Comments Add Comment

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाः अन्तर्राष्ट्रिय उडानमा छोटो रुटको प्रयोग

भारतले नेपालगञ्ज र भैरहवा आसपासको आकाश प्रयोग गर्न दिने संकेत

Air Route Network
२४ भदौ, काठमाडौं । नेपालबाट हुने अन्तराष्ट्रिय उडानलाई छोटो रुट प्रयोग गर्न दिने समझदारी कार्यान्वयनसम्वन्धी समझदारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एजेण्डामा परेको छ ।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला भारतले नेपालबाट हुने अन्तराष्ट्रिय उडानलाई छोटो रुट प्रयोग गर्न दिने बताएको थियो । तर, एयर इन्ट्री प्वाइन्ट थप्नेबारे नेपालको नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इण्डियाबीच अझै सम्झौता हुन सकेको छैन ।

नेपाली पक्षले सम्झौताका लागि संयुक्त बैठकको प्रस्ताव गरे पनि भारतीय पक्षले कुनै प्रतिक्रिया जनाएको छैन । त्यसैले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा राख्न प्रस्ताव गरेको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीले भने, अनौपचारिक छलफल भइरहेको छ, सम्झौता हुन बाँकी रहेकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउन हामीले प्रस्ताव गरेका छौं ।’

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारतको भ्रमणमा जाँदैछन् । र, अहिले भ्रमण्डको एजेण्डा बन्दैछ ।

कहाँ-कहाँ थपिनेछ इन्ट्री ? 

नेपालले अहिले क्रस बोर्डर इन्ट्री एण्ड एक्जिटका लागि सिमरा इन्ट्री प्वाइन्ट मात्र प्रयोग गर्दै आएको छ । तर, यहाँ एयर ट्राफिक अत्यधिक हुनुका साथै यो काठमाडौं प्रवेशका लागि मात्रै उपयुक्त छ ।

अब नेपालले भैरहवा र पोखराबाट छिट्टै अन्तराष्ट्रिय उडान गर्ने तयारी गरिरहेको छ । अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ र यो एक वर्षभित्र सम्पन्न गर्ने योजना छ ।

यसका साथै पोखरामा पनि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम सुरु भइसकेको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा चार वर्षभित्र सक्ने गरी निर्माणका लागि सम्झौता भइसकेको छ ।
नेपाली अधिकारीहरुका अनुसार दुई देशबीच जनकपुर, भैरहवा र नेपालगञ्जमा क्रस बोर्डर एयर इन्ट्री प्वाइन्ट थप्ने समझदारी भइसकेको छ । नेपाली पक्षले सम्झौताका लागि अक्टोबर तेस्रो वा चौथो सातामा संयुक्त बैठक गर्ने प्रस्ताव समेत गरेको छ ।

तर, भारतीय एयरपोर्ट अथोरिटी अफ इण्डियाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

मन्त्रालयका एक अधिकारी भन्छन्, हामीले वार्ता टोलीसमेत बनाइसकेका छौं । तर, यसबारे भारतीय पक्षबाट कुनै रेस्पोन्स आएको छैन ।

नयाँ रुटहरु सञ्चालनमा आएमा इन्धन र समयको बचत हुनेछ । जसले अन्तराष्ट्रिय उडानको भाडादर पनि समायोजन हुने अपेक्षा गरिएको छ ।

अहिले नेपालबाट खाडी मुलुकहरुका लागि जाने विमानहरुले समेत सिमराबाट पटना, लखनउ हुँदै दिल्लीको एयर रुट प्रयोग गर्ने गरेका छन् । तर, नयाँ सम्झौता भएमा नेपालगञ्जको इन्ट्री प्वाइन्टबाट भारतीय आकाशमा प्रवेश गर्न सकिनेछ ।

भारतले गोरखपुर आशपासको आकाश सुरक्षाका कारण संवेदनशील रहेको बताउँदै आएका छ । त्यहाँ उसको एयर बेस रहेका कारण उसले आफ्नो आकाश सुरक्षाको दृष्टिले संवेदनशील रहेको बताउँदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment