३ कात्तिक, मुगु । मध्यपश्चिमको सबैभन्दा बिकट जिल्ला मुगु सडक सञ्जालमा जोडिएपछि यहाँको जनजीवनमा ब्यापक फेरबदल आएको छ । यसैक्रममा मुगुको सदरमुकाम लगायत आसपासका जिल्लाहरुमा आधुनिक संरचना बन्ने कार्यले तीव्रता पाएको छ ।
निर्माण सामाग्री बोकेका गाडीहरु सदरमुकाम गमगढीनै पुग्ने भएकाले सदरमुकाममा पक्की घरहरुपनि बन्न थालेका छन् । सदरमुकामसँग जोडिएका जिल्लाहरुमा पनि जस्ताले छाएको घर बनाउने होडबाजी नै चलेको छ ।
वस्तीका लागि उपयुक्त भौगोलिक अवस्थाको अभावका कारण मुगुका गाउँहरु साना र घनावस्तीका छन् । यसका कारण मानिसहरुले चाहेर पनि जस्ताले छाएको घर बनाउन सकेका छैनन् ।
स्थान अभावका कारण मुगुका गाउँहरुमा परम्परागत घरको छानोमा अन्न झार्ने, बिस्कुन सुकाउने कार्य हुन्छ । तर जस्ताका घरहरुको प्रचलन बढेपनि आफुहरुले स्थान अभावका कारण परम्परागत घरमै चित्त बुझाउनु परेको कार्कीवाडाका तिलक कार्कीले गुनासो गरे ।
घर वरिपरी खाली ठाउँ हुनेहरुले जस्ताले घर छाउन थालेपनि ठाउँ नहुनेहरुका लागि भने पहुँच पुगेर पनि सुविधा उपभोग गर्न नसक्ने अवस्था बनेको छ ।
जस्तापाता लगायतका निर्माण सामाग्री सदरमुकाम गमगढीसम्म कोटरले पुर्याउँछ । त्यसपछि खच्चर र मानिसहरुले गाउँगाउँसम्म पुर्याउँछन् । जस्तापाता खतथा कंक्रिटका घरहरु निर्माण हुन थालेपनि मुगुमा परम्परागत शैलीका घरहरु क्रमसः लोप हुनसक्ने खतरातर्फ सचेत हुन यहाँका अगुवा बुद्धिजीवीले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4