
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफी दिन युएईलाई आग्रह गरेका छन् ।
विहीबार नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले दार्चुलाका बमलाई आममाफीको व्यवस्था गर्न भनेका हुन् ।
भेटमा राजदूत नक्वीले त्यसबारे आफू युएई फर्केर सरकारसँग छलफल गर्ने बताएका थिए । नेपाल युएईको पुरानो मित्र भएको भन्दै उनले दुई देशको सम्बन्ध तथा प्रधानमन्त्रीको चासो सम्बोधनका लागि हरसम्भव प्रयत्नशील रहने बताएका थिए ।
सिंहदरबारमा भएको भेटमा राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वर्ल्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री प्रचण्डलाई निम्तोसमेत दिएका छन् । राजदूत नक्वीले ऊर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिनसक्ने भन्दै त्यसकालागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले पनि निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।