभर ८० प्रतिशत उपस्थिति हुनैपर्छ । उमेरमा कम्तिमा १६ बर्ष पुगेकाहरु तालिमका लागि योग्य हुन्छन् ।
तालिम कसरी लिने ?
 
यो तालिम प्रायः गरी निःशुल्क दिने गरिएको छ । सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न परियोजनामार्फत यसको तालिम नि:शुल्क चलाइरहेका छन् ।
 
सीटीटीभीटीसँग सम्बन्ध लिएका संस्थाहरुले पनि विभिन्न निकायको समहयोगमा यस्तो लालिम सञ्चालन गरिरहेको अधिकृत गौतमले बताए । शुल्क लिएर तालिम चलाउनेहरुले भने १२ देखि १५ हजार रुपैयाँसम्म लिन्छन् ।
 
तर, यो तालिम लिएपछि स्वरोजगारीको बाटो भने खुल्छ । किनभने पशुपालन गर्ने कृषकदेखि केही गर्छु भन्ने युवालाई यसले गाउँमै रहेर काम गर्न प्रोत्साहित गर्छ । शहरी क्षेत्रमा नै बसेर पशुपालन गर्नेहरुलाई पनि यो तालिम उपयोगी हुने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment