+
+
Shares

लोकमानलाई गिरफ्तार गरेर हिरासतमा राख्नुपर्छः कानूनविद

'फौजदारी अपराध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिनुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २० गते २०:१९

२० कात्तिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हिरासतमा राखेर वयान लिइनुपर्ने कानूनविदले बताएका छन् ।

लोकमान सिंह कार्की
लोकमान सिंह कार्की

लोकमानविरुद्ध सर्वोच्च अदालतमा मुदा दायर गरेका अधिवक्ता ओमप्रकाश अर्यालले अनलाइनखबरसँग भने- ‘म्याद तामेली नगरेको भन्दै साना कर्मचारीमाथि चाँहि मुद्दा चलिसक्यो, तर म्याद तामेलीमा अवरोध गर्ने सरकारी कर्मचारी एवं प्रहरीमाथि कुनै कारवाही भएको छैन, तिनीहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्नु पर्ने हो ।’

अदालतको म्याद तामेलीमा अवरोध गर्नु ‘क्रिमिनल एक्सन’ भएकाले त्यस्तो कार्य गर्नेलाई पक्राऊ गरी हिरासतमा राखेर कारवाही अघि बढाइनुपर्ने कानूनविद अर्यालको भनाइ छ । यस्तो आपराधिक कार्यमा लोकमानले अह्राएका मानिसलाई मात्रै होइन, अह्राउने लोकमानसिंहलाई पनि हिरासतमा लिइनुपर्ने अर्यालको भनाइ छ ।

‘सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई हिरासतमा राख्ने आदेश दिन सक्छ र हिरासतमा राखेर उनको वयान लिन सक्छ, अर्यालले भने ‘फौजदारी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइनुपर्छ, उसलाई दिइएको सरकारी आवास, सुरक्षा गार्ड लगायतका सुविधाहरु कटौती गरिनुपर्छ ।’

अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा कार्कीविरुद्ध विभिन्न तीन वटा मुद्दा दर्ता गराएका छन् । पछिल्लो मुद्दामा उनले लोकमानसिंह कार्कीले म्याद तामेलीमा फौजदारी अपराध गरेको भन्दै उनलाई कानूनवमोजिम जेल सजायँ हुनुपर्ने माग दाबी गरेका छन् ।

निलम्बित कार्कीले अख्तियारको आवासमा बसेर गैरकानूनी क्रियाकलाप गर्न सक्ने भएकाले उनीमाथि प्रशासनले निगरानी राख्नुपर्ने उनको भनाइ छ ।

अवहेलनामा गिरफ्तारीको नजीर

कानूनविदहरुका अनुसार म्याद तामेलीमा हुलहुज्जत गरेर लोकमानसिंह कार्कीले गरेको अदालतको अवहेलना सामान्य प्रकारको नभएर ‘फौजदारी अवहेलना’ हो । यस्तो फौजदारी अवहेलना गर्ने व्यक्तिलाई अदालतले गिरफ्तार गरेर वयान लिन सक्छ ।

विगतमा ०३५ सालमा दैलेखका तत्कालीन सांसद गणेश पोखरेललाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गिरफ्तार गरेर वयान लिएको थियो । र, यही नजिरका आधारमा लोकमानलाई पनि अदालतले शारीरिक अवहेलना अन्तरगत गिरफ्तार गरेर वयान लिने बाटो खुलेको कानूनविद बताउँछन् ।

संवैधानिक कानूनका जानकार एक वकिलले अनलाइनखबरसँग भने-‘ अब सर्वोच्च अदालतले लोकमानलाई आफैं उपस्थित भएर वयान दिन आग्रह गर्न सक्छ । उनी सशरीर उपस्थित नभए नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउन सक्छ ।

अधिवक्ता अर्यालले लोकमानविरुद्ध दायर गरेको पछिल्लो मुद्दाको सुनुवाइ छठपछि अदालत खुल्नासाथ हुने स्रोतले बतायो । पुरानो मुद्दाको चाँहि कात्तिक १६ गते म्याद गुज्रिएको थप १५ दिनपछिबाट कारवाही प्रक्रिया अघि बढ्ने कानूनविद बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?