१९ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रणजित रायले पछिल्लो समय भइरहेको उच्चस्तरीय भ्रमण केवल शिष्टाचारको लागिमात्र नभएको बताएका छन् । उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको उनको दाबी छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भारतीय राजदूत रायले पछिल्ला उच्चस्तरीय भ्रमणहरुले नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपेको बताए । उनले भने, ‘द्विपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने राजनीतिक समझदारी बनेको छ, यो ठूलो उपलब्धि हो ।’
द्विपक्षीय सम्बन्धमा एक अर्को देशलाई हित हुने गरी प्रोजेक्टहरु अघि बढाउनुपर्ने पक्षमा आफूहरु रहेको उनले बताए । राजदूत रायले भने, ‘हामीले थुपै्र सम्भावित प्रोजेक्टहरु पहिचान गरेका छौं, जस्तो हाइड्रोपावर, भौतिक पूर्वाधार, व्यापार तथा लगानीसँग सम्बन्धित विषयहरु छन्, यो प्रोजेक्टहरुलाई कसरी अघि बढाउने भन्नेमा हामी गम्भीर छौं ।’
भारतले नेपालमा प्रोजेक्टहरु लिने तर समयमै काम नगर्ने नेपालमा गुनासो रहेकाले नै दुवै देशको सरकारले संयुक्त अनुगमन संयन्त्र बनाउने सहमति गरेको उनले बताए ।
भारतीय राजदूत रायले भने, ‘यो भारतले गरेन, त्यो गरेन भनेर यहाँ विभिन्न टिकाटिप्पणी हुने गरेको छ, अब संयुक्त संयन्त्रले काम गर्छ, प्रोजेक्टसँग सम्बन्धित पक्षलाई बोलाएर यसबारेमा प्रष्ट पार्छ ।’
उनले अघि भने, ‘मलाई पूर्ण विश्वास छ, अनि आशा गरौं कि अब एक वर्षपछि प्रोजेक्ट कार्यान्वयन भएन भन्ने गुनासो रहँदैन र हुँदैन ।’
भारत नेपालको साथसाथमा रहेर विकास गर्न चाहेको भन्दै राजदूत रायले भने, ‘अब सबै खाले अविश्वास, आशंका, द्विविधाहरु हटाउनुपर्छ, नेपालमा अशान्ति भए भारतलाई कहिल्यै फाइदा हुँदैन, दुवै देश विकास भए दुवै देशका नागरिकहरुलाई फाइदा हुन्छ ।’
प्रतिक्रिया 4