Comments Add Comment

‘सशस्त्र प्रहरीले निर्दोषलाई फसायो’

२ कात्तिक, रौतहट । रिसिइबी साँध्न अरुको इसारामा सशस्त्र प्रहरीले निर्दोष व्यक्तिलाई फसाएको आरोप रौतहटमा लागेको छ ।

APF-Logoएक साता अघि रौतहटको भसेडवा ६ का भुपेन्द्र महतोलाई सशस्त्र प्रहरीको सन्तपुर बेसले पाँच समय ग्राम चरेस र तीन थान गोलीसहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले महतोलाई पक्राउ गरी ना ३२ प ७२५० नम्बरको मोटरसाइलमा खानतलासी गर्दा लुकाइ राखेको लागुऔषध र गोली बरामद भएको थियो ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सो मोटरसाइकल दुई पटक सम्म जाँच गर्दा प्रहरीले केही फेला पारेको थिएन तर तेस्रो पटक सूचना दिने व्यक्तिसँगको टेलिफोन सम्पर्क पछि मात्रै खोजतलास गर्दा सशस्त्र प्रहरीले मोटरसाइकलबाट ती सामान बरामद भएको थियो ।

‘एक व्यक्तिले दशैंका बेला छिमेकमा भोज खान बोलाएको बेला मोटरसाइकल बाहिर छोडर जाँदा फसाउने नियतका साथ कुनै व्यक्तिले चरेस र गोली मोटरसाइकलमा लुकाएको थियो,’ पक्राउ परेका महतोका दाजु चन्द्रेकत महतोले भने, ‘यो घटनामा सशस्त्र प्रहरीका घुमुवा संलग्न छन् । घुमुवा कै कारण सशस्त्र प्रहरी अरुको इसारामा चलि रहेको छ ।’

महतोसँग बरामद भएका तीन वटै गोली छुट्टाछुट्टै हतियारमा लाग्ने खालका, पुरानो र खिया लागेको छ । यसरी कुनै व्यक्तिसँग लागुऔषधसँगै तीन थरीका खिया लागेका गोली बरामद हुनुले पनि शंका उत्पन्न गरेको छ ।

व्यक्तिगत रिसिवीमा सशस्त्र प्रहरीलाई कसैले प्रयोग गरेको आशंका गाउँलेहरुको छ । गाउँमा फरक राजनीतिक विचार भएका कारण महतोलाई फसाइएको गाउँलेहरुको समेत दाबी छ । यसअघि पनि सोही क्षेत्रमा एक वर्ष अघि एक निर्दोष व्यक्तिलाई सशस्त्र प्रहरीका घुमुवाले फसाउन खोज्दा जिल्ला प्रशासन कार्यालयमा विवाद उत्पन्न भएको थियो ।

‘लागुऔषध कै कारोवार गर्ने व्यक्ति भए पनि पुराना गोलि बोकेर कोही हिँड्दैन,’ प्रहरी स्रोत भन्छ, ‘लागुऔषध र गोली लुकाइएको सो मोटरसाइकल दुई दिनसम्म पनि अरुले चलाउँदा पक्राउ परेन तर भुपेन्द्र महतोले चलाउने बितिकै उनी पक्राउ परे ।’

आर्थिक प्रलोभनमा पर्ने घुमुवा प्रहरीका कारण संगठन बदनाम भएको धेरै उदाहरणहरु छन् । भुपेन्द्रको गिरफ्तारीले पनि सशस्त्र प्रहरीको बदनाम गराएको स्थानीयको दाबी छ ।

पक्राउ परेका महतोलाई लागुऔषध तथा हातहतियार मुद्दामा म्याद थपेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अनुसन्धानका लागि राखिएको छ । महतोको साथबाट बरामद भएको चरेसलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment