Comments Add Comment

कथाः डिभोर्स दिने स्वास्नी

बैशाख १२ को भूकम्पले पूरै नेपाल हल्लिरहेको थियो । त्यही बेलादेखि नै मेरो धड्कन पनि बेस्सरी धडि्करहेको थियो । खै ममा पनि केटीको गुण बढी नै रहेछ कि ?

भुक्तभोगीहरु भन्थे बिहेअघि केटी र बिहेपछि केटाहरु निदाउँदैनन् रे ।

आ, जे सोचोस्, एक कल फोन गरी हेर्छु । अबको एक हप्तापछि त एउटै घर, एउटै कोठा । त्यति मात्रै हैन, एउटै बेडमा हुने हो । यति नजिकको मान्छेलाई फोन गर्न के अप्ठेरो मान्नु ?

भेटघाट गरौं भने पनि जहिले पनि अफिस-अफिस भनिरहेकी थिइन् । म त अचम्ममा पर्थेँ, बिहान पनि अफिस रे, राति पनि अफिस रे !

‘हैन, तिमी कति ठाउँमा काम गर्छ्यौ, जहिले पनि अफिस-अफिस भन्छ्यौ ?’ प्रश्न नगरेको हैन, एक पटक हैन बार-बार ।

पूरै घण्टी गयो, फोन उठेन, फेरि डायल गरेँ । बिजी भन्छ, बल्लबल्ल फोन जान्छ, उठ्दैन ।

baikuntha dhakal
वैकुण्ठ ढकाल

भोलिपल्ट बिहान सातै बजे फोन आयो । फोन दुर्गाकै रहेछ ।

‘अँ, हेर न हिजो, फोन साइलेन्समा राखेर सुतेको, थाहै भएन । साइलेन्समै नभए पनि निदाएपछि त्यो नाथे मोबाइलको घण्टीले के बिझाउँथ्यो र ?’

‘ए, ए । कुम्भकर्ण नै रहेछौ । उसो भए…’

‘त्यही बुझे पनि हुन्छ ।’

‘हैन, मैले त बिहेअघि केटी र बिहेपछि केटा निदाउँदैन भन्ने सुनेको थिएँ, उसो भए म गलत भएँ है ?’

‘हैन हैन, तिमी सही नै भन्दै छौ । तिमी केटी म केटा हुँ नि त । म बेहुली भएर तिम्रो घरमा भित्रिए पनि बेहुला वा लोग्ने जस्तै भएर तिमीमाथि शासन गर्ने हो । तिमी ढुक्क हौ । रुपमा तिमी लोग्ने देखिए पनि म तिमीलाई स्वास्नी नै बनाउँछु ।’

‘ल ल, हेरौंला १७ गतेदेखि नै । १६ गतेसम्म तिमी मनको लड्डु खाइराख । त्यसपछि मेरै त हो नि पालो ।’

गोरखा बारपाक भूकम्पपछिको परकम्पले हल्लाइरहेको खबर आउँथ्यो । तर, पोखरासम्म परकम्प पुगेको थिएन । तर, मनको कम्प रोकिएको थिएन । दुर्गाको लोग्ने बन्ने कुराले ३/४ रेक्टरको भूकम्प गइरहेको थियो । खै, केटा साथीहरुले जे-जे भन्थे, त्यसको उल्टो उल्टो भइरहेको थियो मलाई । केटी साथीहरुले भनेको लक्षण चाहिं म भोगिरहेथेँ । हृया, जे त होस् ।

म बाबुआमाले खोजेको केटीसँग बिहे गर्न यसै पनि राजी थिएँ । फेसबुकमा हेरेकै थिएँ । राम्रै लागिन्, यत्तिको भए ठीक छ भन्ने भयो । फेरि रुपभन्दा पनि व्यवहारले हो घर खाने ।

हाम्रा अभिभावकहरुको कुरा मिल्यो । हाम्रा बाहरुको पेशा मिल्थ्यो, व्यवहार मिल्थ्यो । भूगोल मिल्थ्यो । वर्ग मिल्थ्यो । कुलघरान मिल्थ्यो ।

त्यो दिन बूढाहरुले हामीलाई एउटै कोठामा पार्दिए ।

के कुरा गर्ने-गर्ने ! बच्चामा आमाले भन्नुहुन्थ्यो, ‘केटा भएर पनि के केटी जस्तै लजाएको ?’ हो, म लजालु भएँ । लज्जावती झार जस्तै लल्याकलुलुक भएँ ।

मौनता उनैले तोडिन, ‘तिम्रो नाम के रे ?’

‘हँ ?,’  म झसंग भएँ ? ‘के रे ?’

‘तिम्रो नाम सोधेको ।’

अब चाहिँ रिस उठ्यो । फेसबुकमा एड गर्ने अनि नाम सोध्ने ? सोच्दै थिएँ ।

उनीले त ममाथि प्रश्नको बाढी नै बर्साइन् । म जवाफ दिँदा-दिँदा हैरान ।

बीचमा के-के सोधिन् याद भएन, पहिले नाम र अन्तिम प्रश्न ‘गर्लफ्रेण्ड छ कि छैन ?’ भन्ने सम्झेँ  ।

‘तिमी चाहिँ मलाई केही नसोध्ने ? तिम्रो ब्वाइफ्रेण्ड छ कि छैन भन्ने प्रश्न केटी हेर्न जाने कुनै पनि केटाले छुटाउँदैन रे ! भैगो, तिमीले नसोधे पनि यसको जवाफ दिन्छु । मेरो त ब्वाइफ्रेण्ड छ । तर, तिमीसँग बिहे गर्न राजी छु । आफूले रोजेकोभन्दा बाआमाले खोजेको राम्रो होला नि है ?’

म मौन बसेँ । सोचेँ, ठट्टा गर्ने बानी रहेछ ।

ढोकामा कसैले ढकढक गरेको आवाज आयो, साथी रहेछ । ढोकाबाट निस्कँदै गर्दा कानमा फुसफुसायो, ओइ, हनिमुन नै मनाइस् कि क्या हो आजै ? म झन् रातोपिरो भएँ ।

मेरा बाहरु र उनका बाहरु कुरा गर्न थाले । मेरो मनमा उनको त्यही कुरा गुञ्जिरह्यो – ‘मेरो त ब्वाइफ्रेण्ड छ ।’

केहीबेर बस्दा त हनिमुन मनाइस् कि क्या हो भनेर बिल्ला गर्ने साथीसँग यो कुरा गर्‍यो भने त झन् बिल्ला गर्ला भन्ने पीर ! आ होस्, ठट्टै त गरेकी होली भन्ने लागेर मन थामथुम पारेँ ।

परकम्पले नेपाल हल्लिरहेकै थियो, दुर्गाको ब्वाइफ्रेण्ड छ भन्ने कुराले म दोब्बर हल्लिरहेको थिएँ । फोनमा कुरा हुन्थ्यो, एकदिन फोनमै सोधेँ- ‘तिम्रो ब्वाइफ्रेण्ड साँच्चै छ ?’

‘छ नि, किन नहुनु ! नयाँ वर्ष ०७२ देखि नै म प्रेममा छु ।’

अर्थात् उनी र म बीच पहिलो पटक कुरा भएको दिन । म ढुक्क भएँ । उनले प्रेमी भेटिछन् भनेपछि उनको प्रेमी म बाहेक को हुन सक्थ्यो र ?

अनि पो निदाउन थालेँ । उनले म निदाइसकेपछि मध्यराततिर गर्ने फोन उठाउन सकिन । भूकम्पपछिको पाँचौं दिन मेरो व्यक्तिगत जीवनमा सुखद भूकम्प आयो ।

दुर्गा र म एक भयौं ।

हिजोसम्म मोबाइलमा कुराकानी भइरहेको थियो । आज कुनै साधन बिना प्रत्यक्ष कुराकानी सम्भव भइरहेको थियो । तर, हाम्रो कुराकानी किन-किन यान्त्रिक जस्तै भन्यो, भावनात्मक बन्नै सकेन । कोसिस गरेँ, गरिरहेँ ।

कान-कानले, मुख-मुखले, आँखा-आँखाले अनि सबै अंग-अंगले कुराकानी गर्न सक्ने अवस्था थियो । तर, सबै भएन ।

छिमेकी दाइ अनि साथीहरुले भनेका कुरा ममा लागू भएन । त्यो अनुभव मैले गरिनँ ।

किन लजाउनु, साँच्चै भनूँ भने कास्टकम्प त बिहेको तेस्रो दिन मात्रै भयो नि !

बिहेपछि अरु के-के फेरिन्छ, अरुले के-के फेर्छन् । म चाहिँ साँच्चै लोग्नेमान्छेबाट लोग्ने भएँ, यही सोचेँ ।

बिहेको १२ औं दिनको रात ।

दुर्गाले भनिन्, ‘दिवाकर, मैले कुनै दिन भनेको थिएँ नि, म तिम्रो घरमा भित्रने हैन, अब म तिमीलाई भित्र्याउँछु । ठूलो सपना र सुदूर भविष्यको कल्पनाका साथ जाऔं काठमाडौंको मेरो डेरामा । तिम्रो अनि मेरो उच्च शिक्षा पूरा गरौं अनि बाआमाको सपना पूरा गरौं ।’

प्रस्ताव मन पर्‍यो, क्याम्पस शिक्षा अब हामी दुवैले दुई वर्षमा पूरा गर्न सक्छौं । बाआमालाई दुई वर्षको लागि मनाउन सकिएला पनि ।

000

सोचे जस्तै भयो, छोरा-बुहारीको सपना साकार पार्न बाआमाले कुनै नाइँनास्ती गर्नुभएन । बैशाखको अन्तिम सोमबार हामी निस्कियौं ।

खै, काठमाडौंले कहिल्यै मलाई मोहित गर्नै सकेन । बाको फेर समाएर अनि दुर्गाको अँगालोमा बाँधिएर आउँदा पनि मन रमाउनै सकेन । वनको चरी वनमै रमाउँछ, सायद यस्तै भयो मलाई पनि ।

कोठा पहिलेदेखि नै उनको थियो, सरसामान पनि सबै उनैले जोडेकी । मेरो केही नभएर पनि सबथोक थियो । दुर्गालाई नै त हो मैले सबथोक मानेको ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने कुरो कहिलेकाहीँ म उनलाई सुनाउँथेँ । तर, उनी पत्रकार परिन्, त्यसमाथि रेडियोमा बोल्ने पेशा । कुरा गर्न कसले सिकाउनु र ? जसरी पनि जित्नुपर्ने बानी

काठमाडौंको भीडैभीडको बीचमा म एक्लै हुन्थेँ । बिहान चार घण्टा कलेज अनि दिनभर फुर्सद । के गरुा, कसो गरुा भन्ने छटपटी हुन्थ्यो । म कलेजबाट डेरा पुग्दा दुर्गा ‘अफिस’ निस्कन्थिन् । राति ११ बजे मात्रै हो डेरा आइपुग्ने । बिहान पनि चिसो भात खान्थेँ, एक्लै । बेलुकाको खाना बनाउने पालो मेरै थियो । कहिलेकाहीँ पकाएर निदाउँथे, कहिले चाहिँ एकछिन सुतेर उठेपछि तात्तातै खाने गरी पकाउँला भन्दाभन्दै निदाएर भुस हुँदो रैछु । उनको फोनले ब्युझिन्थेँ, अनि त के चाहियो ! भोको पेट गालीले भरिन्थ्यो । त्यसपछि संवादहीनतामै रात बित्थ्यो । म उठेर कलेज जाँदा उनी निदाइरहेकी हुन्थिन् । म फर्कँदा रित्तो कोठा ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने कुरो कहिलेकाहीँ म उनलाई सुनाउँथेँ । तर, उनी पत्रकार परिन्, त्यसमाथि रेडियोमा बोल्ने पेशा । कुरा गर्न कसले सिकाउनु र ? जसरी पनि जित्नुपर्ने बानी ।

१० महिना काठमाडौंको बसाइमा मैले कुनै पनि साथी बनाउन सकिनँ । मेरो स्वभाव नै त्यस्तो, हत्तपत्त घुलमिल हुनै नसक्ने । बिहान कलेज जाने मेरा सहपाठीहरु दिनभर कामकाजी थिए । मैले चाहेर पनि साथ पाइने भएन । जिन्दगीभर साथ दिने भनेकी दुर्गा कहिल्यै पनि बिदा नपाएको बताउँथिन् । म पत्याउँथेँ ।

000

 

बाबाको स्कूल, आमा बिरामी र बुहारीको अफिस । मैं त परेँ एक मात्र बेकारी ।

डेराको बास मलाई जेल जस्तै लागिरहेको थियो । घरबाट बाबाले फोनमा आमा बिरामी परेको खबर गर्नुभयो । काठमाडौं लगेर जाचाउन अह्राउनुभयो ।

मैले यो कुरा गर्ने बित्तिकै दुर्गा चार हात उफ्रिइन् ।

‘तिम्री आमा तिमी आफैं जचाऊ, ती पाखे आइमाईलाई मेरो कोठामा ढिम्कन दिँदै दिन्नँ । मैले स्याहार्छु भन्ने सोचेका हौला । मसँग न फुर्सद छ, न त ती पाखे आइमाईको उपचारमा खर्च गर्ने फोकटको पैसा नै । आफ्नै ज्यान पाल्न त गाह्रो भइरहेको बेला लोग्ने नामको घाँडो भिर्नु पर्‍या छ, फेरि अर्को रोगी आइमाई ! उफ् म सक्दै सक्दिनँ ।’

‘दुर्गा !! भो, अत्ति भो ! अब एक शब्द पनि बोल्नु पर्दैन । तिमीले मेरी आमालाई केही पनि गर्नु पर्दैन । तिमी आदर गर्न सक्दिनौ भने अपमान पनि नगर । तिमीले बोलेका यी सबै शब्द मैले तिम्री आमाका लागि खर्चेको भए ?’

बोलेर मात्रै मेरो मनमा सल्केको आगो के निभ्थ्यो र ! भुसको आगो जस्तै भित्रभित्रै सल्कियो । रात र तापले राति निद्रा लागेन । कलेज जाने समयमै डेराबाट निस्केँ । कलेज जानु जरुरी थियो । साथीसँग घर जान पुग्ने भाडा मात्रै सापटी मागेर घरतिर निस्किएँ ।

यसअघि पनि दुर्गाले त्यस्तै गरी मलाई दुखाएकी थिइन् ।

उनले मेरो अपमान गर्दै भनेकी थिइन्, ‘राम्रो विद्यार्थी भनेर काठमाडौं ल्याएँ, यी हेर मार्कसिट छिछि…, थुथु !’

मर्म कुन चरीको नाम हो, शहरमा बसेर पढेकी र बाउआमाले पुलपुल्याएर राखेकी छोरीलाई के थाहा ! माओवादीको जगजगी भएका बेला आफ्नो भने किताब-कापी च्यातेर हैरान पारेका थिए । परीक्षा दिनु कि ज्यान जोगाउनु भन्ने पिरलो थियो । जसोतसो नियमित परीक्षामै एसएलसी पास गरेको थिएँ । मैले ज्यानसाग साटेको मार्कसिटमा थुक्दा कस्तो भएको थियो होला मलाई !

आज मेरो आमामाथि अपशब्द बोल्दा त्यो भन्दा बढी दुखेको थिएँ ।

000

घर पुगेँ । आमालाई काठमाडौं लैजाने शब्द मैले उच्चारण नै गरिनँ । पोखरामा लगेर उपचार गरायौं । एक हप्ताको बसाइपछि घर फर्कियौं । घर पुगेपछि आमाले बुहारीलाई फोन लगाइदिन आग्रह गर्नुभयो । मैले ‘मोबाइल अफ छ’ भनेर टारेँ । कुन मुखले आमासाग कुरा गराऊँ?

घर र ससुराली नजिकै थियो, बिरामी सम्धिनीलाई भेट्न सासू-ससुरा नै आउनुभयो । कुराकानी भयो । छोरीका तर्फबाट माफी माग्नुभयो । सायद दुर्गाले सबै कुरा भनिछन् । सासू आमाले भनिन्, ‘आमा निको भएको भए ज्वाइँसा’बलाई पठाइदिनु भनेकी छ । पढाइ धेरै छुट्यो भनेर पीर गर्दै थिई ।’

सम्धिनीले भनेपछि बाआमाको मन पग्लियो ।

मैले केही भनेको थिइनँ । बाआमाले उल्टै मलाई दोषी देखाउनुभयो ।

000

पढाइ त छुटेकै थियो । त्योभन्दा मनको पीडाले बढी दुखाएको थियो । आमाको अपमान गर्नेले मेरो सम्मान गर्छ भन्ने अलिकति पनि थिएन । सायद ग्लानि र लाजका कारण आमामार्फत दुर्गाले माफी मागिसकेकाले गल्ती महसुस गरिन् भन्ने पनि लागेको थियो । यसले मलाई अलिक हलुको बनाएको थियो ।

पैसा नहुँदा दुखेको अनुभव कयौं थियो, पहिलो पटक पैसा हुँदा दुखेँ । पिठ्युँमा बोकेको झोलाभन्दा धेरै गह्रौं भयो, हातमा भएको एक मुठी नोट

रित्तो खल्ती र गह्रुंगो मन बोकेर लागेँ विरानो शहर । खै, बिहेअघि त बाबासँग धक नमानी पकेट खर्च माग्थेँ । तर, अहिले त्यसो गर्न मन लागेन । बाबाले हिँड्ने बेला हातमा रकम राखिदिनुभयो । ‘ला, यो चाहिँ बुहारीलाई केही किनेर लगिदे’ भनेर अलि मोटो बिटो अर्को हातमा थमाइदिँदा घाइते नै भएँ । पैसा नहुँदा दुखेको अनुभव कयौं थियो, पहिलो पटक पैसा हुँदा दुखेँ । पिठ्युँमा बोकेको झोलाभन्दा धेरै गह्रौं भयो, हातमा भएको एक मुठी नोट ।

000

कोठाको चाबी मसँग पनि थियो । डेरा पुगेँ । के डेरा भनूँ त्यसलाई ! एउटा जुवाको खाल जस्तै थियो । जताततै चुरोटको ठुटा । नमाझेर त्यसै छाडिएका भाँडाकुँडा, यत्रतत्र छरिएका कपडा । गन्धले बसिनसक्नु भयो । हावाले दुर्गन्ध उडाओस् भनेर झ्याल ढोका खुल्लै राखेँ ।

लुगा फेर्न यताउति हेरेँ, केही पनि थिएन । घरबाट पनि बोकेर आएको थिइनँ ।

शौचालय जाने चप्पल पनि थिएन । दुई महिनामै यत्रो परिवर्तन, म त छक्कै परेँ ।

म आएको घरबेटी आमाले देख्नुभएको रहेछ । तलै आएर जरुरी कुरा छ भनेर माथि लैजानुभयो । चिया-खाजापछि साउतीको भाकामा बोल्न थाल्नुभयो ।

‘हैन, यो दुर्गे के भा’की ? मध्यरातमा को-को केटा लिएर आउँछे । कहिले दाइ, कहिले भिनाजु, कहिले मामा अनि कहिले को कहिले को भनेर हैरान पार्छे । कोठा छाड् भनेको दिवाकर आएपछि भनेर टारिरहेकी छे । के हो, मैले त केही बुझ्नै सकिना । टोलछिमेक सबैले कुरा काटेर हैरान पारिसके । म अब तिमीहरुलाई राख्नै सक्दिनँ । तीन दिनभित्र कोठा सरेनौ भने म पुलिस लगाएर हटाउाछु, अनैतिक गतिविधि गरेको उजुरी हालेर ।’

घरबेटीले जिन्दगीमा पहिलो पटक खुवाएको चिया खाउन्जेल साह्रै मीठो भएको थियो । कुराकानीपछि पो विष खाए जस्तो भयो । जुरुक्क उठेर हिँडेँ ।

घरबेटीको कुरा पत्याउने हो भने त कोठालाई कोठी भन्नुपर्ला । तर, कसरी सक्छु म त्यसो भन्न ? मेरो विश्वासको जग त साह्रै कमजोर रहेछ । सायद मैले सोचेको विश्वासको महल त बालुवाको घर रहेछ ।

ओछ्यानमा डङरङ्ग लडेँ । मनमा अनेक तर्कना खेले । घरबेटीले दिएको चिया सम्झेँ अनि त्यसपछिका कुराकानी । सबैभन्दा धेरै गुन्जियो ‘अनैतिक काम गरेको उजुरी हालेर… ।’ तनाव र गुञ्जनलाई दिनभर यात्राको थकान र निद्राले जित्दै लग्यो । निदाएछु । कसैले ढोका ढकढक गरेको आवाजले ब्युझिएँ ।

दुर्गा रहिछिन् । मलाई देखेर उनको शिर झुके । मुख बन्द भए ।

उनी अफिस गएको-नगएको म डेरामै बसेर थाहा पाउँथेँ, रेडियोमा आवाज सुनेपछि अफिस गएको पक्का हुन्थेँ । तर, आज त त्यो अवसर पनि छुट्यो । निदाएछु ।

‘तिमी कुनै जानकारी नदिई आएछौ त !’

‘दुनियाँसँग साटेको ओछ्यान बाँड्नु पनि पर्‍या छैन मलाई !,’ घाँटीसम्मै आइसक्या जवाफ दबाएर निस्किएँ । मध्यरातमा श्रीमतीको साथ छाडेर ट्याक्सी चढेर सुन्धाराको होटलमा बसेँ

म बोलिना । बोल्न जरुरी ठानिनँ ।

‘कतिखेर आयौ ?’

… …

‘आमालाई कस्तो छ ?’

यो प्रश्नले मलाई बेस्सरी घोच्यो ।

‘को आमा ? तिम्रा कोही आमा छन् र ? पाखे, रोगी, बूढी तिम्रा आमा हुन सक्छन् र ? सभ्य, शिक्षित, क्षमतावान, सुन्दरीका आमा हुन लायक को होलान र यो संसारमा ? महान् छोरीका लागि …!’

ऊ उग्र भई, ‘बस्, बस् भयो । अब, एक शब्द पनि नबोल । मेरो ट्राजेडी परेका बेला थप तनाव दिने हैन । मलाई हेर्ने, छुने कोसिस नगर । साँझको पाहुना हो, निक्लेर जा भन्न त सक्दिना । तर, ओछ्यान बाँड्न कर नगरेस् ।’

‘दुनियाँसँग साटेको ओछ्यान बाँड्नु पनि पर्‍या छैन मलाई !,’ घाँटीसम्मै आइसक्या जवाफ दबाएर निस्किएँ । मध्यरातमा श्रीमतीको साथ छाडेर ट्याक्सी चढेर सुन्धाराको होटलमा बसेँ ।

झोलामा मैले आफ्नो सबै किताब हालेको थिएँ । प्रमाणपत्रहरु पनि हालेको थिएँ । कपडा त उसले खै कसलाई दिएर पठाइछे ! अरु त त्यस्तै हो, बेहुलो हुँदा लगाएको दौरा-सुरुवालको साह्रै याद आइरह्यो । कम्मरमा भिरेको खुकुरी पनि भेटिनँ । आ, होस् नभेटेकै ठीक छ । भेटेको भए जे पनि हुन सक्थ्यो, मेरो माया, विश्वासको हत्या गर्ने अनि मेरो आमाको अपमान गर्नेमाथि !

साथीभाइहरुको साथ-सहयोगले दुःखमसुखम स्नातकोत्तर पूरा गर्ने सपना पूरा भयो । यो बीचमा नहेरौं भनेका अनेकौं दृश्य देखियो । घरबेटीले भनेका कुरा आफ्नै आाखाले देखेँ । अब त डेरा सरिन् रे, थप कुरा सुन्नुपर्ने भएन । कानले सुनेका कुरा त झुटा हुन् भनेर मन बुझाउन सकिन्थ्यो, आँखाले देखेका कुरालाई के भनेर चित्त बुझाउने !

000

हुन त बिहेपछि जोडिएका सबै सम्बन्ध तोडूँ झैं लागेको थियो । तर, बिहेको बहानाले जोडिए पनि कोही त निकै घनिष्ठ हुँदा रहेछन् । गाउँमा रहेका जेठान त्यहीमध्ये एक थिए । उनी फाटेको मन टाल्ने आधार बनेका थिए । उनैलाई एक पटक दुर्गाको बारेमा बुझ्न पठाएँ । गल्ती स्वीकारिन् र नदोहोर्‍याउने अवस्था आयो भने के भयो त ? यस्तै सोच्थेँ ।

ती जेठान हार खाएर आए । बहिनीलाई मैले चिन्न सकिनँ, तपाईंले सोचे जस्तो नहुने भयो ज्वाइँसा’ब, अब नयाँ जिन्दगी सुरु गर्ने उपायको खोजी गर्नुस् ।’

‘दाइ भएर बहिनीको घरबार टुक्र्याउने कुरा गर्ने ?’

‘म पहिला पुरुष अनि मात्रै दाइ हुँ । एक पुरुषको पीडा बुझेर नै मैले भनेको हुँ ।’

स्वास्नीलाई बिहेको शुभकामना दिन कत्ति कठिन होला । तर, डिभोर्स दिने स्वास्नीलाई शुभकामना दिन त सहज हुँदो रहेछ !

तर, लोग्नेले चाहेर सम्बन्धविच्छेदको प्रक्रिया कसरी अघि बढ्थ्यो र ? कठिन छ । ‘महिलामैत्री’ कानुनले पुरुषलाई दिएको चोट कसले बुझिदेओस् ? फेरि नेताकी छोरी, अधिकारकर्मी र पत्रकार दाबी गर्ने स्वास्नीमान्छे । यत्ति भएपछि के चाहियो !

ससुराली पुगेँ । सासू-ससुरालाई भेटेँ । छोरीको बचाउ र मेरो गल्ती मात्रै देखाउन लागिरहेँ ।

‘काठमाडौंमा पढ्न बसेकी स्वास्नीलाई एक सुको खर्च नपठाउने अनि अहिले साखुल्ले पल्टन आउने ? बाउले किनिदिएको एक चिम्टी सिन्दूर हालेकै भरमा कोही कसैकी श्रीमती हुन्छिन् ? कुनै जिम्मेवारी हुँदैन ? …’

आमासँग फोनमा कुरा हुँदा छोरी चाहिँ दिनहुँ यस्तै भन्दिरहिछन् ।

त्यही रात मेरो मोबाइलमा एसएमएस आयो- ‘मेरा बाआमालाई धम्क्याउने काम नगर्नू, आइन्दा मेरा बाआमासँग एक शब्द मात्रै बोलेको थाहा पाएँ भने राम्रो हुने छैन । दुई दिनमा अर्को बिहे गरेर तँलाई देखाउँछु ।’

‘हो ? लौन न, यत्ति काम चाँडै गरेको जानकारी पाऊँ । केही गरी मैले पहिले बिहे गरेँ भने बहुविवाहको मुद्दा हालेर सम्पत्ति खोज्न आउने होला ! हुन त तिमीले मभन्दा धेरै धनी रोजेकी छौ । तर, अरुलाई दुःख दिएर रमाउने चरित्र छाडेकी छैनौ । अब मैले तिम्रा नाममा कुनै अक्षर खर्च गर्न नपरोस् । वैवाहिक जीवनको अग्रीम शुभकामना ।’

लेख्दालेख्दै एसएमएस अलि लामै भएछ ।

स्वास्नीलाई बिहेको शुभकामना दिन कत्ति कठिन होला । तर, डिभोर्स दिने स्वास्नीलाई शुभकामना दिन त सहज हुँदो रहेछ !

[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment