Comments Add Comment

अमेरिकी चुनावबारे सोसल मिडियाः महिला सशक्तिकरणदेखि डीभी आतंकसम्म

donald_trump_hillary_clinton

२४ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई डोनाल्ड ट्रम्पले पछि पारेपछि ट्विटर र फेसबुकमा थरिथरिका टिप्पणी आइरहेका छन् ।

नेपाली ट्विटे र फेसबुक प्रयोगकर्ताहरुले चुनावमा राम्रो सम्भावना देखाएकी क्लिन्टनको कमजोर नतिजालाई सिंगो महिला समुदायमाथिकै अविश्वास भनेर अथ्र्याएका छन् । अर्कातिर, ट्रम्प अब राष्ट्रपति बनेमा आप्रवासीमाथि प्रहार हुने भन्दै डीभी भर्नेहरु पनि डराउनुपर्ने अवस्था आएको टिप्पणी गरिएको छ ।

मतदाताले महिलालाई नपत्याएको जनाउँदै आनन्द पन्थले ट्विट गरेका छन्, ‘अमेरिकामा पितृसत्तात्मक युग चरम उत्कर्षमा छ भन्ने कुरो चाहिँ छर्लंग भयो है, चुनावको नतिजालाई हेर्दा ।’

ट्रम्पको ह्वाइटहाउस प्रवेशपछि अब आप्रवासीहरुमाथि कस्तो रणनीति तय होला भनेर विभिन्न आशंका भइरहँदा यसबारे पनि ट्विटेहरुले प्रतिक्रिया लेखेका छन् ।

रुपेश श्रेष्ठ लेख्छन्, ‘अमेरिकी चुनावको प्रारम्भिक नतिजाको नेपालमा प्रभावः डीभी भरेकाहरु चिन्ताग्रस्त !’

यसै सन्दर्भमा पत्रकार घमराज लुइँटेलको ट्विट छ, ‘अमेरिकामा लुकिछिपी बस्नेहरुको अमनचैन अब खलबलिने सम्भावना !!’

जयन्तले ट्रम्प आगमनमा विदेशीहरुको अमेरिकी बसाइ सकसपूर्ण हुने चित्रण गरेका छन्, उनी फेसबुकमा लेख्छन्, ‘ट्रम्प राष्ट्रपति भए विदेशीलाई अमेरिका बस्न गाह्रो छ । धेरै नेपालीले हिलारीलाई सपोर्ट गर्नुको कारण ‘महिला’ मात्र हैन ।’

साहित्यकार इन्दिरा प्रसाईँले हिलारीको हार भएमा संसारभरिका महिलाको हार हुने उल्लेख गर्दै मतगणनाको सुरुवाती चरणमा लेखेकी थिइन्, महिला उम्मेदवार हिलारी रोदम क्लिन्टनदाई जिताएमा समग्र अमेरिकाले नै जित्न सक्छ । अन्यता फेरि एक पटक संसारभरिका महिलाको हार हुनेछ ।’

हिलारीकै समर्थनमा गगनशिला खड्काले फेसबुकमा लेखेकी छिन्, हिलारीले जितून् भन्ने नै चाहना छ । यदि उनले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न नसके पनि जितेको महसुस हुनेछ मलाई । किनभने विश्वकै शक्तिशालि देशमा एक जना महिला राष्ट्रपतिको उम्मेदवार हुन सजिलो थिएन, त्यो पनि डोनाल्ड ट्रम्प जस्तो असभ्य र अभद्र व्यक्तिसँग प्रतिस्पर्धा गर्नु ।’

महिला उम्मेदवार कमजोर हुनुको कारण विश्लेषण गर्दै दर्शन ठकुरीले ट्विट गरेका छन्, ‘अमेरिकी जनताले दुई कार्यकाल मात्र जिताउँछन् एक पार्टीलाई र अर्को, देश हाँक्नलाई महिलामाथि दृढ विश्वास राख्दैनन् । ट्रम्पको जित सुनिश्चित ।’

अमेरिकामा महिलाप्रतिको दृष्टिकोणबारे माधव ढुंगेल ट्विट गर्छन्, ‘कोर अमेरिकाका खास प्रतिनिधि पात्र हुन् डोनाल्ड ट्रम्प । महिला दोस्रो कोटिमा राखिँदो रहेछ ।’

ढुंगेलको ट्विटमा असहमति जनाउँदै इञ्जिनियर सूर्यराज आचार्यले प्रतिक्रिया जनाएका छन्, ‘हिलारीप्रतिको नकारात्मकता उनी महिला भएर भन्दा पनि उनको अविश्वसनीय कार्यशैलीले गर्दा हो ।

हिलारीको जितमा महिला सशक्तिकरणलाई जोडिएर हेरिएकोमा नवीन ठाकुुर कडा आपत्ति जनाउँदै लेख्छन्, ‘हिलारी जित्दैमा महिला सशक्तिकरण हुने नसोच्दा’नि हुन्छ । बुहारी रुवाउने सासू र सासू धपाउने बुहारी प्रवृत्तिकाहरुबाट आश गर्नुले सर्वनाश गर्छ ।’

यसै प्रसंगमा रोशन खड्का लेख्छन्, ‘अमेरिकी जनताले परिवर्तन चाहेका हुन्, हिलारी टेस्ट भइसकेकी हुन् ! महिला भएकै कारण चुनाव जितिँदैन हो, त्यहाँ भवनाले होइन, विकेकले काम गर्छ ।’

तिखे ह्यान्डलबाट ट्विट गर्दै एक ट्विटे नेपालका महिला अधिकारकर्मीहरुलाई व्यङ्ग्य गर्छन्, ‘नेपालका महिला अधिकारकर्मीले हिलारीलाई महिला भएकै कारणले षड्यन्त्रपूर्वक हराइयो भनेर विरोध र्‍याली निकाल्न बेर छैन ।’

अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा प्रकाशले नेपाल सरकारलाई व्यङ्ग्य गर्दै ट्विट गरेका छन्, ‘अब मन्त्रीपरिषदको बैठक बसी अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता र उनी आउने दिन सार्वजनिक बिदा दिने घोषणा गर्ने होला !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment