Comments Add Comment

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

president-mukharji-and-bhandari
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार भेटवार्ता हुँदै । तस्वीर: रासस

१७ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको छ।

त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।

राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनले भने, ‘भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।’

भेटवार्तामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए ।

त्यसैगरी भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा आजै काठमाडौँ आएका हुन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गरेकी थिइन्यो। त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो ।

अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

राष्ट्रपति मुखर्जी स्वागत समारोहमा सहभागी

नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरेका छन् ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

त्यसअघि राष्ट्रपति मुखर्जीलाई राजदूत राय एवम् दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment