Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रलाई किन जिस्काइँदैछ बारम्बार ?

शालिकको राजनीति र राजा वीरेन्द्रको अपमान

Ex-king-Gyanendra-shahखासमा एक प्रतिविम्व हुन् शालिक कुनै खास जुग, पात्र वा प्रवृत्तिका । ती निर्जिव। तर प्रतिकात्मक हुन्छन् । चाहे जोसुकैका हुन्, तानाशाह वा महान सुधारक वा सेवक, ती इतिहासलाई वर्तमान र भावी पुस्तासँग जोड्ने धरोहर अवश्यै हुन् शालिकहरु ।

अमूक शालिक विगतका सम्झना हुन् । भविष्यका लागि सकारात्मक वा नकारात्मक ज्ञानका मार्गनिर्देशक पनि हुन् । फरक यत्ति हो, ती शालिक महान देशभक्त र जनसेवकका भए मान्छेका हृदयहरुबाटै पुजिन्छन्, श्रद्धाले मान्छेका शीर झुक्छन् । तानाशाहका भए जनजनका मनबाटै दुत्कारिन्छन्, लल्कारिन्छन्, शीर बटारिन्छन् ।

अहिले संविधान कार्यान्वयनको अत्यन्तै जटिल र कठिन तर वाध्यकारी मोडबाट गुजि्ररहेका बेला ख्याल ख्यालमै शालिक राजनीतिमा मुखरित गर्न खोजिादैछ देशलाई

कुनै असल मान्छे शालिककै आड वा भरमा जिउँदो वा मृतको पर्याय हुन सक्दैन । नश्वर शरीरको मान्छे बाच्ने त केवल उसको जीवनकालका असल कर्महरुमा हो । असल कर्महरु त मान्छे-मान्छेको लोकमा मात्रै हैन, विश्वास गरिएको अदृश्य स्वर्गलोकमा पनि सम्मानित र स्मरणीय हुन्छ शायद ।

हो, अहिले संविधान कार्यान्वयनको अत्यन्तै जटिल र कठिन तर वाध्यकारी मोडबाट गुज्रिरहेका बेला ख्याल ख्यालमै शालिक राजनीतिमा मुखरित गर्न खोजिँदैछ देशलाई । अकाट्य तथ्य हो, इतिहास बदल्ने कसम खाएकाहरुले राम्रो वा नराम्रो जस्तो भए पनि बिगत इतिहासको सम्मान गर्न सक्नैपर्छ ।

इतिहासप्रति प्रतिशोध र बदला राख्न खोज्नेहरु भदौरे भेल वा खहरे बन्न सक्छन, तर अविरल सुस्काउने सागर बन्न सक्दैनन् ।  निषेध र निमेट पार्ने बाहुबली साहस सफल हुन पनि सक्छन, तर ती सबै अस्थायी र क्षणिक मात्रै हुन्छन् ।

हो, हामी अहिले जुन आधुनिक नेपालको वर्तमानमा छौं, त्यो प्राचीन इतिहासको निरन्तरताकै उपज हो । यो देश परापूर्वकालदेखि पूर्वज, अग्रजहरुका बहादुरी संघर्ष गाथाहरुले बुनेको देश हो । हामी वा हाम्रा ताकतको मात्रै आर्जन हैन ।

कम्तिमा आधुनिक नेपालको रचना स्व. पृथ्वी नारायण शाहले नै गरेका हुन् । र, त्यसलाई यो तहसम्म ल्याउने पनि उनकै सन्तती तत्कालिन शाह राजाहरु नै हुन् ।

यो वर्तमान राज्यसत्ताका स्वघोषित नायकहरुलाई मन परे वा नपरे पनि सत्य हो । त्यसैले नयाँ नेपालको हुँकार दिने जो कोही शासकहरु शाहवंशीय राजाहरुको योगदानको इतिहासप्रति सक्छौ उदार आलोचक बन । सक्दैनौ, प्रतिशोधी र बेईमान नबन ।

निश्चित दलका औंलामा गन्न सकिने केही शासकहरुलाई अपवाद मान्ने हो भने स्वदेश वा विदेशमा बस्ने कोही नेपाली छैन जसले शाहवंशीय राजाहरुको योगदानलाई भुलोस् वा अस्वीकार गर्ने आँट गरोस् ।

जनजनका नजरमा शाहवंशीय सत्ताको अस्थायी पतन माओवादी जनयुद्धको राप र तापबाट वाक्क दिक्क हुँदा आएको थकानसँग साटिएको शान्तिको खोजी मात्रै हो । जनताले भो अब शाह राजा चाहिन्न हामीलाई भनेर गरेको कुनै खुल्ला फैसला थिएन र हैन ।

तर, पनि लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई ०६५ जेठ १५ को तत्कालीन संविधानसभाको घोषणामा पनि सदर गर्ने राजा ज्ञानेन्द्रको वुद्धिमतापूर्ण उदार कदमले नै आधुनिक नेपाल गणतन्त्रमा गएको हो ।

यो नयाँ नेपालको इतिहास रचना गर्नेहरुका लागि छोप्न नसकिने जीवन्त सत्य हो, भैरहन्छ पनि । त्यसैले , शाहवंशिय राजाहरुका कर्म वा दुष्कर्महरु ऐतिहासिक कालखण्डमा समीक्षाका गम्भीर मुद्दा बनुन्, तर उपेक्षा नबनुन्, उपेक्षा बनाउने मुख्र्याइँ वा पाखण्ड कोही कसैबाट नहोस ।

विमतिको कुरै हैन, स्वर्गवासी राजा वीरेन्द्र प्रजावत्सल राजा थिए । उनी अब्बल प्रजातन्त्रप्रेमी र जनहितका लागि मरिमेट्ने शान्ति र विकासवादी थिए । यो जनजनको मनले दिएको सम्मान र आस्था हो स्व. राजा वीरेन्द्रलाई ।

राजा वीरेन्द्रको देशभक्ति, जनप्रेम, शान्ति र विकासप्रतिको निस्वार्थ समर्पण कुनै पनि अस्थायी शासकले सिकाउनु पर्दैन कम्तिमा यो पुस्तालाई । किनकि आफैंले देखे, भोगेका जनता मरिसकेका छैनन् ।

सूर्य खड्का
सूर्य खड्का

तर पनि ०५८ जेठ १९ को शुक्रवार नारायणहिटीमा जसरी राजा वीरेन्द्रको अप्रत्याशित वंश विनास गरियो, त्यो वियोग र वेदनाका वीच आम जनता नतमस्तक छन, राजा वीरेन्द्र र उनका सन्ततीप्रति । राज्यले लेखाउने भारदारी इतिहास भावि पुस्ताले कसरी लेख्ला ? तथापि यो जुगको तथ्यपूर्ण इतिहास उल्टापुल्टा हुने छैन कम्तिमा यो स्तरको जागृत नेपाली समाजमा ।

देशको दशके गणतन्त्रको यो घडीमा जनता स्तव्ध छन् । तर, मौन छन् । जनता रमिते छन् तर वेखुस छन् । जनता मनमनै गमिरहेका छन, तर असंगठित छन् ।

तर, तिनलाई देश गणतन्त्रमा गएको पहिलो दशकाराम्भमै नेपालगञ्जमा राजा वीरेन्द्रको शालिकमाथि भैरहेको कुराजनीति मन पररहेको छैन । एउटा केही तौल वा इन्चको कंक्रिटको विम्वमा उचाइ र तौलमा नापिने, जोखिने, परीक्षित हुने वा सम्मानित र घृणित हुने राजा थिएनन्, हैन्न र रहन्नन् पनि त्यस्ता राजा वीरेन्द्र ।

तर, क्रुर विडम्वना ! त्यही पटमूख्र्याइँपूर्ण हर्कतका वीच अनायाशै राजा वीरेन्द्रको शालिक पुर्नस्थापित गरिन्छ, त्यही मेसोमा जनका टाउकाहरु फोडिन्छन, केही थान ज्यानहरु हिरासतमा कोचिन्छन् । अनि रातारात शालिकहरु गायव पारिन्छन्, त्यो सगौरव, सत्यसेवा सुरक्षाणमको कसम खाएका बर्दीहरुबाट ।

यही हो, इतिहासमाथि धावा बोल्ने शासकीय भुलको सुरुवाती विन्दु । पंक्तिकारलाई लाग्दैन, कार्यकारी प्रधानमन्त्री प्रचण्डले शालिक चोर्ने उर्दी ती जनताका आईजीपी उपेन्द्रकान्त अर्याललाई फर्माए होलान् । किनभने इतिहास बदल्न नसकेर आफैं बदलिएका ती जननिर्वाचित क्रान्तियोद्धा यति अविवेकी, असहिष्णु र कठोर बन्लान् त्यो एउटा विम्वमाथि भनेर मान्न सकिँदैन ।

आफैं बदलिएको परिस्थितिमा आफ्नो १० बर्षे जनयुद्धको बलिदानलाई आधुनिक नेपालको इतिहाससँग समायोजन गर्ने कार्यसूचि भन्दा पर कुनै प्रतिशोधी कर्ममा जाँदा आइलाग्ने व्याक फायरबारे कम्तिमा प्रचण्डस्तरका चतुर र जिम्मेवार नेता सजग होलान् भन्ने नै अपेक्षा हो ।

किन ज्ञानेन्द्रलाई जिस्क्याइन्छ बारबार ? कहिले छोरी प्रेरणाले पाएको १५ रोपनी जग्गाको लालपूर्जामा, कहिले राजा वीरेन्द्रको शालिकमा, कहिले पूर्वमुमाबडामहारानी रत्नको विजुली लाईन काट्नमा ?

तर पनि भैरहेको त त्यही छ, जो चोर्छ शालिक, र भन्छ हामीले राखेका छौं । वर्दी लाएकै भेषमा उ किन प्रतिरक्षा गर्छ, आफ्नो कायर हर्कतको ? कुन अमूक पात्र हो स्थानीय प्रशासन जो कुनै मनासिव कारणविनै त्यो निर्जिव शालिक लुकाएर राजा वीरेन्द्रको योगदानको खुल्ला कितावमाथि जागिरको खास्टो ओढाउन उद्दत छ ?  कुन प्राणी हुन् स्थानीय प्रशाशक ? कसको आदेशमा ती शालीकविरुद्ध शक्ति प्रदर्शन गरिरहेका छन् ? हो जनजनका मनले मौनताका वीच सत्ताका अगुवाहरुलाई सोधिरहेको प्रश्न हुन् यी ।

अवसरवादी ताण्डव

फेरि साथैमा छ अचम्मको नाट्य राजनीति । त्यस्तो दल शालिक राजनीतिमा आफूलाई उत्तर आधुनिक क्रान्तिकारी दावा गर्दैछ, जो अवसरवादको पर्याय रहयो ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्यको झोलीमा परेको जनताको २६ सांसदको मत आफैले अस्वीकार गरेको र सिद्धान्त विपरीतको ओली सत्ताको टेको हुदै गणतान्त्रिक संविधानको कार्यान्वयनकर्त्ता भएर ९ महिना सिहदरवार बसिसकेका कमल थापाहरुले अब राजा वीरेन्द्रको शालिक भजाएर पुनः उन्नत राजावादी हुन गरेको हर्कतराजनीतिक ताण्डब मात्रै हो ।

जन्मोत्सवमा ज्ञानेन्द्रकहां पाउ लागि गर्न पुग्ने, नाकाबन्दीमा रविशंकर र सुष्मा स्वराजहरु मार्फत नरेन्द्र मोदी कहां लम्पसार पर्न जानेहरु अहिले राजावादी देखिने पराक्रम मौसमी राजनीतिक खेती बन्ला तर राष्ट्रवादी राजसंस्थापथको हिमायती र प्रतिनिधित्व बन्न सक्दैन । दोस्रो संविधान सभामा परेको कागताली जनविश्वासको २६ सीट अब मिठो बिगत मात्रै हो ।

त्यसैले वीरेन्द्रको शालिक भँजाएर राजनीतिक दुनो सोझ्याउने राजावादी राष्ट्रवादको कार्ड खोल्ने थापाकाजी खेलहरु पनि शालिक उखेल्ने, चोर्ने हर्कतहरु जत्तिकै खतरनाक र घृणित छन् । यस्ता अतिवादी थापापन्थहरु पराजित हुनैपर्छ, गरिनैपर्छ ।

गद्दीमा भए पनि नभए पनि पूर्वराजा वा उनका सन्तति सबै जनका साझा अविभावक हुन्, कुनै वाद वा अवसरवादी चरित्रको प्ले कार्ड होइन, हुन सक्दैन र हुन दिनु पनि हुँदैन । हिजो यस्तै भुल गर्दा राजसंस्थाको यो बेहाल भएको ज्यूँदो इतिहास कसैले नभुलौं ।

जनआन्दोलनका बेला शहरमा २५ जनताका छातीमा गोली दागिसक्दा पनि सरकार स्थिति ठीक छ भनेर राजालाई बिन्ति बिसाउनेहरु नै हुन्, राजसंस्था बर्हिगमनका कारकहरु ।

आफै ज्ञानेन्द्र अग्रसर भएर जनआन्दोलन नटुंग्याएको भए थप के के हुन्थ्यो, त्यो अहिले कल्पना गर्न मात्रै सकिन्छ । राजा सबका साझा भनेको त्यस्तै त्यस्तै बेलामा देखिने हो ।

आफ्नो सदाबहार सत्तामुखी राजनीतिक जीवन सकिने भएपछि राजा र धर्मको ब्यानर बोकेर हिँड्दैमा शालिकहरुको भारी बोकेर अब राजावादी प्रमाण दिने जुग बदलिएको अवसरवादी सत्तामुखी राजावादीहरुलाई हेक्का होस् ।

संयोग कि सुनियोजित षडयन्त्र ?

लोक जानकार छ कि ०६५ यताको नेपाललाई एक जुग मान्ने हो भने जनादेशको असली परिपालक कोही बन्यो, बनिरहेको छ भने त्यो पूर्वराजा र उनको परिवार मात्रै हो ।

आफ्नो वंशको शासकीय विरासतको बिराम भाग्य वा दुर्भाग्य जे भए पनि गणतन्त्रको विरोधमा ब पनि उच्चारण नगरी आफू स्वदेशमै रमाउन जुन उदार अनुकरणीय भूमिका निर्वाह गरिरहेका छन पूर्वराजा ज्ञानेन्द्र सन्ततीले, त्यसलाई सबैले स्वागत र सम्मान नै गरेका छन ।

पूर्वजको धर्म निर्वाहको कोशिस गरेका छन, जनताको माया र हार्दिकताको सम्मान गरेका छन् । तर, कुनै प्रतिशोध र बदलाको भाव पनि देखाएका छैन्न ।

संसारकै लागि राजा ज्ञानेन्द्रको सत्तात्याग अनुकरणीय भैरहेको र उनी आफ्नै शैली र स्वभावमा जनतासँग जनता भएर जीवन गुजारिरहेका बेला किन बारबार निशानामा पारिन्छ उनै ज्ञानेन्द्र र उनका सन्ततीहरुलाई ?

खासमा श्रीपेचविना पनि जनस्तरमा राजाकै रुपमा नागरिकबाट सम्मानित छन, ज्ञानेन्द्र । उनले यो व्यवस्था र शासक विरुद्ध जनताको भाषा शिवाय केही बोलेका छैन्न, केही षडयन्त्र गरेका छैन्न । तै पनि किन ज्ञानेन्द्रलाई जिस्क्याइन्छ बारबार ? कहिले छोरी प्रेरणाले पाएको १५ रोपनी जग्गाको लालपूर्जामा, कहिले राजा वीरेन्द्रको शालिकमा, कहिले पूर्वमुमाबडामहारानी रत्नको विजुली लाईन काट्नमा ?

माओवादीहरु सत्तामा पुगेकै बेला पूर्वराजा र राजपरिवारलाई लाञ्छना लाउने र बिवादित पार्न गरिने हर्कतहरु माओवादी नेतृत्वका पार्टी नीति हुन कि माओवादीको काँधमा राखेर बन्दुक पडकाउन खोज्नेहरुका षडयन्त्र ? यो पनि अवलोकन गर्नेले जान्न पाउनैपर्छ ।

जब शक्तिमै छैन्न भने किन ती शक्तिहीन पूर्वराजा वा तिनका सन्तानमाथि सोझयाइन्छ प्रहारका निशानाहरु ? के ती दोषी थिए भने देश निकाला गर्दिएको भए हुन्नथ्यो ?

हाल माओवादीबाट नयां शक्तिमा पोईल गैसकेका डा. बावुराम भट्टराईले प्रधानमन्त्री हुंदा किन ज्ञानेन्द्रलाई जेल हाल्ने धम्की दिए ? अहिले प्रचण्डको दोस्रो प्रधानमन्त्री कालमा किन शालिक, विजुली र लालपूर्जाको आवरणमा पूर्व राजसंस्थालाई नियतवश विवादित र उत्तेजित पार्न खोजिदैछ ? यी सामान्य जस्ता लाग्ने तर असामान्य हर्कत हुन । जानेर वा नजानेर माओवादीले यस्मा आफूलाई नजोडेकै राम्रो ।

जब शक्तिमै छैन्न भने किन ती शक्तिहीन पूर्वराजा वा तिनका सन्तानमाथि सोझयाइन्छ प्रहारका निशानाहरु ? के ती दोषी थिए भने देश निकाला गर्दिएको भए हुन्नथ्यो ? किन जहां जहां पुग्छन पूर्व राजा र उनका सन्ततीहरु, त्यही विशाल मानवसागर समर्थनमा उर्लन्छ ? किन स्वदेशी गाउवस्तीदेखि छिमेकसम्म हाई हाई हुँदैछन् पूर्वराजपरिवारका सदस्य ?

यो तथ्य बुझौं गणतन्त्रका हिमायतीहरुले । देश ठेक्का कसैको हैन, जनता शिवायको । त्यसैले ती शक्तिहिन पूर्वराजालाई वेमौसमी प्रहार गरेर अब आआफ्नो शासकीय असक्षमता र राजनीतिक नेतृत्वको विफलतालाई ढाकछोप गर्ने दुस्साहस कम्तिमा प्रचण्डहरुबाट नहोस् ।

सहिष्णु बनोस गणतन्त्र

यदि ०६२/६३ ले पुर्नस्थापित गरेको लोकतन्त्र साच्चिँकै उदार र सहिष्णु भैदिएको भए, नेपालको राजसंस्था अहिले पनि राजकीय मामलाको एक सल्लाहकार तथा संरक्षक सरह सम्मानित भैरहन्थ्यो ।

तर त्यो स्तरको चौडा छाती नरहेको नेपाली लोकतन्त्र जनताको लागि केवल व्यवस्था परिवर्तनको श्रृखलामा सीमित छ, जनताको जीवनस्तर अभिवृद्धिका साधन बन्न सकेको छैन । कठोर सत्य हो, कि राजसंस्थालाई चोरबाटोबाट गद्दीच्यूत गरिएको हो संविधानसभाको जनादेशको नाममा ।

राजसंस्थाले संविधान सभाको म्याण्डेट मानिदिने उदार छाती र व्यवहार प्रदर्शन गरिदिएकै कारण राजसंस्थाले विश्राम लिएको हो ।

तर यो स्थायी बिराम थिएन, होईन र हुन नसक्ने स्पष्ट छ । ओरालो लागेको मृगलाई बाच्छाले नै खेद्छ भनेको के हो भनेर हाजिरी जवाफमा सोधिए, नेपालको गणतन्त्रले राजसंस्थालाई गरेको अपमान, प्रतिशोध र पूर्वाग्रहलाई लिए हुने भैसकेको छ । यसो नगरियोस थप अब । यसैमा सबैको भलो होला ।

खोजी राष्ट्रियताका पहरेदारको

देश २०४६ को परिवर्तन र खासगरी २०६२।६३ को परिवर्तनपछि अग्रगमनमा नगएको तितो सत्य जस्तै अकाट्य सत्य हो, राजसंस्थाको विदाइले कमजोर भएको छ देशको रष्ट्रियता । हिजो शक्ति नारायणहिटीमा थियो, तर अहिले नयाँदिल्लीतिर सारियो ।

अरु त अरु, लैनचौरका एक उपसचिवलाई गणतान्त्रिक राजा बनाउने राजनीतिक अभ्यासले देशका सार्वभौम जनताको अपमान गरेको छ ।

यो कटु सत्यका वीच जनताले कुनै न कुनै प्रकारको राष्ट्रवादी शक्ति जो राष्ट्रियताको पहरेदार बनोस् भन्ने चाहिरहेकै छन् । त्यसमा आफै काबिल सावित भए दलहरुकै पोल्टो भरिने हो ।

तर, उनीहरु सधै दिल्ली दाहिना पार्नमै मस्त हुने भने राष्ट्रियताको पहरेदारमा भोलि ज्ञानेन्द्र वा जो कोही पनि त आउन सक्छ । अनि आफैं बलियो बनौं न अब आफ्ना कमजोरीको ढाकछोपको खास्टो त्यो विचरो पूर्वराजसंस्थालाई नबनाऔं ।

(प्रस्तुत लेख खड्काका निजी विचार हुन्- सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment