Comments Add Comment

मलेसियाबाट बिरामी पूर्वलडाकूको वेदनाः घर फर्कन सकिनँ

Dipak Hamal (1)

दशैंको टीकाको दिन थियो, मलेसियाको राजधानी क्वालालम्पुरबाट दीपक हमालले घर सम्झिए ।

दीपककी आमाले दशैंमा टीका लगाउनु अगाडि सधैं दही खुवाउनुहुँदोरहेछ । त्यो सम्झेर उनी नजिककै पसलसम्म लतारिँदै गएर सोधे, ‘दही छ ?’

पसलेले प्रतिप्रश्न गर्‍यो- ‘तिमीसँग पैसा छ ?’

लामो समय ननुहाएको, जिङग्रिङ्ग दाह्री भएको, अनि फोहोर कपडा लगाएको देखेर पसलेलाई लाग्यो, यिनी पक्कै मगन्ते हुन् । त्यसैले पसलमा दही हुँदाहुँदै पनि उसले भन्यो- ‘दही छैन ।’

दही नपाएपछि आँखाभरि आँसु पार्दै दीपक फर्किए ।

वैदेशिक रोजगारीबाट जीवनमा खुसी ल्याउने सपना सजाउँदै हुम्लाका दीपक मलेसिया आएका थिए । तर, उनको नियति तावाबाट उछिट्टएिको माछा भुङ्ग्रोमा पुगे झैं भयो ।

द्वन्द्वकालमा एक समय छापामार बनेर हिँडेका दीपक घर-व्यवहारको जिम्मेवारीले थिचेपछि विदेशिए । तर, यहाँ पनि उनको जीवनले सही बाटो समाएन ।

उतिबेलाका जनयुद्धका नायक अहिले देशका प्रधानमन्त्री छन् । तर, शरीरमा लागेका गोलीका छर्रा अझै नसेलाएका दीपक जस्ता धेरै युवा परदेशी भूमिमा बेसहारा भएका छन् । आफ्नै पाखुराको बलमा केही गर्छु भनेर आएका उनी अहिले हल न चल बिरामी परेर सहयोगी हातको पर्खाइमा छन् ।

राडीकोट ९ हुम्लाका दीपकको घर सदरमुकाम सिमिकोटबाट पैदल हिँडेर ठ्याक्कै एक दिनमा पुगिन्छ । अहिलेसम्म सदरमुकाममै यातायातको सुविधा नपुगेकाले उनको गाउँसम्म मोटर पुग्ने कुरै भएन । सरकारी कामकाज गर्नुपर्‍यो भने बाटोमा एक दिन बास बसेर मात्र सदरमुकाम पुगिन्छ । व्यापारिक काममा जाँदा तिब्बती नाका हिल्सा पुग्न तीन दिन लाग्छ ।

गाउँमा जनयुद्धको लहर चल्दा दीपक पनि बन्दुक बोक्न बाध्य भए । त्यस क्रममा उनी जुम्ला र कालिकोटको युद्धमा समेत सहभागी भए । चाहेर-नचाहेर करिब डेढ वर्ष जति उनी जनमिलिसिया बन्न पुगे ।

Dipak Hamal (2)शरीरमा लागेका गोलीका छर्राहरु निकाल्न भारत जाँदा खसी-बाख्रा नै बेच्नुपरेको तीतो अनुभव छ दीपकसँग ।
सानैदेखि पढ्नमा रुचि राख्ने दीपकलाई देशको परिस्थितिले गाउँमै बस्ने वातावरण मिलेन । पढाइ छाडेका उनले पुनः सदरमुकाममा डेरा जमाएर मानसरोवर उच्च माविवाट १२ कक्षासम्म पढ्न सफल भए । उच्च शिक्षा पढ्ने उनको इच्छालाई भने आर्थिक अभावले अवरोध गरिदियो । उच्च शिक्षा हासिल गरेर गाउँमै शिक्षक बन्ने उनको धोकोे पूरा हुन पाएन ।

परिवारको जेठो छोरा भएकोले पनि धेरै जिम्मेवारी थियो दीपकको काँधमा । केही लेखपढ भएको कारण आफ्नै ठाउँमा केही गरौ भन्ने भावना थियो । तर, उनलाई विश्वास र साथ दिने कोही थिएनन । बुवा, आमा, दुई भाइ, दुई बहिनी, श्रीमती र छोरीको जिम्मेवारी बोकेका उनले विदेशिने सुर कसे ।

हुम्लामा एक बाली मात्र फल्ने फापर, जौ, गहुँ, आलु र धानले परिवारलाई छाक टार्न समेत हम्मे-हम्मे थियो । छिटफुट रुपमा टिप्न जाँदा ल्याइने यार्सागुम्बाको कमाइ नै मुख्य आर्थिक स्रोत थियो । विदेशमा गएर केही कमाएर र्फकेपछि गाउँमै केहि गर्ने सपना बुनेर विदेशिएका दीपक यतिबेला क्वालालम्पुरमा अलपत्र अवस्थामा छन् ।

मलेसियामा रोजगारीका लागि आएका हुम्लाका बासिन्दा निकै कम छन् । जिल्लाका तीनजना मात्रै मलेसियामा रहेको उनको ठम्याइ छ । ‘पहिला उनीहरुसँग पनि सम्पर्क हुन्थ्यो, यो दुःखको बेलामा कोही पनि नहुँदो रहेछ’, अनलाइनखबरसँगको कुराकानीमा उनले भने ।

दश महिनाअघि गाउँकै साहु महाजनसँग ऋण गरेर जम्मा पारेको पैसा सिद्ध ग्लोबल सर्भिस म्यानपावरलाई बुझाएर उनी सेक्युरिटी गार्डको काममा मलेसिया आएका हुन् । मलेसिया आइसकेपछि नियमित काममा जुटे । नेपालमा काढेको ऋण तिर्न मात्र के भ्याएका थिए, उनी एकाएक बिरामी भए ।

एक दिन उनी सेक्युरिटी पोस्टमा बसिरहेका थिए, अचानक ढले । कम्पनीले एकपटक उपचार त गरायो, तर पैसा आफैंले तिर्नुपर्‍यो । त्यसपछि विस्तारै मुटु पोल्न थाल्यो, क्रमशः दाहिने अंगहरु चल्न छाडे । उनी शरण लिन नेपाली दूतावासमा आइपुगे । दूतावासको पहलमा कम्पनीले पासपोर्ट र घर फिर्तीको लागि अध्यागमनबाट पास लिएर हातमा थमाइदियो । तर, टिकट आफैं काट्नुपर्ने शर्त राख्यो । त्यसमा पनि दीपकले सहमति जनाए ।

तर, परिस्थिति उनले सोचेको जस्तो भएन । यतिबेला दीपक कसैको सहारा बिना उठबस गर्न समेत नसक्ने भइसकेका छन् । ‘यस्तो कसरी भयो’, ‘कठैबरा बिचरा’ भन्नेहरु धेरै भेटिए पनि मनकारी र सहयोगी भने उनले आजसम्म पाउन सकेका छैनन् ।

Dipak Hamal (3)

क्वालालम्पुरमा रहेको माइहोटलले दीपकलाई करिब एक महिनादेखि खान र बस्न दिएर सहयोग गरिरहेको छ । घर र्फकने केही उपाय नभएपछि यतिबेला उनी दानवीर खोजिरहेका छन् । सहयोगीहरूको खोजी गर्दागर्दै उनलाई अध्यागमनले दिएको पासको अवधि पनि सकिएर फेरि बनाउनुपर्ने अवस्था आएको छ ।

यतिबेला दीपकसँग औषधि किन्नका लागि समेत एक पैसा छैन । नेपाल फर्कन कसरी हो, कुनै टुंगो छैन । अनुनय गर्दै उनी भन्छन्, ‘कोही दानवीर हुनुहुन्छ भने सहयोग गर्नुस्, म नेपाल फर्कन चाहान्छु । सञ्चो भएर आफ्नै बारीमा स्याउ फलाउँछु । आफ्नै भीर पखेरामा यार्सागुम्बा टिप्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment