‘हजुरका बाको एकतारे अहिले कहाँ छ ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो ।
‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला ।’
हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग । सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन् । र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु – मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो ।
हरेक शुक्रबार ‘गुड फ्राइडे’ मनाउने म अहिले बुझ्छु, मेरा पिताका साथीसंगाती थिएनन् । एक्लो हुनुहुन्थ्यो । त्यसैले होला, उहाँ आझ्नो एक्लोपन हटाउन एकतारे बजाउनुहुन्थ्यो । किताब पढ्नुहुन्थ्यो । कहिलेकाहीँ त गणितका अप्ठ्यारा-अप्ठ्यारा हिसाब गर्नुहुन्थ्यो । मेरा पितासित उच्चशिक्षाको सर्टिफिकेट थिएन । उहाँले स्वअध्ययन गर्नुभएको थियो। अंग्रेजी, विज्ञान, गणित र इतिहासमा यति दक्ष हुनुहुन्थ्यो कि मौका पाएको भए, कुनै युनिभर्सिटीबाट ‘डा.’ लिएर आउनुहुँदो हो ।
तैपनि मेरा पिता कैलालीका धेरै गाउँमा ‘चपाईं डाक्टर’ भनेर चिनिनुभो ।
एकपल्ट आमाले सुनाउनुभएको थियो : सुर्खेतको पलैटे छँदा सानैमा पहिलो दुई बच्चा दादुराले बिते । दिदी जन्मिन्, दाइ जन्म्यो । दाइ पनि दादुराले ग्रस्त भयो । पिता त्यहीँको प्राथमिक स्कुलमा हेडसर हुनुहुन्थ्यो । दाइलाई उपचार गराउन अस्पताल लैजाँदा डाक्टरले हेप्यो । त्यति वास्ता गरेन। पिताले इख लिनुभो ।
‘यो छोरो भगवानको कृपा,’ पिता झोक्किनुभो, ‘म पनि एकदिन तँजस्तै डाक्टर हुन्छु।’
डाक्टर बन्ने सपना बोकेर पिता मधेस झर्नुभो । कलकत्ता पुग्नुभो । बोकेको पैसा सकियो। कलकत्ताका गल्लीहरूमा भोकै रन्थनिनुभो । मुर्छा पर्ने बेला भो । एउटा स्विट पसलमा काम माग्नुभो । भाँडा माझ्ने काम मिल्यो । भाँडा माझ्नुअघि, एकदमै भोक लागेको साउजीलाई भन्नुभो । उसले रोटी खा भन्यो । टन्न रोटी खाएपछि भाँडा माझ्नुपर्ने भो । अब के गर्ने ?
पिताको जुक्ति ।

उहाँले पानी निकाल्न नल चलाउन थाल्नुभो । अनि उक्काउँलाझैं नल यताउता हल्लाउनुभो । त्यो देखेर साउले भन्यो, ‘नल तो चलाना नही आता, क्या काम करेगा साला । चल मैने तुझे निकाल्दिया । फुट !’
पिताले यस्तै तिगडम गर्दै पेट भर्नुभो ।
एकदिन एउटा बंगालीको मेडिकलमा काम पाउनुभो, कम्पाउन्डरको । औषधी चिन्नुभो । काठमान्डु आएर मेडिकल खोल्ने अनुमति पाउनुभो । र, कैलालीको मटेरा पुग्नुभो ।
र, एकदिन चपाईं डाक्टर बन्नुभो । म जन्मेर चपाईं डाक्टरको छोरा भएँ ।
०००
पिता बुढो हुन थालेपछि म जन्मेको थिएँ । त्यसैले मलाई लाग्थ्यो – मेरा पिता अरूका पिताजस्ता ‘हेन्डसम’ हुनुहुन्थेन । त्यसैले आँखामा पावरदार चस्मा लगाएको, अलिकति कपाल फुल्दै गएको त्यो बूढो मानिससित म खुब डराउँथेँ । पिता झोक्की हुनुहुन्थ्यो । रिस उठ्यो कि मुड्की चल्ने । मैले घुच्चुकमा कति मुड्की खाएँ खाएँ । किनभने, म पिताले खोजेजस्तो असल छोरा थिइनँ ।
मेडिकलमा चकचक गर्न थालेपछि पिताले मलाई डोर्याउँदै भिडियो देखाइरहेको ठाउँ पुर्याइदिनुभो । र, भन्नुभो, ‘सक्केपछि आउनु ।’
मलाई अझै सम्झना छ – फिल्ममा ट्रक हिलोमा फसेको दृश्य थियो ।
र, ड्राइभरले भन्यो, ‘ये रास्ता बडा चिकना है ।’
म लाजले पानी पानी भएँ । कस्तो लाजलाग्दो कुरा गरेको । म फुत्त निस्केँ र दगुरेँ ।
‘नहेरी किन आइस् ?’ पिता झर्किनुभो ।
‘कस्तो लाजलाग्दो कुरा गर्छ अनि ।’
‘भोलि अर्को हेर्लास् ।’
पिताले भोलिपल्ट फेरि भिडियोमा लगेर छाडिदिनुभो । एउटा नागले लखेटीलखेटी मान्छे मारेको देख्दा डर र अचम्मले पूरा फिल्म हेरेँ । मैले धेरै पछि थाहा पाएँ – त्यो त सुनील दत्तको नागिन फिल्म रैछ ।
पिताले फिल्म हेर्ने लत लाइदिनुभो । पछि फसादमा आफैं फस्नुभो ।
म फिल्मको क्रेजी फ्यान भएँ । हुर्किंदै गएपछि दुई हुँदै पाँच रुपैयाँ चोर्ने बानी पर्यो । जब हुर्किंदै गएँ, मूल्य बढ्दै गयो । दाइ पनि बेलाबेला चोर्दो रैछ । दाइले चोर्दा म पिटाइ खान्थेँ, मैले चोर्दा दाइले ।
म हुर्किंदै गएँ ।
एकदिन पिता बजारबाट हतारिँदै घर पुग्नुभो । दाइ र मेरो गालामा चड्कन लाउनुभो ।
‘यो तीन रुप्याँ कसैले चोर्यो, खुरुक्क देऊ ।’
दाइले अत्तालिएर मतिर हेर्योर, मैले दाइतिर । मैले त चोरेकै थिइनँ । म दाइतिर हेर्दै कराएँ, ‘दाइ, पैसा दे ।’
दाइ पनि आँसु पुछ्दै करायो, ‘तैंले त लको होलास्, दे ।’
पैसा न त दाइले दियो, न मैले । त्यसदिन पिताले ओठ-मुख सुनिन्ने गरी पिट्नुभो । हामी रोको रोयै ।
त्यसको तीन दिनपछि पिताजी उदास अनुहार लिएर घर फर्किनुभो । दाइ र मलाई प्रेमले हेर्नुभो । पिताका आँखा टिलपिल भएका थिए ।
पिताले त त्यो पैसा अरूलाई दिनुभएको रैछ । बिर्सिनुभएको रैछ । उसले फिर्ता गर्न आएपछि झल्याँस्स हुनुभएको रैछ ।
त्यसदिनदेखि पिताले कहिल्यै थप्पड हान्नुभएन ।
फिल्मप्रतिको मेरो नशा अझै उत्रेन । एकदिन कटासे बजारको पहिलो गल्लीको एउटा भारतीय केटाले ‘हिरो-हिरोइन बस्ने ठाउँ देखेको छु, घरबाट भागौं’ भन्यो । हामी साइकल लिएर भाग्यौं ।
हामीले तीनचार गाउँ नाघिसकेका थियौं । मैले परबाट देखेँ । पिता हतारिएर आइरहनुभएको थियो । त्यो केटो त टाप ! म उभिरहेँ । पिताले थप्पड हान्नुभएन । केवल यत्ति भन्नुभो, ‘घर फर्की ।’
पिताको अनुहार एकदमै अँध्यारो थियो । अनुहारभरि पसिना । ओठ सुख्खा । फर्किंदा म अघिअघि, पिता पछिपछि । एकदमै लामो मौनता । केवल दुइटा साइकलको टिङटिङ आवाज ।
त्यसदिन मलाई पिताको एकदमै माया लागेर आयो । त्यसपछि पिताले मलाई एकदमै माया गर्न थाल्नुभएको थियो । तर, म पिताको मायामा झन् झन् पुलपुलिएँ । मलाई पढ्नै मन पर्दैनथ्यो । पितालाई लाग्थ्यो – नपढेको मानिसले असाध्यै दुख्ख पाउँछ ।
०००
पिता र मेरो कहिल्यै मन खोलेर कुरा भएन । कहिलेकाहीँ पिता राति अगेनाछेउमा बसेर रोदी गाएको, वनमा बाघ देखेर भागेकोजस्ता रमाइला कुरा सुनाउनुहुन्थ्यो, त्यत्ति हो । त्यति कसैसँग बोल्नुहुँदैनथ्यो । आफ्नै मनको घेरामा रमाउनुहुन्थ्यो क्यारे । त्यसैले होला, मैले आफ्नो रुचि र सपना पनि पितालाई बुझाउन सकिनँ । त्यसैले पिता एकदमै छट्पटिनुहुन्थ्यो । आठ-नौ कक्षा पढ्दादेखि नै मेरा कविता रेडियोमा बज्न थालेका थिए ।
‘तँ आफैं लेख्छस् कि अरूको सार्छस् ?’ एकदिन पिताले सोध्नुभएको थियो ।
पितालाई पत्यार नै लागेको थिएन – म कविता लेख्न सक्छु र कवि बन्छु भनेर ।
एकदिन पितालाई के लाग्यो कुन्नि, ‘किताब तयार पार, म छाप्दिन्छु’ भन्नुभो ।
नयाँ कापी पनि किनेर ल्याइदिनुभएको थियो ।
मैले चिटिक्क अक्षरमा तीसपैंतिस वटा कविता सारेँ । भूमिकामा ‘पुस्तक छापिदिने आदरणीय बालाईलाई साष्टांग दण्डवत’ लेखेँ । त्यो पढेर उहाँ खिस्स हाँस्नुभो।
तर, किताब छापिएन ।
बरु त्यसको तीनचार दिनपछि, पिता ‘पढ्नु-लेख्नु छैन’ भनेर कराउन थाल्नुभो । म त छक्क परेको पर्यैत !
सायद पितालाई लाग्न थालेको होला – कवि भयो भने छोराले दुख्ख पाउँछ ।
तर, म त आत्मैदेखि कवि भइसकेको थिएँ । एसएलसी पास भएपछि म कवि बन्न काठमान्डु आएँ । पिता आफूसँगै बसोस् भन्ने चाहनुहुन्थ्यो सायद । यतै पढ, उता नजा भनेर खुबै सम्झाउनुभो । मैले मानिनँ ।
म पूर्णकालीन कविजस्तो भएँ ।
झन्झन् बुढो हुँदै गएका पितालाई मेरो चिन्ताले सताउन थाल्यो । फोनमा भन्नुहुन्थ्यो, ‘पढेर जागिर खा, अनि कविता लेख ।’
तर मैले जागिर खाइनँ, कविता लेखिरहेँ ।
५६ सालमा राष्ट्रिय गजल महोत्सवमा प्रथम भएँ । पिताले रेडियोमा सुन्नुभएछ । त्यसको केही दिनपछि मैले पिताको चिठी पाएँ –
तेरो समाचार सुनेर सबै खुसी भाछन् । म पनि भाछु ।
अनि त म झन् कवि भएँ !
त्यसको तीन वर्षसम्म पनि मेरो पितासित भेट भएन । फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो । माओवादी युद्ध सुरु भो । म घरै जान सकिनँ । एकदिन पिता आफैं काठमान्डु आइपुग्नुभो । म उहाँलाई लिन पुरानो बसपार्क पुगेँ । मोटो पावरदार चस्मा लाएर मलाई नै खोजिरहनुभएको थियो । सधैं बिग्रिरहने पेट जचाउन पाल्पा गएर आको हुँ भन्नुभो ।
पिता असाध्यै दुब्लाउनुभएको थियो । र, एकदमै कमजोर देखिनुहुन्थ्यो । कन्चट छेउछाउ मोटामोटा नसा देखिन्थे ।
काठमान्डुको मेरो अँध्यारो डेरामा बसेर पिताले मेरा छापिएका कविता पढ्नुभो । मुसुमुसु हाँस्नुभो । अनि, राति सम्झाउनुभो – कविता पनि लेख्दै गर तर जागिर खा ।
पिता काठमान्डु आएकै भोलिपल्ट दरबार हत्याकाण्ड भयो । पिता एक हप्ताजति मसितै बस्नुभो । फर्कने बेला पिताले अलिकति पैसा पनि छाडिदिनुभो । पिता भन्नुहुन्थ्यो – गोजीमा पैसा भएन भने छोरो मान्छेलाई ह्याउ आउँदैन । साथीहरूको अगाडि शिर उठाउन पनि सक्दैन । चिया पिउँदा पनि मैले तिर्नुपर्ने हो कि भनेर चियाको स्वाद लिन सक्दैन ।
यस्ता हुनुहुन्थ्यो मेरा पिता ।
त्यसपछि एकैपल्ट पितालाई बिरामी हुँदा हस्पिटलमा भेटेँ ।
उहाँले घर फर्केर आमालाई भन्नुभएको रैछ – कान्छाले आफ्नो बाटो रोजिसकेछ । अब त्यसलाई फर्की भनेर नसताउनु । ऊ फर्केर आउँदैन ।
०००
मेरा पिताले एकतारे त खुबै बजाउनुभो, रिदममा । तर, जीवन रिदममा कहिल्यै बिताउनुभएन । मसँग अहिले धेरै सपना छन्, ठूल्ठूला । तर मेरा पिताका सपना धेरै थिएनन् । म अहिले बुझ्छु । मेरा पिताको जीवन ससाना रहरहरूमा सीमित भो । मेरा पिताले धेरै चिज नभोगी, नदेखी, महसुस नगरी, जीवन बिताउनुभो । उहाँका सपना र रहर हामी सन्तानमा सरे । जसरी सँगै भिजाउँदा कपडाको निर सेतो कपडामा सर्छ, नचाहँदा-नचाहँदै ।
पिताले आफ्ना कुन्ठा सन्तानतिर सार्नुभएन । केवल सार्नुभयो त आफूले जीवनमा भोग्न नसकेको मिठो क्षण ।
संघर्ष गर्दागर्दै पिता मान्छेले जीवनमा नपाएका कुरा स्वर्गमा पाउँछन् भन्ने अप्सन लिएर बाँच्नुभो । मेरा पितालाई मान्छेको आत्माले काँक्राको बियाँजत्रो भएर मोक्ष प्राप्त गर्छ भन्ने लाग्थ्यो ।
मेरा पिताको आत्मा काँक्राको बियाँ भयो कि भएन, थाहा छैन । तर, हाम्रो काँक्राको बियाँजत्रो सपनालाई हुर्किने मौका दिनुभो । जल चढाइरहनुभो ।
अरू कसैका अगाडि लाजले झुक्न दिनुभएन । सकेको गर्नुभो । आफ्नो जीवनकालभरि हाम्रै पीरमा पर्नुभो ।
पितालाई अस्पतालमा भेट्न जाँदा आँखा देख्न छाडिसक्नुभएको थियो । मैले भर्खरै प्रकाशित आफ्नो गजलसंग्रह बोकेको थिएँ । उहाँले त्यो किताब सुम्सुम्याउनुभएको थियो । सायद, किताब हुँदो हो त मान्छेले आफ्नो सपना त्यसरी नै सुम्सुम्याउँदा हुन् ।
मेरा पिता मर्दै हुनुहुन्थ्यो । दाइदिदी, बहिनी कोही पनि साथमा थिएनन् । आमा र म मात्र थियौं । मैले अवरुद्ध गलामा सोधेको थिएँ, ‘बा, केही भन्नु छ ?’
म पितालाई बिदा गर्दै थिएँ, सायद ।
‘क्यै, छैन। मेरो मनमा कुनै बोझ छैन ।’
पिताले आफ्नो जुनीमा मलाई भनेका यिनै अन्तिम शब्द थिए । जसमा चरम सन्तुष्टि थियो ।
०००
मैले पिता यो धर्तीमा हुन्जेल उहाँलाई बुझिनँ । जब उहाँ जानुभो, मैले बिस्तारै बुझ्दै गएँ – उहाँका संघर्ष र सपना । भन्छन् – आफ्नो प्रिय मान्छे नजिक नहुँदा उसको मोह थाहा हुन्छ । तर, कहिल्यै नफर्किने गरी गएको प्रिय मानिसप्रतिको मोह अझै गाढा हुन्छ । किनकि ऊ फेरि कहिल्यै भेटिँदैन ।
त्यस्तै भो, जब मैले पितालाई चिनेँ उहाँ हुनुहुन्न । उहाँले ठूल्ठूला अक्षरमा लेखेका केही चिठीमात्र छन् । जीवनभरि पिताले केही न केही दिइरहनुभो । शिक्षा, सपना र जुत्ता । मेरा पिता जानुभो, जाँदा पनि आफ्नो कथा मलाई दिएर जानुभो । अंशबण्डाको हकझैं मैले उहाँको अलिकति जीवन चोरेर उपन्यास लेखेँ । त्यो पढ्न उहाँ हुनुहुन्न । मैले आफ्नो सपना पुरा त गरेँ तर छोराको पूरा भएको सपना हेर्न पिता रहनुभएन ।
पिताहरू धेरै चिज दिन्छन्, हामी बुझ्दैनौं । जब बुझ्छौं, पिता हुँदैनन् ।
पिता यस्ता रुख हुन्, जो ढल्दा प्रकृतिमा अलिकति दाग बस्छ । हृदयमा दाग बस्छ । उनीहरू बादल बनेर बर्सिन्छन् र दाग पुर्छन् । आफू नरहेको चिन्ता गर्दैनन् । सन्तान सधैं रहून्, यही कामना गर्छन् ।
०००
मलाई पुनर्जन्ममा विश्वास छैन । यदि, कैयौं जुनीपछि फेरि जन्मिँदा पिता र मेरो भेट भयो, या मैले कतै चिनेँ भने केवल यत्ति भन्नु छ – धन्यवाद पिता !
(पाँच वर्षअघि लेखिएको यो निबन्ध लेखकसँगको अनुमतिमा बुबाको मुख हेर्ने दिनका सन्दर्भ पारेर साभार गरिएको हो ।)

प्रतिक्रिया 4