Comments Add Comment

टेलिकमको सेवालाई गुणस्तरीय बनाउँछुः राजभण्डारी

के-के छन् नेपाल टेलिकमका नवनियुक्त प्रमुखको योजना ?

६ असोज, काठमाडौं । नेपाल टेलिकमकी नवनियुक्त प्रमुख कामिनी राजभण्डारीले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नै आफ्नो पहिलो काम हुने बताएकी छिन् । साथै निवर्तमान प्रमुख बुद्धिप्रसाद आचार्यले टेलिकम सुधारका लागि गरेका कामलाई पनि निरन्तरता दिने उनले बताइन् ।

Kamini-Rajbhandari
कामिनी राजभण्डारी

देशकै अग्रणी दूरसञ्चार प्रदायक कम्पनी टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त भएलगत्तै अनलाइनखबरसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘५३ प्रतिशतभन्दा बढी ग्राहक टेलिकमकै सेवा लिइरहेका छन् । टेलिकमले दिइरहेको सेवा र गुणस्तरमा कमी आउन नदिने गरी विश्वासिलो दूरसञ्चार कम्पनी बनाउने काम नै मेरो प्राथमिकतामा पर्दछ ।’

यसैगरी नयाँ-नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई समय परिर्वतसँगसँगै आउने सुविधा पनि प्रयोग गर्न दिने भण्डारीले बताइन् । समय-समयमा आइरहने समस्या समाधान गर्ने र टेलिकममा रहेका ४३ सयभन्दा बढी कर्मचारीहरुलाई प्रत्साहन गर्दै जनताको सेवामा काम गर्ने वातावरण बनाउने योजना पनि उनले सुनाइन् ।

‘समस्या नभएको होइन, सानातिना समस्या बारम्बार आइरहेको छ,’ अनलाइनखबरसँग टेलिफोन वार्तामा उनले भनिन् ‘ठूला समस्या छैनन्, त्यसको समाधान नै मेरो प्रमुख काम हो ।’

भण्डारीलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख पदमा नियुक्त गरेको छ । उनी यसअघि टेलिकममै प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक पदमा थिइन् ।

वुद्धिप्रसाद आचार्यको दुई वर्षे कार्यकाल सकिएपछि टेलिकम भदौ १९ गतेदेखि प्रमुखविहीन थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा यसअघि नियुक्त भएका आचार्य गैरप्राविधिक थिए ।

टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो । त्यसमध्येबाट अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment