Comments Add Comment

एल क्लासिकोमा नेपाली झन्डा

nepalli-flag-elclasicoबार्सिलोना  ।  एल क्लासिको खेल हेर्न पुगेका दुई नेपाली युवाहरुले बार्सिलोना फुटबल क्लबको घरेलु मैदान नाउ क्याम्पमा नेपाली राष्ट्रिय झण्डा फरफराएका छन् । स्पेन बस्दै आएका दुई नेपाली युवाहरुले शनिबार नाउ क्याम्प पुगेर ९८ हजार फुटबलका समर्थकहरुबीच नेपालको राष्ट्रिय झण्डा फराएका हुन् ।

बिगत ११ बर्षदेखि बार्सिलोना बस्दै आएका म्याग्दी बेनीका राजकुमार केसीले आफ्नो सपना पुरा भएको बताए ।  बार्सिलोना फुटबल क्लबलाई समर्थन गर्दै आएका केसीले, एल क्लासिको हेर्दै स्टेडियममा नेपालको राष्ट्रिय झण्डा फराउने सपना पुरा भएको सुनाए ।

केसीले भने, ‘बिगतमा कैयौ पटक क्लासिको खेल हेर्ने प्रयास गर्यौ तर टिकट सार्है महँगो हुनाले लिन सकेका थिएनौ । तर, यस पटक भाग्यबश अन्तिम समयमा ३ सय ६५ युरो खर्चेर (करिव ४५ हजार रुपैयाँ) टिकट काट्यौ र हेर्ने आँट पनि गर्यौ । उनी भन्छन्, “एक महिना अघिदेखि भिआईपी टिकट बितरण हुन्छ, तर एउटा टिकटको ५ सय, १३ सयदेखि  २६ युरोसम्म हुने हुँदा हामीले काट्न सक्ने अबस्था नै हुँदैन । खेलको दुई दिन अघिसम्म मेम्मरसिप टिकट बितरण हुन्छ, तर अन्तिम २४ घण्टामा मात्रै खुल्ला टिकट पाईने रहेछ, भाग्यबश यसपटक अनलाईन काट्न सफल भयौ।”

यस्तै अर्का नेपाली म्याग्दी रत्नेचौर – ४ का सुरेश शर्माको पनि एल क्लासिको हेर्ने सपना पुरा भएको छ । रियल म्याड्रिडका समर्थक रहेका शर्मा भन्छन्,” यो दशककै महान् फुटबल स्टारहरु लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो आमान्नेसामान्ने भिडेको प्रत्यक्ष हेर्ने कुन फुटबल प्रेमीको सपना हुँदैन होला र ? मेरो बर्षौ देखिको सपना पुरा भएको छ।”

प्राय: स्पेनमा रहेका नेपालीहरु अन्य खेलहरु हेर्न स्टेडियम पुग्ने भएता पनि दुई फुटबल महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना बिचको खेललाई प्रत्यक्ष हेरेको बिरैलै पाईन्छ। एल क्लासिको खेलको टिकट धेरै महँगो हुने हुँदा पनि प्रत्यक्ष हेर्न जाने नेपालीहरुको संख्या निकै भएको हो ।

यस सिजनको पहिलो एल क्लासिको खेल १-१ गोलको बराबरीमा टुंगिएको छ । खेलको ५३ औ मिनेटमा बार्सिलोनाका लुईस स्बारेजले गोल गर्दै १- ० को अग्रता दिलाएका थिए । तर, रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले अन्तिम मिनेटमा हेडिङ् गर्दै म्याड्रिलाई बचाए । क्लब फुटबलमा बिश्वको सबैभन्दा चर्चित मानिने एल क्लासिको बराबरीमा टुँगीएपछि म्याड्रिडले ला लिगामा बार्सिलोनासँगको अग्रतालाई ६ अंक कायमै राख्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment