Comments Add Comment

अबको तेस्रो शक्ति को ? माओवादी, मधेसवादी, राप्रपा वा नयाँ शक्ति ?

एकीकृत राप्रपाको टार्गेट-कांग्रेस-एमालेलाई पनि धक्का दिने

prachand-kamal-thapa-upendra-yadav

६ मंसिर, काठमाडौं । राजधानीको प्रज्ञा भवनभित्र र बाहिर खचाखच भीडका वीच पार्टी एकीकरणको घोषणा गरिरहँदा राप्रसाका नेताहरुले देशमा चुनाव आउनै लागेको छनक दिए । राप्रपाका नेताहरुले आजै चुनाव गर्ने हो भने पनि अब राप्रपा तेस्रो दल बन्ने घोषणामात्रै गरेनन्, आगामी चुनावमा पहिलो दल बन्ने गरी गाउँ पस्ने घोषणासमेत गरे ।

देशमा तोकिएको समयभित्र चुनाव हुन्छ कि हुँदैन, केही टुंगो छैन । तर, पार्टी एकता गरेर हौसिएका कमल थापा, पशुपति समशेर, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र विश्वबन्धु थापालगायतका नेताहरुले अहिल्यैदेखि आफ्नो दल ठूलो पार्टी बनीछाड्ने विश्लेषण सुनाएका छन् ।

पूर्वपञ्चहरुले अहिलेको चौथो शक्ति रहेको राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता भइसकेपछि के आगामी चुनावमा यो दल तेस्रो शक्तिका रुपमा उक्लन सक्ला ? या उनीहरुले दाबी गरेजस्तै यो पार्टीले आगामी चुनावमा कांग्रेस वा एमालेलाई धक्का दिन सक्ला ? यसबारेमा अहिले नै जोडघटाउ गरिहाल्नु सायद निकै हतारो हुनेछ । तै पनि केही तथ्यगत परिस्थितिका आधारमा सामान्य राजनीतिक विश्लेषण भने गर्न सकिन्छ ।

तेस्रो शक्तिका लागि ४ प्रतिस्पर्धी

आगामी आम निर्वाचनमा तेस्रो शक्तिका प्रतिस्पर्धी शक्तिहरुमा मुख्यतः ४ वटा दल वा शक्तिहरु सतहमा देखिन्छन् । ती हुन्- प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, कमल थापा नेतृत्वको राप्रपा, विभिन्न दलमा छरिएको मधेसी मोर्चा र बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँशक्ति पार्टी नेपाल ।

चुनावमा तेस्रो शक्तिका रुपमा आफूलाई स्थापित गर्नका लागि यी चारवटा शक्तिमध्ये सबैभन्दा बढी जोखिम माओवादी र मधेसवादीलाई देखिन्छ । राप्रपा भने अलि कम जोखिममा छ । यसबारे थप विश्लेषण गर्नुभन्दा पहिले गणितको चर्चा गरौं ।

यस्तो छ अघिल्लो चुनावको गणित

निर्वाचनमा गणितको महत्व भए पनि राजनीतिमा चाँहि सोमबार पशुपति समशेर राणाले भनेजस्तै २ मा २ जोड्दा ५ वा ८ सम्म हुन सक्छ । त्यसैले विगतको चुनावको गणितलाई मात्रै हेरेर आगामी चुनावको आँकलन वस्तुपरक नहुन सक्छ । तैपनि पृष्ठभूमिमा हेरौं-

election-result-of-4-party
राप्रपाको मतः पछिल्लो संविधानसभाको चुनावमा राप्रपाले २ लाख ३८ हजार मत ल्याएको थियो भने राप्रपा नेपालले २ लाख ५२ हजार मत ल्याएको थियो । दुबैको मत जोड्दा अब ४ लाख ९० हजार अर्थात् ५ लाखको हाराहारीमा पुग्छ ।

पहिलो संविधानसभा ०६४ मा राप्रपाले २ लाख ६३ हजार मत ल्याएको थियो भने कमल थापाको पार्टी राप्रपा नेपालले १ लाख १० हजार मात्रै मत पाएको थियो । त्यसबेला दुबै दलको मत ३ लाख ७३ हजारको हाराहारीमा थियो । पहिलो संविधानसभामा भन्दा दोस्रो संविधानसभामा दुबै राप्रपाको जनमत जोड्दा एक लाखभन्दा बढी थपिएको देखिन्छ ।

राप्रपाले अब पार्टी एकता गरिसकेको अवस्थामा विगतको ५ लाख मतदातालाई जोगाएर अरु केही थप्न सक्छ । यद्यपि कतिपयको तर्क के छ भने दोस्रो संविधानसभाको चुनावमा कांग्रेसभित्रका हिन्दुवादीको मत पनि राप्रपा नेपालमा भएको थियो, यसपालि त्यसमा केही फेरबदल हुन सक्छ ।

सामान्यरुपमा भन्दा आगामी चुनावसम्म कुनै करिश्मा भएन भने संयुक्त राप्रपाको मत करिब ५/६ लाखको हाराहारीमा देखिन्छ ।

माओवादीको मतः पहिलो संविधानसभामा नयाँ शक्तिका रुपमा उदाएको माओवादी पार्टीले प्रत्यक्ष चुनावमा करिब ३१ लाख भोट ल्याएको थियो । मोहन वैद्यले पार्टी फुटाएको र जनतामा प्रभाव घटेका बेला दोस्रो संविधानसभामा माओवादीले १६ लाख मात्रै मत पायो । यो भनेको झण्डै ५० प्रतिशत गिरावट हो ।

यो कुरा निश्चित छ कि माओवादीमा आएको विभाजनले मात्रै उनले १५ लाख मतदाता गुमाएको हैन । पहिलो संविधानसभामा माओवादीलाई गैरमाओवादीले पनि भोट दिएका थिए । कतिपय ठाउँमा माओवादीको भौतिक बलको पनि प्रभाव थियो । माओवादीले केही गर्छ कि भन्ने धेरैलाई आशा थियो । यी सबै फ्याक्टरहरुले गर्दा माओवादीले दोस्रो संविधानसभामा आफ्ना करिब १५ लाख मतदाता गुमायो ।

तर, दोस्रो संविधानसभामा माओवादीले जति भोट ल्यायो, त्यो उसको वास्तविक साइज हो भन्ने धेरैको अनुमान छ । तर, ०७० सालदेखि अहिलेसम्म आइपुग्दा माओवादीको लोकपि्रयता अरु खस्किएको छ । माओवादीको लोकपि्रयतामात्रै खस्किएको छैन, चर्चित नेता एवं चुनावी योजनाकार बाबुराम भट्टराईले पनि पार्टी छाडेर नयाँशक्ति बनाएको अवस्था छ । राष्ट्रियताको प्रश्नमा एमालेको लोकपि्रयता केही बढेको स्थिति छ । मधेसका चर्चित माओवादी नेताहरु बाबुरामतिर लागेका छन् ।

सकारात्मक पक्षको कुरा गर्ने हो भने मोहन वैद्य बाहेक बादल र देव गुरुङ समूहका साथै मणि थापा र मात्रिका यादवहरु माओवादीमा फर्किएका छन् तथापि उनीहरुको आगमनले चुनावी जनमतमा खासै अर्थ राख्ने देखिँदैन ।

Maoist-Leader

माओवादीभित्रको यस्तो अंक गणीतीय समीकरणका आधारमा विश्लेषण गर्दा के भन्न सकिन्छ भने यसपालिको चुनावमा यही मनोविज्ञानमा कुनै परिवर्तन आएन भने माओवादी केन्द्रले पाउने भोट ०७० सालमा भन्दा घट्ने सम्भावना छ । तर, उसले ०७० सालमा पाएको १६ लाख मतमध्ये कति घट्ला ? योचाँहि अहिले नै बताउन सकिँदैन । राजनीति हो, पहिलो संविधानसभाको भन्दा आधा नै घट्न पनि सक्छ, एमाले कांग्रेसको जस्तै दुईचार लाख मात्रै तलमाथि भएर अडिन पनि सक्छ ।

माओवादीले दोस्रो संविधानसभामा पाएको १६ लाख मत दुईचार लाख गुमाए पनि धेरै गुम्न दिएन भने राप्रपा नेपालका लागि तेस्रो शक्तिको यात्रा चुनौतीपूर्ण बन्न सक्छ । तर, माओवादीको मतमा ठूलै पहिरो जाने धेरैको अनुमान छ ।

मधेसवादी दलको मतः मधेसवादी पार्टीहरु पहिलो संविधानसभामा भन्दा दोस्रोमा धेरै नै खस्किए । पछिल्लो मधेस आन्दोलनपछि उनीहरु आफ्नो पुरानो बर्चश्व फर्काउने कसरतमा छन् । त्यो भनेको पहिलो संविधानसभामा जस्तै चोथो शक्तिसम्म आउने नै हो । त्यो भन्दा बढी गर्नेभए तेस्रो शक्तिमा उक्लने हो ।

गणितीय आधारमा हेर्दा पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमले ६ लाख ७८ हजार मत ल्याएको थियो । तमलोपाले ३ लाख ३८ हजार र सदभावनाले ५५ हजार मत ल्याएको थियो । सबैको मत जोड्दा १० लाखको हाराहारीमा पुग्छ । र, मधेसवादी दलकोे यो कुल मत भनेको राप्रपाका लागि निकै ठूलो चुनौती हो । मधेसी मोर्चाको यो मतलाई उछिनेर मात्रै राप्रपाले माओवादीलाई उछिन्नुपर्ने हुन्छ ।

mahantha-and-rajendra-mahato

तर, दोस्रो संविधानसभाको गणित बेग्लै भइसकेको छ । दोस्रो संविधानसभामा उपेन्द्र यादव नेतृत्वको फोरमले २ लाखमात्रै मत पायो र पार्टी विभाजनपछि उपेन्द्र यादवले करिब ४ लाख मतदाता गुमाए ।

त्यसैगरी तमलोपाले पहिलो संविधानसभाको भन्दा करिब ५० हजार मत गुमाएर दोस्रो संविधानसभामा २ लाख ८३ हजार मत ल्यायो । सदभावनाले १० हजार बढाएर ६५ हजार मत ल्यायो । साना मधेसी दलले एक लाख कसैले कटाएनन् । यी सबै मधेसवादीको मतलाई जोड्दा आन्दोलनरत मधेसी मोर्चाले दोस्रो संविधानसभामा पाएको कुल मत साढे ४ लाखको हाराहारीमा देखिन्छ । यो मत भनेको राप्रपाको कुल मतभन्दा करिब एक लाख कम हो ।

आगामी चुनावमा मधेसी मोर्चाले संयुक्त मोर्चा बनाएर चुनाव लडेको ‘कन्डिसन’ मा ऊ राप्रपाको प्रतिस्पर्धी ठहरिन सक्छ । आगामी चुनावमा विजय गच्छदारको पार्टीको धेरै मत मोर्चातिर खनिन सक्छ ।

तर, चुनावमा मधेसी मोर्चा दलगत हिसाबले चुनावमा गयो भने उसले राप्रपासँग प्रतिस्पर्धा गर्नु धेरै टाढाको विषय हो ।

नयाँशक्तिको ‘कन्डिसन’

बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको सुरुको तामझाम हेर्दा यसले कांग्रेस र एमालेलाई नै चुनौती दिन्छ कि भन्ने धेरैलाई लागेको थियो । पार्टी घोषणा कार्यक्रममा रंगशालामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नयाँ शक्ति पार्टीले एमाले बाहेका अरुलाई धक्का दिन सक्ने घोषणा नै गरिदिएका थिए ।

naya-shakti-leaders

तर, पछिल्लो समयमा नयाँ शक्ति पार्टीको बाहिरी लहर केही मथ्थर देखिएको छ । तैपनि देश र विदेशमा समेत बाबुराम भट्टराईले गतिविधिहरु गरिरहेका छन् । पार्टी घोषणाकै बेला एक लाख सदस्य बनाएको र उनीहरुले प्रभाव पार्नेहरुलाई समेत जोड्दा २/४ लाख मत सहजै आउने सो पार्टीका नेताहरुको विश्लेषण छ ।

तर, चुनावी परीक्षण हुन नपाएकाले नयाँ शक्तिले कति मत ल्याउँछ भन्ने अहिल्यै अनुमान गर्न सकिँदैन । यो पार्टी तेस्रो शक्ति नभएर दुईचार सीटमात्रै ल्याउने सानो दलमा खुम्चिने धेरैको अनुमान छ । तर, नयाँ शक्तिका नेताहरु भने माओवादी केन्द्रको भन्दा बढी मत ल्याउने दाबी गर्दैछन् ।

उपेन्द्र यादवतिर बेग्लै नजर

कांग्रेस र एमालेभन्दा पछिको शक्ति बन्नेमा मनोवैज्ञानिक चाहना र प्रतिस्पर्धा नयाँ शक्ति पार्टीले गरिरहेको देखिन्छ ।

देशमा कांग्रेस र एमालेको विकल्पमा को आउला भन्ने बहस भइरहँदा एउटा बेग्लै प्रशंगमा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले उपेन्द्र यादव र अशोक राईको नाम लिएका थिए । संघीय समाजवादीले पहाड र मधेसलाई जोड्न खोजेको हुनाले बुद्धि पुर्‍याएमा उपेन्द्र यादवले शक्ति आर्जन गर्ने लोहनीको विश्लेषण थियो । अहिले राप्रपावीच एकता भइसकेपछि डा. लोहनीको यो मत परिवर्तन भएको हुन सक्छ ।

एमालेबाट अलग भएको संघीय समाजवादी पार्टीले दोस्रो संविधानसभाको चुनावमा १ लाखको हाराहारीमा मत पाएको थियो । दुई लाख ल्याउने उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि यो दलको मत ३ लाख हो । तर, आगामी चुनावमा यही स्थिति नरहन सक्छ ।

त्यसो त बाबुराम भट्टराईको नयाँ शक्ति र संघीय समाजवादीवीच एकता भयो भने उनीहरुले पाउने मत ४/५ लाखको हाराहारीमा पुग्न सक्छ । र, यो भनेको मधेसी मोर्चाको संयुक्त मत राप्रपाको मतको हाराहारी हो ।

जहाँसम्म मधेसी मोर्चाको प्रश्न छ, उपेन्द्र यादवसँग चुनावी तालमेल गर्न राजेन्द्र महतो र महन्थ ठाकुरहरुमा खासै रुची देखिँदैन । यो स्थितिमा उपेन्द्रले या त बाबुरामसँग तालमेल गर्न सक्छन्, या त एक्लै चुनावमा जान सक्छन् । तथापि अहिलेको मधेसी मोर्चाकै वीचमा एलाइन्स हुन पनि सक्छ ।

संघीय समाजवादीसँग नमिली चुनावमा गयो भने नयाँ शक्ति पार्टी संकटमा पर्न सक्छ ।

बाबुराम र प्रचण्डलाई नै मिलाउने प्रयास

त्यसो त आगामी चुनावमा प्रचण्ड, बाबुराम र मधेसी मोर्चालाई समेत मिलाएर वृहत गणतान्त्रिक मोर्चा बनाएर एउटै छातामा चुनावमा जाने कसरत पनि हुन थालेको छ ।

नेपालकै केही नेताहरुले यसबारे गृहकार्य गरिरहेका छन् । त्यसो त केही साताअघि काठमाडौं आएका भारतीय प्रोफेसर एसडी मुनीले पनि जनजाति र मधेसी लगायतका शक्तिहरुवीच एकता गरेर दुई तिहाइ पुर्‍याउने सुझाव दिएका छन् ।

एमालेको होक्काँ, कांग्रेसको डर

नाकाबन्दी र मधेसवादीसँगको समाना गरेका कारण एमाले अध्यक्ष केपी ओली पहाडे समुदायमा लोकपि्रय बनेका छन् । र, यही अवस्थामा चुनाव भयो भने मधेसी, माओवादी र नयाँशक्ति एक भएर चुनावमा जाँदा पनि एमाले एक्कैले उनीहरुको सामाना गर्ने दाबी एमालेका नेताहरुले गरिरहेका छन् ।

KP Sharma Oli, UML Chairman 1

कांग्रेसका नेताहरु पनि एमालेसँग निकै आत्तिएका छन् । र, परिस्थिति आगामी चुनाबमा एमालेको पक्षमा देखिन्छ । एमाले नेताहरुले यही कुरा बुझेर चुनाव चाँडो चाहियो भनिरहेको अवस्था छ ।

विगतको गणितलाई हेर्दा ०६४ सालमा तेस्रो शक्तिमा खुम्चिएका बेला एमालेले पाएका कुल मत करिब २१ लाख ८३ हजारको हारहारीमा थियो । दोस्रो संविधानसभामा दोस्रो शक्ति हुँदा उसले करिब ४ लाख मत थपेर २४ लाख पुर्‍यायो ।

एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेसले पहिलो संविधानसभामा २२ लाख मत ल्याएको थियो भने दोस्रो संविधानसभामा एमालेको भन्दा अढाइ लाख बढी अर्थात २६ लाख ९४ हजार मत ल्यायो । कांग्रेसले पनि पहिलो संविधानसभामा भन्दा दोस्रोमा करिब ४ लाख मत थपेको थियो, जुन मत मधेसबाट थपिएको अनुमान गरिएको छ ।

दुई ठूला दलको दुई कार्यकालको चुनावी मतलाई हेर्दा कमै उतारचढाव देखिन्छ । उनीहरुको जनमतलाई चुनौती दिएर पहिलो पार्टी बनाइन्छ भन्ने राप्रपा नेताहरुको चुनौतीलाई अहिल्यै पत्याइहाल्न सकिँदैन । तर, आगामी चुनावमा पूर्वराजा ज्ञानेन्द्र समेत राप्रपामा प्रवेश गरे भने केही तलमाथि होला कि ?

स्थानीय चुनाव गर्न दिऔं

नानी जन्मनु कहिले, कोक्रो बन्ने अहिले भन्ने आहान जस्तो गर्नुभन्दा चाँडै नै स्थानीय चुनाव गर्न पाए कुन दलको अवस्था कस्तो हुनेछ भन्ने अनुमान लगाउन सहज हुने थियो । स्थानीय चुनाव भयो भने त्यसपछि आम चुनावको आँकलन गर्न सहज हुने छ । अहिले गरिएको अनुमान हावादारी हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment