Comments Add Comment

अमेरिकामा वाइवाइ उद्योग स्थापना गर्ने चौधरी ग्रुपको योजना

Binod-Chaudhary

६ भदौ, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

अमेरिकामा रहेका नेपालीहरुसँग शनिबार अमेरिकी शहर ड्यालस र आइतबार लस एञ्जेल्समा छलफलको क्रममा चौधरीले नेपाली व्यवसाय विस्तारको योजना सुनाए । ‘म सानैदेखि सपना देख्ने मान्छे, त्यो पनि राति होइन दिनमा । मेरो सपना थियो नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी खोल्ने’ चौधरीले भने, ‘त्यही सपनालाई पछ्याउँदै यहाँसम्म आइपुगेको छु ।’

गैरआवासीय नेपाली संघ अमेरिका कोअर्डिनेशन कमिटीका स्थानीय च्याप्टरहरुमार्फत अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायसँग व्यावसायिक सफलता विषयमा छलफल गर्ने क्रममा हाल विनोद चौधरी अमेरिका भ्रमणमा छन् ।

आफ्नो ग्रुपको लगानी विस्तारका सम्बन्धमा चौधरीले सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत उदीयमान र नयाँ सोचका नेपाली युवाहरुलाई प्रोत्साहित गरी कम्पनी खोल्न प्रेरित गरे । ‘तपाईंहरुसँग विश्वलाई बदल्न सक्ने क्षमता छ,’ चौधरीले भने, ‘तपाईंहरु नयाँ सोच लिएर आउनुहोस्, सिलिकन भ्यालीमा जम्ने र नेपाली पौरख स्थापित गर्ने स्तरको योजना लिएर आउनुहोस्, म तपाईंहरुलाई साथ दिन तयार छु ।’

अन्तर्राष्ट्रिय स्तरमा नेपाली व्यवसायको विस्तारमा गैरआवासीय नेपालीहरुले खेलेको विशेष भूमिकाको चौधरीले प्रशंसा गरे । ‘तपाईंहरुको प्रयासले विदेशी भूमिमा नेपाली आत्मसम्मानको रक्षा भएको छ, जसका लागि तपाईंहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

‘नेपाल धनी नभएसम्म तपाई हामी कसैको स्वाभिमान उँभो लाग्दैन, त्यसो हुँदा नेपाल बन्नुपर्छ,’ अमेरिकामा व्यवसाय गरिरहेका नेपालीसँग कुरा गर्दै उनले भनेका छन्, ‘नेपाललाई धनी बनाउने कुरामा हामी सबैले आप\mनो तर्फबाट भूमिका निर्वाह गर्नु जरुरी छ ।’

व्यावसायिक सफलताको सूत्र सुन्न उत्सुक नेपाली समुदायलाई उनले भने, ‘अरुलाई फलो गरेर धेरै अघि जान सकिँदैन, अघि बढ्ने हो भने अरुलाई उछिन्नैपर्छ ।’ राष्ट्रिय अर्थतन्त्र र निजीक्षेत्र दुवैको विकासमा उदार अर्थव्यवस्थाको महत्व रहेको बताउँदै उनले सन् १९९० पछि चौधरी ग्रुपले विदेशमा लगानी नगरेको भए अहिले पहिलो नेपाली अर्बपतिको सूचीमा आफू नपर्ने समेत बताए ।

हाल नेपालका छवटा र भारतका आठवटा प्लान्ट (उद्योग) हरुमा वाइवाइको उत्पादन भइरहेको छ ।

न्यूयोर्कको जोन एफ केनेडी विमानस्थालमा रहेको र्‍याडिसन होटलमा चौधरी ग्रुपको लगानी रहेको छ । चौधरीले होटललाई पुनरसंरचना गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment