Comments Add Comment

प्रधानमन्त्री शनिबार भारत जाँदै, गोवामा को को भेला हुँदैछन् ?

prachanda at airport (2)
२८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार बिहानै भारत जाने भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैंका अवसरमा आयोजना गर्न लागेको चियापानमा प्रधानमन्त्री सहभागी नहुने भएका छन् ।

भारतको गोवामा शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् ।

गोवामा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै चीनबाट प्रस्थान गरेका हुन् ।
शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गरेका छन् ।

शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्रराष्ट्रका प्रमुखहरू कम्बोडियाका नरेश नरोडम सिंहामोनी र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ-आफ्नो मुलुकमा औपचारिक निम्तो गरेका थिए ।

राष्ट्रपति सी जिनपिंगको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीन जना उच्चस्तरिय नेताहरु पनि संलग्न छन् ।
त्यसो त नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले बेइजिङ पुगेर सी जिनपिङलार्इ नेपाल भ्रमणको निम्तो दिएका थिए । तर, उनी नेपाल आएनन् ।

यसरी हुँदैछ ब्रिक्स सम्मेलन

ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) गरी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ नामक फोरम बनेको हो । यसको शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्य राष्ट्रमा प्रमुख एवं सरकार प्रमुखहरुले भाग लिने प्रचलन छ ।

यस वर्षको आठौं शिखर सम्मेलन गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन चल्नेछ । सम्मेलन भारतले आतिथ्य गर्दैछ । भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरेको हो ।

वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनेछन् ।

ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिविधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा विगत ७ वर्षदेखि आपसी सद्भावनाका हात अघि बढाएका छन् ।

यसपटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि नितम्त्याएका छन् ।

त्यस्तै गैह्रबिम्स्टेकका अन्य मित्रराष्ट्र प्रमुखहरू अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि निमन्त्रणा गरिएको छ ।

यसपालिको शिखर सम्मेलनको दोश्रो सत्रमा भने ब्रिक्स र बिम्स्टेक दुबै सदस्यराष्ट्रबीच क्षेत्रीय सहयोगमा सहजीकरण होस् भन्ने उद्देश्य राखेर संयुक्त बैठक सञ्चालन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment