Comments Add Comment

मैले कर तिरेको तिम्रै लागि हो !

सरकारले मंसिर १ गते देशव्यापी रुपमा कर दिवस मनायो । उक्त दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरियो । तर, राज्यको सबैभन्दा बढी करको रकम दुरुपयोग गर्ने को हो ? यो पनि खोजीको विषय हो ।

Yamuna-Aryal-Kafle
यमुना अर्याल

‘बोलीचालीमा हामीले तिरेको कर हाम्रै समृद्धिको लागि भन्ने नारा बनाउने अनि कर रकम पहुाचका आधारमा नेताको उपचारमा खन्याउने ?’ सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा आक्रोश पोखिएका छन् । घुमाई-फिराई नेताकै पोल्टोमा राज्यको ढुकुटी पर्ने भएपछि कर नतिरौं भन्ने भाव पनि तिनमा व्यक्त भएको छ ।

अनलाइनखवरमा समाचार प्रकाशित भयो, ‘कसले जफत गर्ने सुजाताको गैरकानुनी सम्पत्ति’ शीर्षकमा । यही प्रकृतिको अघिल्लो समाचार थियो, ‘राज्यसँग ५० लाख लिने सुजाता अर्बपति’ । सो समाचारमा उनले आफू परराष्ट्र मन्त्री हुँदा सार्वजनिक गरेको सम्पति विवरणको फेहरिस्त समेत समेटिएको थियो ।

जति नै आलोचना र विरोध भए पनि क्याबिनेटले उपचार खर्च दिने निर्णय गरिछाड्यो । नेतालाई राज्यकोषबाट उपचार खर्च नदिने अडानमा रहेका स्वास्थ्य मन्त्रीको तोलाको वचन खोलामा गयो । यसबाट कुमार घैंटे काण्डमा गिरेको साख अलिकता भए पनि फर्कने आशामा सुजाता प्रकरणले पानी छ्यापिदियो । आफूले गरेको निर्णयमा केही दिन पनि टिक्न नसक्ने मन्त्री र सरकारका जिम्मेवार पदाधिकारीले के कारणले सुजातालाई आधा करोड रकम थमाइयो भनेर मुख देखाउन समेत लाज मान्ने अवस्था आयो ।

नेताले पहुँचको आधारमा देशको ढुकुटीमा हात लम्काइरहादा अर्कातिर ‘धनी जनताका गरिब नेता बचाऔं’ भन्ने अभियान समेत सुरु भइसकेको छ । जनताले गरिब नेतालाई कम्तीमा एक-एक रुपैयाँ चन्दा उठाएर भए पनि विदेशमा उपचार गर्न पठाउनुपर्छ भन्ने सन्देश हो यो ।

बूढापाकाहरु भन्थे, जतिसुकै धनीमानी भए पनि सित्तैमा पाउने भएपछि मान्छेले अलकत्रा खान समेत पछि पर्दैन । तिनले यत्तिकै भनेका होइन रहेछ यस्तो । दिनेले जति पनि टक्र्याएपछि लिनेको हामी जति खोइरो खने पनि हुनेवाला केही छैन । जनताले कर तिरेका छन्, नेताका दिन फिरेका छन् । यो लहरमा सुजाता पछिल्लो पात्र मात्र हुन् । थुप्रै सुजाताहरुले ५ र ६ अंकमा सरकारको धन लुटेका छन्, लुट्दै छन् र कालान्तरसम्म लुटिरहनेछन् । जनताको साथ पाइरहेको खण्डमा सरकारले दानस्वरुप दिने त्यस्तो रकममा कुनै तलमाथि गरिने छैन भन्ने वाक्यांश राजपत्रमा छापिन मात्र बाँकी हो !

सुजातालाई पैसा दिने निर्णय भएकोमा महिला अधिकारको बारेमा कुरा गर्ने कतिपयले बचाउ गरे । यस्तो देख्दा उनीहरुलाई सुजाता म्यामले निकै गुन लगाएको जस्तो लाग्यो । पुरुषले पैसा लिँदा कहीँ आलोचना नहुने, सुजाता महिला भएकै कारण उनले पैसा लिएकोमा निकै आलोचना भएको भन्दै उनीहरुले खिन्नता प्रकट गरेको पनि देखियो र पढियो । पात्र होइन, सरकारी प्रवृत्तिको कुरा गर्न खेाजिएको हो ।

कान्तिपुर टेलिभिजनको फायर साइडमा भुषण दाहालको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले हाँस्दै भने, ‘तपाईंले यो प्रश्न पक्कै सोध्नुहुन्छ भन्ने लागेको थियो, गिरिजा प्रसाद कोइरालाकी छोरी, पूर्व परराष्ट्र मन्त्री अहिले नेपाली कांग्रेसकी वरिष्ठ नेतृलाई ठूलो रोग लागेको थाहा भएपछि सरकारका नाममा पत्र लेखेर एक करोड माग्नुभएको हो । अहिले कार्यविधि नबनेको अवस्थामा तत्काल निर्णय गरेर उहाँलाई पचास लाख दिने निर्णय भएको हो ।’

राजनीतिक दलका नेता-कार्यकर्ताले मगन्ते शैलीमा बिन्ती बिसाएर, लाज पचाएर राज्यको ढुकुटी लुटिरहेका छन् । हामी सामान्य नागरिक त्यसैको हिसाब गन्दै जिल्ल परिरहेका छौं

प्रधानमन्त्रीले कति सजिलै जवाफ दिए । उनको जवाफले के दर्शाउँथ्यो भने ‘माग्नेले एक करोड मागे पनि मेरो पहलमा आधा रकम दिएर आधा बचत गरेको हुँ । यसलाई महानता ठान्नुस् …।’

नेता भएँ भन्दैमा आफ्नै पेवा जसरी राज्यको ढुकुटीमा लोभी नजर लगाउने प्रवृत्ति देखिन्छ हामीकहाँ । जनताले आफूलाई गारो-साह्रो पर्दा घरखेत सबै बेच्नुपर्छ । तर, अनेक हर्कत गरेर जम्मा भएको अर्बौं रकम नेताले चलाउादैनन् । नेता पनि अजम्मरी छैनन्, एकदिन संसार छोड्नैपर्छ । त्यसैले अलिकति धर्मको पनि ख्याल गरौं । जनताले सम्झन लायक बनेर मर्न पाए पो आनन्द । ‘यति लाख खाएको, यति करोड कुम्ल्याएको धिक्कार …!!’ भन्ने छाप नपारौं ।

गुन्डाहरुले धाकधम्कीको सहारामा देशका विभिन्न क्षेत्रको रकम लुटिरहेका छन् । राजनीतिक दलका नेता-कार्यकर्ताले मगन्ते शैलीमा बिन्ती बिसाएर, लाज पचाएर राज्यको ढुकुटी लुटिरहेका छन् । हामी सामान्य नागरिक त्यसैको हिसाब गन्दै जिल्ल परिरहेका छौं ।

हाम्रा नेतालाई ज्वरो आउनु हुादैन विदेश जानुपर्ने अचम्मको परिपाटी छ । होला, कतिपय जटिल रोगको प्रविधि हाम्रा अस्पतालहरुमा उपलब्ध नहुन सक्छ । तर, सबै सेवा-सुविधा हुँदै नभएको त पक्कै होइन । नेपालमा स्वास्थ्य संस्थामा चेकजाँच गर्दा उपचार गर्न असम्भव भएको खण्डमा मात्र विदेश जाने परिपाटी बसाल्नु जरुरी छ । कि त नेपालका स्वास्थ्य संस्थालाई जनता मात्र जााच्ने र नेताबाट अस्वीकृत भनेर घोषणा गर्नुपर्‍यो । होइन भने देशका स्वास्थ्य संस्थाको अपमान गर्नेगरी यहीँ उपलब्ध हुने सेवाको लागि सरकारी ढुकुटी रित्याएर विदेश जाने चलनलाई अन्त्य गर्नुपर्छ ।

दिनहुाजसो सुनिन्छ, कहीँ रगत अभावमा, कहीँ औषधि अभावमा र कहीँ उपचार खर्चको अभावमा सामान्य नागरिकले अनाहकमा मृत्युवरण गरिरहेका छन् । ती नागरिकको पनि जिन्दगी हो, तिनका पनि नेताकै जस्तो परिवारजन र आफन्त छन् । उनीहरुको पनि नेताको जस्तै बाँच्न पाउने अधिकार संविधानमा छ । तर, कहीँकतैबाट उपचार खर्च जोहो गर्न नसकेर ऊ मृत्युको मुखमा पुग्छ ।

राजनीतिक दलको नेता नभएकै कारण आर्थिक हैसियत नभएर अनाहकमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । हामीले तिरेको कर मुठीभरका नेताले यो वा त्यो नाममा दुरुपयोग गरिरहेका छन्

डाक्टर चित्रप्रसाद वाग्लेको पुस्तक ‘डाक्टर चित्र’ पढेँ । उनी जस्तो लोकप्रिय समाजसेवी डाक्टरलाई सरकारले उपचार खर्च थमाएर विदेशमा उपचार गराउन सकेन । उनले ‘आफ्नो सबै सम्पत्ति सकेर विदेशमा उपचार गराएर के गर्नु ? म मरे भने तिमी र छोरीहरु के खाएर बाँच्छौ’ भनेर श्रीमतीसामु आँसु बगाउँदै स्वदेशमै मृत्युवरण गरे । सरकारले चाहेको भए उनी जस्ता व्यक्तिलाई समयमै जहाँसुकै लगेर उपचार गराउन सक्थ्यो । तर, डाक्टर चित्र जनजनका सेवक थिए,कुनै दलको नेता थिएनन् । यसैले उनी उपचार खर्च पाउनका लागि योग्य भएनन् ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । डाक्टर चित्र जस्ता उदाहरण देशमा धेरै छन् । जो राजनीतिक दलको नेता नभएकै कारण आर्थिक हैसियत नभएर अनाहकमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । हामीले तिरेको कर मुठीभरका नेताले यो वा त्यो नाममा दुरुपयोग गरिरहेका छन् ।

कर दिवसको सन्दर्भमा सामाजिक सञ्जालमा कर नतिरौं भन्ने आह्वान छताछुल्ल पोखिएको छ । मैले दिनहुँ उपभोग गर्ने वस्तु र मैले दश नङ्ग्रा खियाउने कामको तलबबाट कर काटिएकै छ । यस्तो अवस्थामा मैले कर तिम्रै लागि तिरेको हुँ भन्नु सिवाय अर्को विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment