+
+
Shares

दशैंको छ दिनमै ५३ जनामा डेङ्गु

रासस रासस
२०७३ कात्तिक १ गते १४:२७

dengue

१ कात्तिक, चितवन । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिए ।

अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । ‘चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,’ केसीले भने, ‘नियन्त्रण अभियान भने जारी राखेका छौं ।’

दशैंको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।

‘लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,’ महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्छन् ।

बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?