अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भएका छन् । अन्तिम मत परिणाम आउन बाँकी नै रहँदा उनले जितका लागि आवश्यक मत ल्याइसकेका छन् ।
आफ्नो चुनावी अभियानको केन्द्रमा उपस्थित समर्थकलाई उनले सम्बोधन गर्दै धन्यबाद दिइसकेका छन् ।
राष्ट्रपति निर्वाचन जितेपनि हृवाइट हाउस प्रवेशका लागि उनले अझै दुई महिनाभन्दा बढी समय पर्खनु पर्ने हुन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनाव जितेका ७० बर्षीय डोनाल्डले आगामी जनवरी २० देखिमात्रै अमेरिकाको सर्वोच्च पदमा आसिन हुनेछन् । सन् २०१७ को जनवरी २० मा सपथ ग्रहण गरेपछि मात्र उनी हृवाइट हाउस प्रबेश गर्नेछन् ।
त्यही दिन अर्थात जनवरी २० मै बर्तमान राष्ट्रपति बराक ओबामाले ट्रम्पलाई कार्यभार सुम्पनुका साथै उनका लागि हृवाइटहाउस खाली गरिदिनेछन् ।
हृवाइटहाउस छाडेर कहाँ बस्नेछन् ओबामा ?
अमेरिकी राष्ट्रपतिको रुपमा सन् २००८ यताका दुई कार्यकाल पूरा गरी पहिलो अश्वेत राष्ट्रपति बराक ओबामा आगामी जनवरी २० देखि पदमुक्त हुँदैछन् ।
हृवाइटहाउसबाट बाहिरिएर उनी राजधानी वाशिङटनमै रहनेछन् । अधिकांश अमेरिकी राष्ट्रपति सत्ताबाट निस्किएपछि राजधानी शहर बाहिर बस्दै आएपनि ओबामा भने छोरीको पढाई पूरा नभएका कारण बाशिङटनमै रहनेछन् ।
हृवाइटहाउस छाडेपछि ओबामा परिवार वाशिंटन डिसीको उत्तरपश्चिमस्थित क्यालोरे क्षेत्रको एक घरमा बस्नेछ । कान्छी छोरी साशाको विद्यालय नजिकै रहेकाले उनीहरुको नजरमा त्यो घर परेको हो ।
नौ बेडरुम सहितको यस घर ७ हजार २ सय बर्गफिटमा फैलिएको घर वरपर बगैँचा र पार्किङको पनि राम्रो सुविधा छ ।
ओबामा बस्ने क्षेत्र वाशिङटनको भिआइपी क्षेत्रमा पर्छ । यस क्षेत्रमा बेलायत, युरोपेली संघ, फ्रान्स, पोर्चुगल लगायत मुलुकका राजदूतहरु बस्छन् । त्यस्तै जापान, दक्षिण कोरिया लगायतका थुपै्र मुलुकहरुको दूतावासपनि नजिकै छ ।
प्रतिक्रिया 4