हाम्रो ठूलोकान्छो
एकै टुक्रा सुनको मोह, मनमा पारी सयौं गाँठो
देशको लागि टार्छु भनी एक मुठी नूनको खाँचो
गयो खाडी कम्पनीमा,
आफ्नो देश फर्की जान्छु भन्थ्यो रे यै दशैंमा
फर्किनु त फर्क्यो तर काठको बाकसैमा !
घामले पनि रिस गर्यो रे शत्रु जस्तो तातो हावा !
साँझ बिहानै भाक्थ्यो अरे ‘रच्छे गर हे अल्लाह !’
हाम्रो ठूलोकान्छो !
रुन्थ्यो रे मरुभूमिमा
नयाँ घरजम गर्नुपर्ला आफ्नै देशमा मर्नुपर्ला
भन्दाभन्दै मर्यौ भन्छन्, कसो गर्ने होला ?
हाम्रो भोको हिमाललाई कसले खुवाउला जाउलो मानो !
हाम्रो नाङ्गो देशलाई अब कसले छाउला ओत-छानो !
हाम्रो ठूलोकान्छो !
आउाछ अचेल सपनीमा
भन्छ, ”किन विदा गर्यौ पहिर्याएर फूलमाला ?
पौरख गरे आफ्नै देशमा, फुल्थ्यो सुनको बाला ।’