Comments Add Comment

नेपाली क्रिकेटको विवादः ‘निर्वाचित’ क्यानले आइसीसीलाई किन ‘सहयोग’ गरेन ?

Icc ceo press meet

२० भदौ, काठमाडौं । आइतबार विहान बालुवाटारमा प्रधानमन्त्रीसँग छुट्टिँदै गर्दा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का सीइओ डेभिड रिचर्डसनलाई योजना थियो कि नेपाल क्रिकेट संघको विधान पुनरावलोकनका लागि सल्लाहकार समिति घोषणा गर्ने ।

तर, परिस्थितिले रिचार्डसन र उनको टिमले सोचेको जस्तो रहेन र, झण्डै ६ घन्टापछि पत्रकार सम्मेलन गर्दा उनी समितिको नाम घोषणा गर्न सक्ने अवस्थामा रहेनन् । उनले सल्लाहकार समिति बनाउने जानकारी दिँदै नाम घोषणाका लागि दुई साताको भाका राखे ।

आखिर किन रिचार्डसन पूर्वयोजनाअनुसार नाम घोषणा गर्न सकेनन् भन्ने प्रश्नको जवाफ खोजी सुरु भएको छ ।

स्रोतहरुका अनुसार रिचार्डसनलाई क्रिकेट संघको तदर्थ समिति र राखेपले नाम तय गरिसकेको थियो । तर, चतुरबहादुर चन्द नेतृत्वको ‘निर्वाचित’ क्यान र रिचार्डसनको वार्ता सफल भएन । र, सल्लाहकार समिति घोषणा हुन सकेन ।

रिचार्डसनले यो समूहसँग वार्ता गर्ने कुनै कार्यक्रम थिएन । मात्र नाम मागेका थिए । तर, महासचिव अशोकनाथ प्याकुरेलको पहलमा निकै लामो वार्ता भयो । जहाँ उनीहरुले नाम दिनुको साटो आइसीसीका सीइओ अधिकारीहरुलाई प्रश्नहरुको वर्षा गरे ।

‘हामी विधान विपरित भए भन्नुस्’

राखेपको सहमति विना नै साधारण सभा गरेर चयन भएको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिले आफू आधिकारिक क्रिकेट संघ भएको दाबी गर्दै आएको छ ।

र, यो समूहले नै सर्वोच्च अदालतमा राखेपले बनाएको तदर्थ समितिविरुद्ध मुद्दा समेत हालेको छ । तर, आइसीसीले न राखेपले बनाएको तदर्थ समिति न यो समूहलाई नै मान्यता दियो । बरु, नेपाल क्रिकेट संघलाई नै निलम्बन गरेर क्रिकेट व्यवस्थापनमा हात हालेको छ ।

आइसीसीका सीइओ रिचार्डसनसँगको वार्तामा चतुरबहादुर-अशोकनाथ समूहले सल्लाहकार समितिका लागि नाम दिन मानेनन् । र, भने कि अदालतमा मुद्दा हालेको र सरकारी हस्तक्षेपविरुद्ध लडिरहेकाले नैतिक र कानुनी रुपमा पनि यो समितिमा बस्न सक्दैनौं ।’

एक सदस्य भन्छन्, ‘हामी समितिमा बस्नुपर्ने हो भने हाम्रो चुनाव विधान विपरित छ भनेर भन्नुस् भन्यौं । तर, उहाँहरुले यो पनि भन्न सक्नुभएन ।’

बलियो उपस्थिति चाहना

चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल
चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल

यो समूहलाई राम्रोसँग थाहा छ कि बल आइसीसीको कोर्टमा गइसक्यो । र, अब उसको चाहना विपरित तत्कालका लागि क्यानमाथिको निलम्बन फुकुवा सम्भव छैन भलै अदालतले उनीहरुकै पक्षमा किन फैसला नगरोस् । र, सहज अवतरणको बाटो भनेको सल्लाहकार समिति बनाएर नयाँ चुनावमा जाने वातावरण बनाउने नै हो ।

यो प्रस्ताव निर्वाचित कमिटी, राखेप र तदर्थ समितिका लागि ‘विन-विन’ सहमति जस्तै हो ।

उसो भए प्रश्न उठ्छ, चतुरबहादुर समूहले किन नाम दिएन त ? स्रोतहरु भन्छन्, आफूलाई अवैध भन्न नसक्ने हो भने सल्लाहकार समितिमा आफ्नो हिस्सा बढी हुनुपर्ने उसको संकेत थियो । जबकी आइसीसीले प्रस्तावित सल्लाहकार समितिमा यो समूहबाट मात्र एक जना राख्न चाहेको छ, त्यो संस्थागत रुपमा नभई व्यक्ति तोकेर ।

बाहिर चर्चामा महासचिव अशोकनाथ प्याकुरेलको नाम थियो । यदि त्यही हो भने उनी जाँदा अध्यक्ष चतुरबहादुर चन्दसहितका अन्यले उनलाई नै तिमीमात्र किन भन्न सक्ने भयो । र, अशोकनाथ पनि व्यक्ति नभई समूहलाई सम्बोधन गरोस् भन्न चाहन्थे ।

तर, आइसीसीले यो नगरेपछि नैतिक र वैधानिक प्रश्न उठाएर यो समूहले नाम दिएन । तर, अहिले पनि यदि आइसीसीले उसको हिस्सेदरी (सल्लाहकार समूहमा बलियो उपस्थिति)को माग सम्बोधन गरे सहमति हुनसक्ने स्रोतको दाबी छ ।

उसले यस्तो दाबी गर्नुको पछाडि तर्क पनि छ कि सल्लाहकार समिति भोलिका दिनमा बनाउने नयाँ विधान कार्यान्वयनमा आउन त क्रिकेट संघको साधारणसभाले नै पास गर्नुपर्छ । त्यसो हो भने हाम्रो त्यही अनुसारको उपस्थिति हुनुपर्छ ।

प्रस्तावित व्यक्तिहरुलाई लिएर केही आशंका

आइसीसीले आफ्नो नेतृत्वमा बनाउन लागेको सल्लाहकार समितिमा तदर्थ समितिका महासचिव एवं प्लेयर एशोसिएनका अध्यक्ष पवन अग्रवालको नाम छ । यस्तै राखेपबाट शैलेश कर्माचार्यको नाम अन्तिम समयमा मोटामोटी तय भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यस्तै खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, क्यानका पूर्वउपाध्यक्ष दिपक कोइराला, उद्योगी बसन्त चौधरी र पूर्वअध्यक्ष विनयराज पाण्डेको नाम पनि थियो ।

चौधरी समूह नेपाली क्रिकेटलाई लामो समयदेखि स्पोन्सर गर्दै आएको छ । र, पौडेल, कोइराला र चौधरीको उपस्थितिलाई सबै पक्षले स्वीकार गरेका छन् । तर, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष पाण्डेको उपस्थितिलाई लिएर निर्वाचित क्यानले केही आशंका गरेको छ ।

निर्वाचित कमिटी स्रोत भन्छ, ‘नेपाल क्रिकेटमा उहाँको योगदान छ, जसको हामी सम्मान गर्छौं । तर, सबै कुरा उहाँ नै हो भने जसरी ल्याउन खोजियो । यसको पछाडि कुनै योजना त छैन ?’

यस्तै केही आशंका र आफ्नो बलियो उपस्थिति जस्ता विषयलाई लिएर निर्वाचित क्यानले आइसीसीले बनाउन लागेको सल्लाहकार समितिका लागि नाम दिएन । जसका कारण सीइओ डेभिड रिचार्डसन समिति घोषणा नै नगरी फर्किए ।

अबका सम्भावित विकल्प

नेपाल छाड्नु अघिको पत्रकार सम्मेलनमा आइसीसीका सीइओ रिचार्डसनले सल्लाहकार समिति सदस्यहरुको नाम घोषणाका लागि दुई साताको भाका राखेका छन् । र, यो बीचमा निर्वाचित क्यानलाई सहमतिमा लिने प्रयास हुने बताइएको छ ।

यदि आइसीसी र निर्वाचित समितिबीच सहमति भएमा उनीहरुको नाम राखेर सल्लाहकार समिति घोषणा हुनेछ । अन्यथा आइसीसी आफ्नै हिसावले अघि बढ्ने सम्भावना छ ।

सबै पक्षको सहमतिमा सल्लाहकार समिति बनेमा अदालतमा विचाराधिन मुद्दाको सहज अवतरण हुनेछ । नभए यो बीचमा फैसला आउने सम्भावनालाई पनि नकार्न सकिँदैन । यस्तो अवस्थामा क्रिकेट संघको विवाद थप जेलिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment