Comments Add Comment

भोट दिने रुख र सूर्यमा, अनि माग्ने पहिचान ?

अखबार पढ्छु, ‘जनजाति महासंघको टोलीद्वारा पहिचान माग्दै प्रचण्डलाई ज्ञापनपत्र ।’ दैनिकजसो अखबारमा आउने समाचार हेर्दा लाग्छ, सबैका दाता प्रचण्ड हुन् । माओवादी पहिलो पार्टी हुँदा होस् वा तेस्रो हुँदा, सबैले केही माग्न पर्‍यो कि प्रचण्ड दैलोमा धाउँछन् । संघीयता, पहिचान, समावेशिता, महिला अधिकार, स्वशासन, आत्मनिर्णयको अधिकार, विशेष अधिकार, राष्ट्रिय स्वाभिमान, आर्थिक विकास सबै-सबै कुरा माग्न प्रचण्ड दैलोमा बिहानदेखि साँझसम्म लाइन लाग्छ । अखबार र प्रचण्ड दैलोको भीड देख्दा लाग्छ, प्रचण्डले चाहे भने सबै कुरा दिन सक्छन्, लिनेले मनग्गे लिन सक्छन् ।

Ram-ThapaMagarप्रचण्डकोमा माग्नेको भीड लाग्नेमा माओवादीभन्दा गैरमाओवादी नै बढ्ता छन् । कसैले पहिचान सहितको थारुवान राज्य हुनैपर्छ भन्छन्, कसैले महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनैपर्ने माग्छन् । कसैले देश बचाउन नेतृत्व लिइदिन आग्रह गर्छन् । प्रचण्ड जब सार्वजनिक समारोहमा सहभागी हुन्छन्, कांग्रेस, एमाले, मधेसी राप्रपाका नेताहरु भन्छन्, सबैको समस्या बुझ्ने नेता प्रचण्डजी नै हो । हाम्रो आशा तपाईसँगै छ । तपाईजस्तो डाइनामिक, गतिशील र परिवर्तनको चेतना भएको नेता नेपालमा छैन ।

कुरा जायजै लाग्छ । तर, कांग्रेस-एमालेको स्थायी समिति, पोलिट्ब्यूरो र केन्द्रीय समितिमा बसेर प्रचण्डलाई डाइनामिक नेता मान्ने ती नेता कस्ता होलान् ? मनमनै विचार गर्छु, ‘पार्टी कांग्रेस, नेता प्रचण्ड !’

पहिलो संविधान सभामा माओवादी पहिलो शक्ति थियो । पहिचान र अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नारा माओवादीको प्रमुख एजेण्डा थियो । २०६९ जेठ २ गते प्रमुख दलहरुबीच मिश्रति निर्वाचन प्रणाली, ११ संघीय प्रदेश, राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बिन्याससहितको शासकीय प्रणाली, संवैधानिक अदालतको प्रावधान रहेको न्याय प्रणालीमा सहमति भयो । तर, माओवादीभित्रको वैद्य समूह र संविधान सभाभित्र रहेको जनजाति सभासदहरुको समूह (ककस)ले त्यसको विरोध गर्‍यो र सहमतिमा हस्ताक्षर भएन । १४ जेठ २०६९ मा संविधान निर्माण नगरी संविधान सभा भंग हुनु त्यसैको परिणाम थियो ।

जब, संविधान सभा भंग भयो, जनजाति सभासद र नेताहरु फुत्किएको माछो ठूलो देख्न थाले । जनजाति नेताहरु कतिले प्रचण्डले संविधान सभा भंग गराएको कूप्रचारतिर लागे, कति प्रचण्ड ब्राह्मणवादी सोंच भएको नेता भन्न थाले । कतिलाई पहिचानभन्दा आफ्नै पार्टीको एकात्मक र हुकुमी फेरो प्रिय थियो । जब, संविधान सभाको दोस्रो निर्वाचन घोषणा भयो, जनजाति नेताहरु आ-आफ्नै डम्फु बजाउन थाले । तमुवान, मगराँत, किराँत जिन्दावाद भन्ने जनजाति नेताहरुका कफन फेरिए, नारा फेरिए, बोली फेरिए । उनीहरु भन्न थाले, ‘भोट केमा सूर्यमा, अरु सबै बाइबाई, एमाले हाईहाई ।’

कतिले रुखको गुणगानमा जुत्ताको तलुवा घोटे, कतिले सूर्य छेक्न छाताको छहारी लिए । सार्वजनिक सभा हुन्थ्यो, केपी ओली कुर्लन्थे, ‘जातीय बितण्डता रोक्न एमालेलाई भोट दिनुस्…। केको पहिचान ? अशोक राईको पहिचान एमालेको उपाध्यक्ष कि राईको छोरो ?’

पहिचानको वकालत गर्ने माओवादी तेस्रो दलमा खुम्चियो । पहिचानको विरोध गर्ने कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो पार्टी बने

नजिकै बसेका जनजाति नेता त्वमशरणम् गर्थे । सुशील कोइरालाको बोलीमा पनि त्यस्तै गन्ध आउँथ्यो । तर, जनजाति नेताहरुले नारा लगाई रहे, ‘भोट केमा सूर्यमा, नेपाली कांग्रेस जिन्दावाद ।’

चुनावपूर्व माओवादीले प्रस्ताव राख्यो, पहिचान र उत्पीडितहरुको अधिकारका पक्षमा लड्नेहरु मिलेर चुनाव लडौं । तर, मान्ने कसले ? रुख, सूर्य, गाई र हलोमा भोट हालेर पहिचान खोज्नेहरुले मान्ने कुरा थिएन । उनीहरुले माओवादी प्रस्ताव अस्वीकार गरे । अरु त अरु नै भए । तर, पहिचानको वकालत गर्ने संघीय समाजवादी पनि एक्लै चुनावमा होमियो । उसले अरुको भोट काट्नै कुरै थिएन, काट्थ्यो त माओवादीकै जनजाति मत काट्थ्यो । अन्ततः ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ भनेजस्तै भयो । पहिचानको वकालत गर्ने माओवादी तेस्रो दलमा खुम्चियो । पहिचानको विरोध गर्ने कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो पार्टी बने ।

चुनावको खेल खत्तम भयो । तर, जनजाति नेताहरुको बिन्तीपत्रको चाङ घटेन । न उनीहरुले आफ्नो कर्मप्रति समीक्षा गरे, न भविश्यप्रतिको दुरगामी चिन्ता नै । बरु, ज्ञापनपत्रका फाइल बोकेर फेरि लाजिम्पाट धाउन थाले र भने, ‘प्रचण्डजी, हाम्रो नेता तपाई नै हो, हामीलाई पहिचान सहितको संघीयता चाहियो ।’

उनीहरुको माग यत्तिमै सीमित थिएन । उनीहरु भन्थे, ‘खबरदार ! पहिचानसहितको संघीय संविधान भएन भने मान्दैनौं । तपाईंहरु खस नेताले मनपरि गर्न पाउनुहुन्न ।’ उनीहरुको कुरा सुन्दा मनमनै हाँसो लाग्छ, रिस पनि उठ्छ । चुनावको दिनसम्म राजा त्रिभुवन र महेन्द्रका अनुयायी जस्ता देखिने नेताहरुको ज्युहजुरी गर्नेहरुले प्रचण्डलाई खसवादी भन्दा लोक कति हाँस्दो हो ? मनमनै सोच्छु- यिनको बुद्धि कहिले आउला ?

प्रचण्ड प्रधानमन्त्री भएदेखि फेरि पहिचानवादीको बालुवाटारमा लाइन लागेको छ । उनीहरु भन्छन्, ‘नयाँ संविधानले हामीलाई पहिचान दिएन, अधिकार दिएन । हामी मान्दैनौं, यो कालो संविधान हो ।’

नयाँ संविधान प्रगतिशील चरित्रकै छ । तर, पहिचान, समावेशिता, समानुपातिक प्रतिनिधित्व, भाषिक, सांस्कृतिक अधिकार लगायतका धेरै कुरा संविधानमा छुटेका छन् । संविधान संशोधन हुनुपर्छ, पहिचान र अधिकार स्थापित हुनैपर्छ, यो आजको अनिवार्य आवश्यकता हो । तर, म ती जनजाति नेताहरुलाई सोध्न चाहन्छु, ‘पहिचानसहितको संघीयता नभएको माओवादी र प्रचण्डका कारणले हो ? होइन भने तिम्रो दवाव केपी ओली, शेरबहादुर देउवा, कमल थापाहरु विरुद्ध हुनु पर्दैन ?’

प्रचण्डलाई भन्न चाहन्छु, तपाईंको दैलोमा पहिचान र स्वाभिमान खोज्न आउने जनजाति नेताहरुलाई भनिदिनोस्, रुख र सूर्यमा भोट हालेर पहिचान खिर्राको रुखमा अनार फलाउने सपनाजस्तै हो

एकातिर सिस्नोको घारी छ, अर्कोतिर स्याउको रुख । कांग्रेस, एमाले, राप्रपा र संघीय समाजवादीका जनजाति नेताहरु सिस्नोको घारीमा मल हाल्छन्, सिंचाई गर्छन् र भन्छन्, ‘स्याउको बोट सुकेकोमा ज्यादै चिन्तित छौं ।’ उनीहरु थप्छन्, ‘यो बोटमा जसरी नि स्याउ फल्नैपर्छ ।’

तर, नेतागण ! सिस्नोमा मलजल गरेर स्याउ नफलेको चिन्ता गर्न मिल्छ ? पहिचान, अधिकार, आन्तरिक राष्ट्रियता, भाषिक, सांस्कृतिक बहुलता र विविधताको बिरोध गर्नेहरुको झण्डा समातेर, उनीहरुलाई बलियो बनाएर पहिचान स्थापित हुन सक्छ ? ‘काँसी जानु कुतिको बाटो’ भन्ने उखान जनजाति नेताहरुकै लागि बनेको त होइन ? आफूले आत्मसमीक्षा गर्नु पर्दैन ?

जनजाति नेताहरु, तपाईंहरु पहिचान, संघीयता, समावेशिताका लागि प्रचण्ड र माओवादीलाई दवाव दिनै पर्दैन, घेरा हाल्नै पर्दैन, खबरदार भन्नै पर्दैन । बरु, उत्पीडित जातिलाई नन्दी भिरिङ्गी, अराष्ट्रिय तत्व, पृथकतावादी, देशद्रोही भन्नेहरुलाई दवाव दिनुस् । शेरबहादुर देउवा र केपी ओलीलाई दवाव दिनुस् । बहुलता भएको देशलाई गाईको खुरले कुल्चन खोज्ने कमल थापालाई दवाव दिनुस् ।

उनीहरुको दैलोमा देउसी खेल्नुस्, जुलुस गर्नुस् र भन्नुस्, ‘खबरदार ! हाम्रो पहिचान चाहिन्छ, स्वाभिमान चाहिन्छ, नेपालभित्रै बराबरीको अधिकार चाहिन्छ ।’ के तपाईहरुसँग हिम्मत छ ? ओली, देउवा र रामचन्द्रसँग रुझेको बिरालोझैं लुसुक्क परेर, भोट केमा, रुखमा, नेकपा एमाले जिन्दावाद भनेर पहिचान पाइन्छ भन्ने भ्रमजालमा नपर्नुस्, हामीलाई पनि नपार्नुस् ।

अन्तिममा, प्रचण्डलाई भन्न चाहन्छु, तपाईंको दैलोमा पहिचान र स्वाभिमान खोज्न आउने जनजाति नेताहरुलाई भनिदिनोस्, रुख र सूर्यमा भोट हालेर पहिचान खिर्राको रुखमा अनार फलाउने सपनाजस्तै हो । कि तपाईंहरु आफ्नो पार्टी छोडेर आउनुस्, कि तपाईंका पार्टीका नेताहरुलाई पहिचान र स्वाभिमानको पक्षमा सहमत गराएर आउनुस् ।

अनि, जनजाति दाजुभाइ दिदीबहिनी हामी पहिला हाम्रै नेताहरुलाई भनौं, ‘एमाले कांग्रेसमा बसेर पहिचानको आशा राख्नु बालुवामा पानी हाल्नुजस्तै हो ।’ जनजाति अगुवाहरु, अब त चेत । कि फेरि पनि पहिचानका नाममा रुख, सूर्य र हलोमा भोट माग्ने विचार छ ?

(लेखक थापामगर जनजाति युवा महासंघको केन्द्रीय उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment