Comments Add Comment

युट्युबमा साहित्य, सर्जकलाई रोयल्टी

नेपाली साहित्यलाई फैलाउँदै रचना वाचन समूह

rachana-bachan-youtube

काठमाडौं । गत मध्य असोजमा राजधानीमा एउटा साहित्यिक कार्यक्रम चल्दै थियो । युवा गजलकार कमल संघर्षको गजलकृति लोकार्पण कार्यक्रममा हलभरि साहित्यप्रेमी भेला भएका थिए ।

जब केही सर्जकलाई युट्युबमा राखिएको रचना हेरिए वापत रोयल्टी रकम लिन मञ्चमा बोलाइयो, ती सर्जकसहित उपस्थित दर्शकदीर्घामा रहेकाहरु चकित परे । युट्युबमा राखिएका साहित्यिक सामग्रीबाट पनि त्यसरी कुनै दिन लेखकस्व नै प्राप्त होला भनेर कमैले सोचेका थिए ।

तर, त्यसलाई सम्भव पारिदिएको थियो नेपाली कविका सिर्जनाहरुलाई कविकै आवाजमा श्रव्य-दृश्य रुपमा युट्युबमा राख्दै आएको ‘रचना वाचन समूह‘ ले । त्यस्तो रोयल्टी पाउनेमध्येका एक देवी नेपालले यसलाई ऐतिहासिक कामको थालनी भनेका छन् ।

नेपालसहित सो दिन कविहरू सुदेश सत्याल, प्रेक्षा लम्साल, बलराम दाहाल, मनोज भण्डारी र कमल संघर्ष गरी ६ जनालाई रोयल्टी बाँडिएको थियो । युट्युब च्यानलमा सुदेश सत्यालको ‘फर्केर आऊ घर’ कविताको भिडियो सर्वाधिक हेरिएको छ ।

‘सबैको रचना सबैसमक्ष’

रचना वाचन समूहले कविहरुको आवाजमा सिर्जना वाचनको भिडियो खिचेर ६ वर्षअघिदेखि युट्युबमा राख्न थालेको हो । सन् २०१२ देखि सो कार्यलाई निरन्तरता दिँदै गत वर्षदेखि भिडियो च्यानललाई ‘मनिटाइज’ गरी संगठित पाइला चालेको समूहका नेपालस्थित सदस्य जय गौडेलले बताए ।

jay-gaudel

समूहमा सबै सर्जक र साहित्यप्रेमीहरु आबद्ध छन् । जसमा मुख्य भूमिका हाल अष्टे्रलियामा रहेका गोपी दवाडीको छ । उनले पहिले व्यक्तिगत युट्युब च्यानल खोलेर भिडियो हालेर साथीहरुलाई हुटहुटी जगाएसँगै त्यसैलाई संस्थागत बनाइएको हो । अष्ट्रेलियामा रहेका गोपीसहितका युवा र नेपालबाट गौडेल र अन्य साथीहरुले समूहलाई गतिशील पार्दै आएका छन् ।

यो यात्रामा उनीहरु नेपाली कविता तथा गजलका भिडियोको अनलाइन भण्डार पनि विस्तार गर्दैछन् ।

समूहमा अष्ट्रेलियाबाट गोपी, सुरेन्द्र दवाडी, निरज जोशी, आलोक कोइराला र जितेन्द्र मल्ल सक्रिय छन् भने नेपालबाट जय गौडेल, कपिल अञ्जान र घनश्याम पथिक, सुरेश सुवेदी र ज्ञानु विद्रोहीले जुटेका छन् । गौडेल भन्छन्, ‘सर्जकहरुले युट्युबको भ्यू अनुसार पैसा पाउने गरे पनि समूहका हामी सदस्यहरु सबैको रचना सबैसमक्ष पुर्‍याउने अभियानसहित निस्वार्थ रुपमा लाग्दै आएका छौं ।’

उनीहरु साहित्यिक कार्यक्रमहरुमा जान्छन् र भिडियो खिचेर कार्यक्रम आयोजकको स्वीकृति लिएर रचना वाचनको युट्युब च्यानलमा राख्छन् । सर्जकलाई छुट्टै भेटेर पनि उनीहरुले कविताका भिडियो खिच्ने गरेको सदस्य गौडेलले बताए । यसका साथै सर्जक आफैंले पनि भिडियो खिचेर पठाउन सक्छन्, तर भिडियो र रचनाको गुणस्तर हेरेर मात्र अपलोड गर्ने गरिन्छ ।

श्रोता-दर्शकले युट्युबमा ती भिडियो हेरेपछि गुगल विज्ञापनबाट च्यानलको नाममा पैसा आउन थाल्छ ।

गौडेल भन्छन्, ‘सर्वाधिक हेरिएका/सुनिएका रचनाहरुका सर्जकलाई रोयल्टी बाँड्ने क्रम यसपालि सुरु भएको हो ।’ अबदेखि हरेक वर्ष कार्यक्रम गरी रोयल्टी बाँडिने समूहको योजना छ ।

पहिले रहरको यात्रा, अब कानुनी बाटो

२७ सय सब्सक्राइबर रहेको रचना वाचनको युट्युब च्यानलमा अहिलेसम्म ६ सय ३९ वटा भिडियो राखिएका छन् । समूहले खासगरी नेपाली गजल, कविता, मुक्तक र गीतलाई स्रष्टाकै आवाजमा संसारभरका नेपाली साहित्यानुरागीसमक्ष पुर्‍याउने गर्छ ।

त्यस क्रममा दमदार लेखनी भएका युवा सर्जकदेखि नेपाली साहित्यमा आफ्नो अमिट छवि बनाइसकेका हस्तीहरुका रचना समेटिँदै आएको छ । राष्ट्रकवि माधव घिमिरे, मनु ब्राजाकी जस्ता अग्रज सर्जकका भिडियोहरु आउने तयारीमा छन् ।

युट्युब च्यानल मनिटाइज गरेर सर्जकहरुलाई रचनाको रोयल्टी दिन थालेसँगै समूहले आफ्नो काम पारदर्शी बनाउन पनि थालेको छ । यस अन्तर्गत भिडियो राखिने सर्जकसँग लिखित सम्झौता नै गर्न थालिएको छ । कतिपय सर्जकले भने आफ्नो रचना युट्युब मार्फत सबैसामु पुग्नुमा नै सन्तुष्टि व्यक्त गर्ने गर्छन् ।

‘पछि कुनै विवाद नहोस् भनेर लेखकसँग लिखित सम्झौता गर्न थालेका हौं,’ समूहका सदस्य गौडेल बताउँछन्, ‘कतिपयले आत्मीयता र विश्वासका कारण लिखित गरिरहन पर्दैन भन्ने गर्छन् ।’ पारदर्शी बनाउने अभ्यास स्वरुप रचना वाचनले सम्पूर्ण भिडियोको आम्दानी विवरण आफ्नो फेसबुक पेजमा अपलोड गर्छ । यसका साथै समूहले कुनै स्रष्टाले आफ्नो भिडियोको आम्दानी हेर्ने इच्छा राखेमा उपलब्ध समेत गराउने उनले बताए ।

रोयल्टी आफ्नो ठाउँमा छ, रचना वाचनले हरेक वर्ष कम्तीमा एक सर्जकको एउटा कृति प्रकाशन गर्ने पनि उद्देश्य राखेको छ । त्यसका लागि अहिलेसम्म संकलित सबै रकम सर्जकलाई बाँड्ने गरेकोमा अबदेखि ६० प्रतिशत बाँडेर बाँकी रकम साहित्यिक काममा उपयोग गरिने समूहको योजना छ । समूहले यस वर्ष गजलकार कमल संघर्षको कृति ‘सडक’ प्रकाशन गरिसकेको छ ।

कृति प्रकाशनको अवसर

रचना वाचनले सिर्जनाको लोकपि्रयता अनुसार रोयल्टी दिनुका साथै केही गरी उक्त सिर्जनाको प्रभाव पर्‍यो भने शुभेच्छुकहरु पनि जुर्मुराउने रहेछन् । कवि सुदेश सत्यालको हकमा यस्तै भयो । उनको कविता मन पराएपछि अष्ट्रेलियाबाट शुभेच्छुकहरु उनको किताब प्रकाशन गर्नै तम्सिए । उनको ‘अन्तरिक्षको धर्ती’ छन्द कविता संग्रह प्रकाशन भइसकेको छ ।

नेपाली साहित्यलाई फैलाउन सामूहिक कर्ममा जुटिरहेको रचना वाचनले स्रष्टाहरूलाई आफ्नो सिर्जनाको वितरणमा सचेत गराउन मद्दत गर्ने अपेक्षा समेत राखेको छ । सर्जकका रचना युट्युबमा जथाभावी उपयोगविहीन र छरिएर बसेकोमा समूहको दुःखेसो छ ।

उसले सर्जकहरुलाई आह्वान गरेको छ, ‘तपाईंहरुको राम्रो रचना छ र भिडियो खिच्नुभएको छ भने हामीलाई दिनुस् । हामी त्यसलाई आधिकारिक च्यानलबाट सबैसामु पुर्‍याउनुका साथै रोयल्टी रकम उपलब्ध पनि गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment