२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दविरुद्ध कलाकारदेखि सर्वसाधारण सडकमा उत्रिएका छन् ।
विप्लव माओवादीले महंगी नियन्त्रण र खाद्य सम्प्रभुताका मुद्दा अघि सार्दै आइतबार एकदिने बन्द आह्वान गरेको थियो । बन्दको कारण काठमाडौंउपत्यकासहित देशभरका बिभिन्न स्थानका बासिन्दा मर्कामा परे । बन्दको पीडा सहन नसकेपछि काठमाडौंलगायतका जिल्लाहरुमा बन्दविरुद्ध प्रदर्शनहरु पनि भए । बन्दविरुद्धको र्यालीलाई प्रहरीले सुरक्षा दिएको थियो ।
काठमाडौंमा ‘दाह्री ग्याङ’ समूहले बन्दविरुद्ध प्रदर्शन गर्यो । चलचित्र ‘जात्रा’का मुख्य कलाकारद्वय विपिन कार्की (भष्मे डन) र बर्षा राउत पनि ‘दाह्री समूह’सँगै सिटी सेन्टर अगाडि प्रदर्शनमा उत्रिए । उनीहरुले ‘बन्द सदाका लागि बन्द गरौं’ लेखिएको प्लेकार्ड बोकेका थिए । ‘दाह्री ग्याङ’ समूहले विन्दको विरोध गर्दै फेसबुकबाट समेत अभियान चलाइरहेको छ ।

सुरुङ्गा बजार खुल्लै
बिभिन्न बहानामा बिभिन्न समूहले गर्ने नेपाल बन्द र चक्काजामले नेपाली जनता आजित भएका छन् । त्यसैले झापाको सुरुङ्गा बजारबासीले हरेक बन्दको प्रतिकार गर्छन् र बजार, शिक्षण संस्था, यातायातका साधन खुल्लै राख्छन् । आइतबार पनि सुरुङ्गा क्षेत्रभर गाडीहरु चले । बजारमा पनि मानिसको चहलपहल अन्य दिनमा जस्तै थियो ।
विगत १० वर्षयता सुरुङ्गा बजार कहिल्यै बन्द भएको छैन । आन्दोलनकारीको डर र धम्कीबाट कदापी पछि नहटेका सुरुङ्गा बजारबासीले विप्लव माओवादीको बन्दको पनि एकजुट भएर प्रतिकार गरे ।
विर्तामोड र दमकमा बन्दविरुद्ध प्रदर्शन
झापाको विर्तामोडका युवाहरु आइतबार बन्दविरुद्धमा स्वतःस्फूर्त रुपमा प्रदर्शनमा उत्रिए । बिर्तामोडमा सयौं युवाको सहभागितामा मुक्ति चोकबाट बन्दको प्रतिकार गर्दै र्याली निकालिएको थियो ।
नेपाल खुल्ला छ, खुल्लै राखौं, बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं, छलफलले समाधान निकाल्छ, बन्दले देश बर्बाद गर्छ, युवा अब जाग्नैपर्छ, बन्दको प्रतिकार गर्नैपर्छ जस्ता प्ले कार्डसहित युवाहरु आइतबार विहानैदेखि सडकमा शान्तिपूर्ण र्यालीमा सहभागी भए ।
मुक्ति चोकबाट सुरु भएको र्याली भद्रपुर रोड, पश्चिम बस स्ट्याण्ड, शनिश्चरे रोड, कृषिथोक रोड, इलाम स्ट्याण्ड हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
यस्तै, दमकमा विवेकशील नेपालीको नेतृत्वमा बन्दविरुद्ध प्रतिकार र्याली निकालिएको छ । गणतन्त्र चोकबाट सुरु भएको र्याली थाना रोड, फाल्गुनन्द चोक, बेलडाँगीरोड हुँदै दमक परिक्रमा गरी पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
बन्द होइन बिकास गरौं भन्दै बुटवलका युवा सडकमा
विप्लव माओवादीले आह्वान गरेको बन्दविरुद्ध बुटवलका युवाहरु पनि सडकमा उत्रिए । उनीहरुले नेपाल सधैं खुला छ, अब बन्द होइन बिकास गरौं भन्ने प्लेकार्ड र ब्यानर बोकेका थिए ।
मेन्स रुम रिलोडेड ग्रुप (एमआरआर) समूहको नेतृत्वमा निस्किएको र्यालीमा विवेकशील नेपाली लगायतको सहभागीता थियो ।
नेपालको राष्ट्रिय झण्डा बोकेर बुटवलको मिलनचोकबाट र्याली निकालिएको विरोध र्याली अस्पताल लाइन, ट्राफिक चोक, गोलपार्क हुँदै पुनः मिलनचोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सयौं युवाहरु स्वतस्फूर्त रुपमा सहभागी भएका थिए ।
प्रतिक्रिया 4