दसैं नेपालीहरुको घर-घरमा प्रवेश गरिसकेको छ । दसैं नेपालीहरुको महान् र ठूलो पर्व पनि हो । जसले गर्दा यसका रमाइला कुराहरु धेरै छन् । हामीले नेपाली चलचित्र र सांगीतिक क्षेत्रका केही कलाकारलाई दसैंको रमाइला र नरमाइला पक्ष के-के होलान् भनेर सोधेका छौं ।
केकी अधिकारी (नायिका)
मलाई दसैं पर्व भन्ने वित्तिकै आफैमा रमाइलो लाग्छ । मुख्यतया यो चाडको रमाइलो भनेको लामो समयदेखि भेटघाट नभएका आफन्तसँग भेट्न पाउनु हो । यस्तै, बर्ष दिनभरी काम गरेर थाकिएको हुन्छ, आफन्त र परिवारलाई समय दिन पाइदैन । यो चाडमा भने परिवार र आफन्तसँग समय बिताउन पाइन्छ । यो निकै रमाइलो छ । दसैंले काटमारलाई प्रोत्साहन दिन्छ । दसैंंमा काटमार भएको मलाई फिटिक्कै मन पर्दैन ।
नीता ढुंगाना (नायिका)
मलाई दसैं पर्व निकै रमाइलो लाग्छ । यसमो रमाइलो पक्ष भनेको ठूलाबडाको हातबाट टिका लगाउन पाइन्छ । आर्शिवाद थाप्न पाइन्छ । यस्तै, लामो समयदेखि नभेटेका इष्टमित्र र आफन्त अनी साथीभाइलाई भेट्न पाइन्छ ।
यसको नरमाइलो पक्ष भनेको काटमार हो । जनावर काटेको मलाई खास मनपर्दैन । यस्तै, मानिसहरु जुवा तास खेल्छन्, पैसा सक्छन् । यो पनि दसैंको नराम्रो पक्ष हो जस्तो लाग्छ ।
जुना प्रसाई(गायिका)
मलाई यो चाडको मुख्य रमाइलो पक्ष भनेकै पारिवारिक भेटघाट नै हो । परिवारसँग भेटघाट गरेर रमाइलो गर्न पाउने भएकाले दसैं विशेष मनपर्छ । यसको नराम्रो पक्ष भनेकै अनावश्यक देखासिकी हो । अरुको हेरेर, देखेर मानिसहरु अनावश्यक खर्च गर्न खोज्छन् । जुवातास खेल्ने काम पनि मलाई मनपर्दैन । पशु जसरी काटमार गरिन्छ, यसको अर्को नराम्रो पक्ष हो ।
माला लिम्बु(नायिका)
दसैंको रमाइलो भनेकै आफ्ना आफन्तसँग लामो समयपछि हुने भेटघाट नै हो । अर्कोकुरा, दसैंमा मिठो मिठो खाइन्छ । हुनत, सधै नै मिठो नै खाइन्छ । दसैंको नरमाइलो भनेको, काठमाण्डौ सुनसान हुन्छ । यसैले, काठमाण्डौमा बस्न निकै दिक्क लाग्छ ।
रीस्ता बस्नेत(नायिका)
दसैंको रमाइलो त असोज महिना लागेपछि नै सुरु हुन्छ । दसैंमा लाग्ने घामको मनमोहकता नै छुट्टै हुन्छ । यसमाथि साथीभाई र आफन्तसँगको भेटघाटले मन प्रफुल्लित बनाउँछ । दसैंको स्पेशल मासु पनि हो । बर्षौदेखि भेट नभएका आफन्तसँग भेट्न पाउनु यसको राम्रो पक्ष हो । दसैंमा खेलिने तास पनि एकदमै विशेष लाग्छ मलाई । अरु बेला तास खेल्नु र दसैंमा खेल्नुमा फरक छ । दसैंका नरमाइला पक्ष पनि छन् । काठमाण्डौ सुनसान हुँदा भने कस्तो कस्तो लाग्छ । तर, म त दसैंमा रमाइलो नै रमाइलो कुरा मात्र देख्छु ।
प्रतिक्रिया 4