Comments Add Comment

लोकमानसिंहलाई नहटाउनु भन्दै बालुवाटारमै प्रचण्डलाई धम्की !

एसडी मुनीलाई कसले पुर्‍यायो बालुवाटार ?

prachanda-(4)

११ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन शक्ति केन्द्रहरुसमेत सक्रिय बनेका छन् । यसैक्रममा नेपाली कांग्रेसका एकजना सांसदले भारतीय बुद्धिजीवी एसडी मुनीलाई बालुवाटारमा पुर्‍याएर प्रधानमन्त्री प्रचण्डलाई धम्की दिएका छन् ।

एसडी मुनीलाई लिएर बालुवाटार जाने व्यक्ति हुन् कांग्रेस सांसद अमरेशकुमार सिंह । सिंहले प्रचण्डलाई महाअभियोगको पक्षमा लागेर भारतसँग निहु नखोज्न धम्की दिएको स्रोतले बताएको छ ।

नेपाल-भारत सम्वन्धबारे एक छलफलमा सहभागी हुन यसैसाता एसडी मुनि नेपाल आएका थिए । यहीबेला सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे । महाअभियोग गर्दा भएलगत्तै अमरेश एसडी मुनीसँगै बालुवाटार पुगेका थिए ।

भेटमा अमरेशले प्रचण्डलाई ‘धोकेबाज’सम्म भनेको स्रोतले बतायो । साथै उनले माओवादी लडाकूहरुले चिनियाँ पैसा खाएर लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पेश गरेको भन्दै प्रचण्डसँग ‘अब भारत रिसायो’ भनेर अत्याएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई महाअभियोगको पक्षमा नउभिन केही भारतीय नेता एवं कूटनीतिज्ञबाट समेत दबाव परेको स्रोतको दाबी छ ।

प्रचण्डले लोकमानलाई हटाउन कम्मर कसेको खबर पाएपछि कांग्रेस सांसद अमरेश नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एडी मुनीलाई लिएर केही दिन पहिले बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारतको राजकीय भ्रमणमा रहँदा लोकमानले लडाकू शिविरको फाइल खोल्छु भनेर धम्क्याएपछि प्रचण्ड र लोकमानको सम्वन्ध बिगि्रएको छ । यही कारणले माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड अहिले महाअभियोग पारित गर्ने पक्षमा उभिएका छन् । यद्यपि उनले आफू केपी ओली प्रधानमन्त्री भएकै बेलादेखि लोकमानलाई कारवाही गर्ने पक्षमा रहेको बताएका छन् ।

कार्कीलाई जोगाउन अमरेश लगायतका कांग्रेसकै नेताहरु लागेका छन् । यसमा केही भारतीय कूटनीतिज्ञहरुको पनि चासो देखिएको छ ।

माओवादी उच्च स्रोतले बताएअनुसार एसडी मुनीलाई लिएर बालुवाटार पुगेका कांग्रेस सांसद सिंहले प्रधानमन्त्री प्रचण्डलाई ‘भारतले यो अन्तिमपटक विश्वास गरेको थियो, अब कहिल्यै गरिन्न,’ भन्दै धम्क्याएका छन् ।

लगातारको प्रयासपछि अनलाइनखबरसँग सम्पर्कमा आएका सिंहले मुनीलाई लिएर बालुवाटार गएको स्वीकार गरे । प्रचण्ड र आफ्नो भेट नियमित हुने गरेको भन्दै उनले भने, ‘एसडी मुनी मेरो गुरु हो, प्रचण्ड र बाबुरामले पनि गुरु मान्छन् ।’

तर, लोकमान प्रकरणमा आफ्नो कुुनै धारणा र चासो नरहेको भन्दै उनी पन्छिए । यसबारे पार्टीले जे निर्णय गर्छ, आफूले त्यसलाई स्वीकार गर्ने पनि कांग्रेस नेता सिंहले बताएका छन् ।

तर, स्रोतको दाबी छ, विगतमा लोकमानलाई अख्तियार प्रमुख बनाउन प्रमुख दलहरुलाई दबाव दिने व्यक्तिले अहिले उनलाई जोगाउन दबाव दिनु स्वाभाविकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment