Comments Add Comment

बहसः संविधान संशोधन प्रस्ताव असफल भए प्रचण्डले राजीनामा दिनुपर्छ कि पर्दैन ?

कानुनका जानकार भन्छन्– दिनुपर्दैन/दिनुपर्छ

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal१४  मंसिर, काठमाडौं । संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता नहुँदै अहिले एउटा कानुनी बहस सुरु भएको छ । यदि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित भएन र संसदले फेल गर्‍यो भने प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

यसबारे एकजना माओवादीनिकट वकिलले अनलाइनखबरसँग भने– ‘संविधान संशोधनको प्रस्ताव असफल भयो भने प्रधानमन्त्रीले राजीनामा दिइरहनुपर्दैन । संशोधन प्रस्ताव फेल हुँदैमा सरकारले बहुमत गुमाएको सिद्ध हुँदैन ।’

उनका अनुसार संविधान संशोधनको प्रस्ताव पारित हुनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । सरकारमा  रहनका लाथि सामान्य बहुमत पर्याप्त हुन्छ । सरकारको प्रस्तावमा दुई तिहाइ नपुग्दैमा सरकारले बहुमत गुमाएको ठहरिँदैन र प्रधानमन्त्रीमात्रै नैतिक विश्वासको प्रश्नै उठ्दैन ।

तर, सामान्य बहुमतबाट पारित हुनुपर्ने प्रस्ताव ल्याएका बेला बुहमत नपुगेको अवस्थामा चाँहि प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिनुपर्ने कानूनका जानकारको तर्क छ ।

त्यस्तै सरकारले पेश गरेको संविधान संशोधनको पक्षमा सामान्य बुहमत भन्दा पनि कम मत झरेको अवस्थामा चाँहि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

सरकारले संविधान संशोधनको प्रस्ताव ल्यायो  र त्यो दुई तिहाइबाट पारित भएन भने विपक्षीले राजनीतिक पूर्वाग्रहका आधारमा राजीनामा माग्न सक्ने सम्भावना चाँहि देखिएको छ । यसबारे माओवादी निकट वकिल भन्छन्– ‘सरकारको प्रस्तावले दुई तिहाइ नपाउँदैमा प्रधामन्त्रीमाथि नैतिक प्रश्न उठ्छ भन्ने तर्क हिजो केपी ओलीका पालामा सरकार परिवर्तन गर्ने प्रावधान संविधानमै छैन भन्नुजस्तै कुतर्क हो ।’

प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्छः अधिवक्ता भट्टराई   

Tikaram-Bhattaraiसंविधान संशोधन प्रस्ताव फेल भएको अवस्थामा प्रधानमन्त्री प्रचण्डमाथि नैतिक प्रश्न उठ्ने धारणा राख्छन् संवैधानिक कानूनका जानकार अधिवक्ता टीकाराम भट्टराई ।

नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष भट्टराईले अनलाइनखबरसँग भने– ‘सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव फेल भयो भने पदबाट राजीनामा दिने कि नदिने भन्ने प्रश्न प्रधानमन्त्रीको नैतिक विषय हो । संसदीय प्रणालीमा सरकारका तर्फबाट आएको प्रस्ताव असफल हुँदा प्रधानमन्त्रीले राजीनामा गर्ने नैतिक प्रचलन छ ।’

सरकारले नभई अन्य कसैले संविधान संशोधन पेश गरेको अवस्थामा बाहेक सरकारका तर्फबाट प्रस्तुत गरिने प्रस्ताव असफल हुँदा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिने हो भने विश्वासको मत लिनुपर्ने भट्टराईको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment