Comments Add Comment

लीलामणि पौडेलको गुनासोः माओवादी बिल्लाले लखेट्न छाडेन

'किम इल सुङको पोष्टर भित्तामा टास्थेँ, तर कुनै पार्टीको सदस्य बनिनँ'

 

lilamani-poudel

२५ कात्तिक, काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौडेलको जीवनमा ‘माओवादी’ बिल्ला यसरी लाग्यो कि उनले चाहेर पनि माओवादीबाट मुक्त हुन पाएनन् । यदि उनले आफैंलाई ढाँटेका होइनन् भने उनले जीवनमा कुनै पनि पार्टीको सदस्यता लिएनन् । तर, पछिल्ला ठूला उपलब्धी जे पाए, ती माओवादीकै कारण पाएको स्वीकार गर्न बाध्य छन् ।

चीनका लागि नेपालको राजदूत भएर बेइजिङ जानुअघि विहीबार परराष्ट्र मन्त्रालयमा केही पत्रकारहरुबीच खुलेर कुरा गरेका पौडेलले भने- ‘म माओवादीप्रति अनुगृहित छु । तर, माओवादीचाहिँ म होइन । मिडियाकर्मीले मलाई सधैं माओवादी भनेर यस मामिलामा मप्रति अन्याय गरेका छन् ।’

‘राष्ट्रको स्वार्थमा सम्झौता गर्दिनँ’

आफूलाई मुख्यसचिव बनाउन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सरकारलाई नै दाउमा राखेको पौडेलले सम्भिmए । ‘तिमीहरुको सरकार नै ढाल्दिछौं पनि भनेका हुन्, तर प्रचण्ड र बाबुरामले मलाई मुख्यसचिव बनाउन सरकार नै दाउमा राखेका हुन्’ उनले भने ।

तर, आफू मुख्यसचिव भएलगत्तै माओवादी नै प्रमुख हिस्सेदार रहेको एउटा विवादस्पद प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुन नदिएकोमा उनले गौरवबोध गरे । उनले भने-‘मलाई मुख्यसचिव पनि राजदूत पनि संयोगवश माओवादीले नै बनायो, यसमा अनुग्रहित छु, तर राष्ट्रको स्वार्थमा म कहिल्यै सम्झौता गर्दिनँ ।

उच्च प्रशासकहरु प्रायः राजनीतिक पार्टीका सदस्य रहेको र कतिपयसँग दुईभन्दा बढी पार्टीको सदस्यता समेत रहने गरेको पौडेलले सुनाए । तर, आफू कुनै पार्टीको सदस्य नरहेको र चुनावका बेला आफूले आस्था राख्ने पार्टीलाई मत मात्र दिएको उनले बताए ।

पौडेलले भने- मलाई तपाईहरुले यो माओवादी हो भनेर लेख्नुहुन्छ, वास्तवमा अहिले पनि माओवादीले नै राजदूत बनायो, मेरो जीवनमा माओवादीको बिल्लाले सधैं लखेटिरहने भयो । तर, म माओवादी होइन ।

यसो भन्दैगर्दा राजदूत पौडेलले आफूभित्रको ‘बामपन्थ’लाई चाहिँ लुकाउन सकेनन् । उत्तर कोरियाको पनि राजदूत भएका कारण पौडेल मंगलवार उत्तर कोरियाली राजदूतलाई भेट्न गए । त्यहाँ उनले किम इल सुङको फोटो देखेपछि आफ्नो विद्यार्थीकाल सम्भिmए ।

जतिबेला पौडेल विद्यार्थी थिए, त्योबेला कोरियाका कम्युनिस्ट नेता किम इल सुङको फोटो आफ्नो डेराको भित्तामा टाँस्थे । माटोको घरमा किमको पोष्टर टाँसेको स्मरण गर्दै गर्दा पौडेल वामपन्थी थिए भन्ने चाहिँ लुकेन ।

‘चीनको सहयोग चाहिन्छ, तर भारतको विश्वास लिनुपर्छ’

पूर्वमुख्यसचिव पौडेलले नेपालको तीब्र विकास गर्ने हो भने चीनको साथ सहयोग नभई नहुने बताए । तर त्यसका लागि अर्को छिमेकीलाई बिच्क्याउने भन्दा आश्वस्त पार्ने काममा सबै राजनीतिक दल र मिडियाको पनि भूमिका हुनुपर्ने बताए ।

मुलुक कमजोर भएसम्म कुनै पनि राजनीतिक दल बलियो बन्न नसक्ने भएकाले कम्तिमा पनि विदेश मामिला र राष्ट्रिय स्वार्थमा सबै राजनीतिक दलको एउटै धारणा नबन्ने हो भने देश विघटनको दिशामा जाने उनले दाबी गरे ।

पौडेलले भने- हामी आफ्नो निर्णय आफैं गर्ने क्षमता, आधार र उपस्थिति गुमाउँदैछौं । ०६४ सालदेखि यो क्रम झनै ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment