Comments Add Comment

प्रणव मुखर्जीः ‘नयाँ शक्ति’मा असफल, पुरानै पार्टीमा सफल !

गान्धी परिवारले 'धोका' दिँदा प्रधानमन्त्री पद उम्कियो

pranab-mukherjee

१७ कात्तिक, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा वीरभूम जिल्ला हुँदै कुई नदी बहन्छ । करिब ७० वर्षअघि कम्मरमा रुमाल बेरेका एकजना बालक टाउँकोमा कितावको खात लगाएर यही नदी पार गर्दै कोषौं पर रहेको किर्नाहार हाइस्कुल जाने गर्थे । उनै बालक आज भारतको राष्ट्रपति पदमा आसीन छन् । उनी आजदेखि नेपालको तीनदिने औपचारिक भ्रमण गर्दैछन् ।

को हुन् मुखर्जी ?

सन् १९३५ डिसेम्बर ११ मा जन्मिएका प्रणव मुखर्जी भारतका १३ औं राष्ट्रपति हुन् । उनी सन् २०१२ मा सो पदमा निर्वाचित भएका हुन् ।

राष्ट्रपति मुखर्जीको तीन पुस्ता राजनीतिमा संलग्न छ । बंगाली ब्राह्मण परिवारमा जन्मिएका मुखर्जीका पिता भारतीय स्वतन्त्रता संग्राममा लागेका थिए । प्रणवका पिता सन् १९५२ देखि १९६४ को अवधिमा भारतीय कांग्रेसका तर्फबाट राज्य परिषदमा निर्वाचित  भएका थिए ।

प्रणवका दुई छोरी र एक छोरा छन् । उनका छोरा अभिजित मुखर्जी कांग्रेसका तर्फबाट वर्तमान सांसद छन् ।

प्रणवले कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् । साथै उनले कानून विषयमा स्नातक गरेका छन् ।

शुरुमा एकाउन्टेण्ड जनरल अफिसमा क्लर्क भएर काम गरेका प्रणव मुखर्जीले सन् १९६३ मा विद्यानगर कलेजमा राजनीतिशास्त्रका सहायक प्राध्यापकका रुपमा काम गरे । केही समय देशेर डाक (देशको पुकार) भन्ने पत्रिकामा पत्रकारका रुपमासमेत उनले काम गरे ।

बंगलादेशमा जन्मेकी सुब्रासँग सन् १९५७ मा मुखर्जीको विवाह भयो । बंगलादेश त्यसबेलासम्म पाकिस्तान अन्तर्गत थियो । सुब्रा १० वर्षको उमेरमा आफ्नो परिवारसँग भारत सरेकी थिइन् । विवाह हुँदा सुब्रा १७ वर्षकी थिइन् भने प्रणव २२ वर्षका थिए ।
सुब्रा मुखर्जीको गत साल हृदयाघातका कारण निधन भयो ।

गान्धी परिवारले साथ नदिँदा प्रधानमन्त्री पद उम्कियो

Indira Gandhi Addressing a Crowd
इन्दिरा गान्धी

भारतको राजनीतिमा यतिबेला बीजेपीको दबदबा छ । तर, राष्ट्रपतिचाँहि कांग्रेस आईका पूर्वनेता हुन् । यद्यपी उनी गान्धी परिवारबाट धोका खाँदै यो ठाउँसम्म आइपुगेका हुन् ।

आधुनिक भारतको इतिहासमा कांग्रेस नेतृ इन्दिरा गान्धीले घोषणा गरेको संकटकाल र विपक्षीहरुमाथि गरेको कारबाही एउटा महत्वपूर्ण अध्यायको रुपमा हेरिने गरिन्छ । सन् १९६९ मा पहिलोपटक भारतको माथिल्लो सदनको सदस्यमा निर्वाचित भएका मुखर्जी इन्दिरा गान्धीका गनिएका विश्वासपात्रमध्येका एक थिए ।

मुखर्जी इन्दिरा गान्धीको मन्त्रिमण्डलको वरियतामा दोस्रो थिए । धेरैजसोले इन्दिरा गान्धीको उत्तराधिकारीका रुपमा उनलाई हेर्न थालिसकेका थिए ।

सन् १९८४ अक्टोबर ३१ मा इन्दिरा गान्धीको हत्याको समाचार पाएपछि गान्धीका छोरा राजीव र प्रणव मुखर्जी एउटै प्लेनमा चढेर बंगालबाट दिल्ली पुगे । भनिन्छ, मुखर्जीले त्यतिखेर नै राजीव गान्धीलाई ‘देशको प्रधानमन्त्रीको पद खाली रहनुहुँदैन, अहिले म प्रधानमन्त्रीको भूमिका निर्वाह गर्छु, यो विषयमा राजनीतिक निर्णय पछि गरौंला’ भनेका थिए । तर, राजीव गान्धीले मानेनन् ।

‘भद्रलोक’ का बंगाली

पश्चिम बंगाल, जहाँ मुखर्जी जन्मिए त्योठाउँलाई ‘भद्रलोकहरुको राज्य’ भनिन्छ । बंगालका माथिल्लो जातका वैद्य, ब्राम्हण, कायस्थ, महिष्यहरु आफ्नो विद्यामा निपूर्ण हुन्छन् र उनीहरुलाई ‘जेन्टलमेन’का रुपमा लिने गरिन्छ ।

बंगालमा मात्रै नभएर भारतभर कर्मचारी, पत्रकार, डाक्टर, वकिल, इन्जिनियर, विश्वविद्यालयका प्राध्यापक, उच्च निजामती कर्मचारीहरुमा ‘भद्रलोक’ हरुको विशेष उपस्थिति रहने गरेको छ । उनीहरु किताबी ज्ञानमा रमाउँछन् र झैझगडाबाट टाँढै रहन्छन् । प्रणव मुखर्जीको जीवनी हेर्ने हो भने उनी ‘भद्र लोक’ का सदस्य होइनन् भनेर भन्न सकिने ठाउँ छैन ।

‘नयाँ शक्ति’ निर्माणको प्रयास

हत्या गरिएकी इन्दिरा गान्धीका छोरा राजीवले आफूलाई पाखा लगाएको महसुस गरेपछि मुखर्जीले नयाँ शक्तिका रुपमा ‘राष्ट्रिय समाजवादी कांग्रेस’ नामको छुट्टै पार्टी सन् १९८४ मा स्थापना गरे ।

नयाँ पार्टी बनाएर राजनीतिमा छाउने मुखर्जीको प्रयास खासै सफल हुन सकेन । यद्यपि उनले आफ्नो पाँच वर्षको अवधि मूलधारको पार्टीबाट बाहिर रहेर बिताए ।

नयाँ पार्टी खोलेको पाँच वर्ष नबित्दै मुखर्जी राजीव गान्धीसँग मेलमिलाप गरेर फेरि कांग्रेस आईमा फर्किए । यद्यपि मातृ पार्टीमा फर्किए पनि उनले खासै ठूलो अवसर पाएनन् । मुखर्जीका पिता र छोरासम्म तीन पुस्ता कांग्रेस नै हुन् ।

राजनीतिक ‘करिअर’

यसवीचमा प्रधानमन्त्री पीभी नरसिंह रावले मुखर्जीलाई राष्ट्रिय योजना आयोगको प्रमुखमा सन् १९९१ मा मनोनित गरे । सोही वर्ष राजीव गान्धीको हत्या भयो । मुखर्जीले चार वर्ष योजना आयोगमा काम गरे ।

गान्धी परिवारबाट निराश हुनुपर्ने थुप्रै कारण रहँदा रहँदै पनि प्रणवले सन् १९९८ मा राजीव गान्धीकी  पत्नी सोनियालाई कांग्रेस अध्यक्ष बन्नमा ठूलो सहयोग गरे । यसबाट उनलाई अघि बढ्न केही सजिलो भयो ।

सन् २००४ मा भारतमा भएको आम चुनावमा मुखर्जीले पहिलोपटक संसदको चुनाव जिते । पार्टीको अनुरोधमा आफूभन्दा कनिष्ठ मनमोहन सिंहको मन्त्रिमण्डलमा सहभागी हुन राजी भए ।

इन्दिरा गान्धीको मन्त्रिमण्डलमा अर्थमन्त्री रहेका मुखर्जीले नै अर्थविद् मनमोहन सिंहलाई भारतको केन्द्रीय बैंकको गभर्नरमा मनोनित गरेका थिए ।

लामो राजनीतिक यात्राका क्रममा मुखर्जी सोनियाको विश्वास पात्रका रुपमा देखा परे । तर, सोनियाको विश्वास जित्ने कार्यमा मनमोहन सिंहले मुखर्जीलाई पछि पारे । अंगीकृत नागरिकता लिएकी इटालियन मूलकी सोनिया आफैं प्रधानमन्त्री बन्न नपाएपछि विश्वासपात्रको खोजीमा थिइन् ।

manamohan-sing
मनमोहन सिंह

मनमोहन सिंहको साटो मुखर्जीले विश्वास जित्न सकेका भए उनी भारतको प्रधानमन्त्री बन्ने सम्भावना थियो, जुन दोस्रोपटक पनि टर्‍यो । मुखर्जीको प्रधानमन्त्री बन्ने पहिलो सम्भावना राजीव गान्धीका कारण टरेको थियो ।  गान्धी परिवारबाट दुईपटक ‘धोका’ खाँदा पनि मुखर्जीको ‘भद्रलोक’ प्रवृत्तिका कारण उनले टकराव गरेनन् ।

सोनिया विदेशमा जन्मिएकाले प्रधानमन्त्री बन्न नसक्ने भन्दै विपक्षीले बिरोध जनाएपछि सोनियाले प्रणवलाई नभई मनमोहनलाई प्रधानमन्त्रीको रुपमा अघि सारिन् ।

मनमोहन सिंहको मन्त्रिमण्डलमा मुखर्जी दोस्रो बरियतामा थिए । तर, व्यक्तिगत भेटघाट र छलफलमा सिंहले मुखर्जीलाई सधैं ‘सर’ भनेर सम्बोधन गर्थे ।

प्रधानमन्त्री मनमोहन सिंहको सरकारमा मुखर्जीले विभिन्न समयमा रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले ।

मनमोहन सिंहको प्रधानमन्त्रित्वकालमा भारत र अमेरिकाबीच गैरसैनिक आणविक साझेदारी गर्ने सहमति भएको थियो । जसमा सत्ता गठबन्धनका वाम दलहरुको विमतिका बावजुद मुखर्जीले भूमिका खेले र त्यसलाई पारित गराए । यद्यपि सरकारका सहयात्री कम्युनिष्ट पार्टीहरुले गठबन्धनबाट आफ्नो हात झिके ।

सन् २०१२ मा कांग्रेस सत्तामै रहिरहँदा भारतीय राष्ट्रपति प्रतिभा पाटिलको कार्यकाल सकिने भयो । यही मौकामा कांग्रेसले चाहेको खण्डमा आफ्नो उमेदवारलाई राष्ट्रपति बनाउन सजिलो हुने देखियो । पटक-पटक प्रधानमन्त्री पदको नजिक पुगेका मुखर्जीले सांसदका रुपमा आफ्नो यो नै अन्तिम कार्यकाल भएको घोषणा गरिसकेका थिए ।

मुखर्जीले कांग्रेस पार्टीमाथि पुर्‍याएको योगदान र लामो राजनीतिक अनुभवका कारण कांग्रेसले अन्ततः उनलाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गर्‍यो । र, उनी भारतका १३ औं राष्ट्रपति बने ।

नेपाल भ्रमणका क्रममा पशुपति दर्शन गर्दैगर्दा बागमती नदीलाई हेरेर पक्कै पनि मुखर्जीले आफ्नो स्कुल आउँदा जाँदाको स्मरण गर्ने अनुमान गर्न सकिन्छ ।

नेपालसँगको नाता

भारतको केन्द्रीय राजनीतिमा नेपालबारे चासो राख्ने थोरै नेताहरु मात्रै बाँकी छन् । र, तीमध्ये मुखर्जी पनि एक हुन् । पत्रकार प्रशान्त झाको पुस्तक, ‘ब्याटल्स अफ दी न्यू रिपब्लीकः अ कन्टेम्पोरी हिस्ट्री अफ नेपाल’ मा जनाइएअनुसार मुखर्जी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच विशेष सम्बन्ध थियो । यादवले बंगालको राजधानी कोलकातामा अध्ययन गरेका हुन् । दुबैजना बंगालीमै कुराकानी गर्थै ।

नोभेम्बर २०११ मा मुखर्जी अर्थमन्त्रीका रुपमा नेपाल भ्रमणमा आएका थिए । त्यसअघि दोस्रो जनआन्दोलनपछि माओवादी सरकार गठन भएपछि नेपाल भ्रमण गर्न मुखर्जी विदेशमन्त्रीका रुपमा नेपाल आएका थिए ।

नेपालका माओवादी र संसदवादीलाई आपसमा मिलाएर १२ बु्ँदे समझदारी गराउन मुखर्जीले भूमिका खेलेको भन्दै नेपालका राजावादीहरुले उनको आलोचना गर्ने गरेका छन् ।

यी पनि पढ्नुहोस्

कृष्णहरिले रुँदै भने- नेपाल सरकार मूर्दावाद ! नेपाल सरकार चोर हो !

सडकदेखि आकाशसम्म सेना ! हेर्नुहोस् अघोषित कर्फ्युको झलक

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !

मुखर्जीसँग भूपू गोर्खा सैनिकको गुनासोः हामीलाई पेन्सनमा विभेद भो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment